बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा स्मार्ट कार्यालय बनाएर सर्वसाधारणलाई ठगी गरेको रहस्य सार्वजनिक भएको छ । सर्वसाधारणलाई चिठ्ठा परेको म्यासेज सामाजिक सञ्जाल ह्वाट्सएपमा पठाउने, अश्लील म्यासेज पठाएर चरित्र हत्या गरी रकम उठाउने जस्ता ठगी धन्दा गर्ने कल सेन्टरमा प्रहरीले छापा मारेपछि ठगीधन्दाको रहस्य बाहिरिएको हो ।
आइतबार दिउँसो रूपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा ४ तल्लाको घरमा ३ वटा फ्ल्याट सञ्चालन गरिएको ब्लु स्काई कल सेन्टरमा प्रहरीले छापा मार्दा यस्तो तथ्य फेला परेको हो । ठगिधन्दा चलाएको आरोपमा भारतीय नागरिक जिसाजसहित ९ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो । सर्वसाधारणलाई चिठ्ठा परेको म्यासेज ह्वाट्सएपमा पठाउने, अश्लील म्यासेज पठाएर चरित्र हत्या गरी रकम उठाउने जस्तो काम कल सेन्टरबाट हुने गरेको हो ।


भारतीय नागरिक जिसाजको नेतृत्वमा नेपालका १ सय ५० जना १६ देखि २३ वर्षसम्मका युवायुवतीहरूले कल सेन्टरमा काम गर्ने गरेको प्रनाउ केसीले बताउनुभयो । प्रहरीले छापा मार्दा २ सय ४० जना कार्यालयमा रहेका थिए । ३ सय जति कम्प्युटर राखेर काम गर्ने कल सेन्टरमा अवैध धन्दा भइरहेको सूचना आएपछि प्रहरीले छापा मारेको हो । ३ सय जति कम्प्युटर मार्फत् सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पार्ने गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । नेपालबाट उनीहरूले भारतमा बढी मात्रामा ठगी धन्दा चलाउने गरेका छन् । दैनिक कल सेन्टरबाट ठगीबाटै डेढ करोडसम्म आम्दानी हुने गरेको रेकर्ड भेटिएको प्रहरीले बताएको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










