काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमा युवा, प्रौढ र वृद्धहरु चाहिने बताएका छन्। आजकाल कतिपयले बुढा नेताहरु चाहिँदैन भन्ने गरेको भन्दै प्रचण्डले त्यसलाई समाज भत्काउने विचार भएको बताए।
‘यहाँ एकथरी मान्छेहरु आजभोलि बुढाहरु चाहिँदैन। प्रोढहरु चाहिँदैन। हामी केटाकेटी मात्रै भए पुग्छ भनेको जस्तो गरी आउन थालेका छन्। त्यो समाज भत्काउने विचार हो। त्यो समाज बनाउने विचार होइन। समाजका निम्ति युवाहरु पनि चाहिन्छ। प्रोढहरु पनि चाहिन्छ। वृद्धहरु पनि चाहिन्छ। सबैलाई उचित सम्मान गरेर, उचित समायोजन गरेर मात्रै राजनीति, पार्टी, समाज, राष्ट्र राम्रोसँग अगाडि जाने कुरा हो। युवाबिना पनि समाज चल्दैन’, उनले भने।


माओवादी केन्द्र सम्पर्क समन्वय समिति प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उपस्थितलाई उनले बुढा नेता चाहिँदैनन् भन्नेहरुलाई तर्कपूर्ण र तथ्यपूर्ण तरिकाले खण्डन गर्न आग्रह गरे।
‘यो परिवर्तन नरुचाउनेहरु अनेक बाहनामा कहिले युवाहरुलाई निषेध गर्न खोजेर, कहिले वृद्धहरुलाई निषेध गर्न खोजेर र कहिले नेताहरुलाई निषेध गर्न खोजेर समाज भत्काउने, परिवर्तन भत्काउने कसरत भएका छन् भन्ने कुरा तपाईंहरुले बुझ्न जरुरी छ’, उनको भनाइ थियो।
उनले कतिपय मानिसहरुले जुनसुकै पार्टीका भए पनि नेताहरुलाई बिदा गर्ने भनिरहेको भन्दै प्रचण्डले त्यो विज्ञानसम्मत नभएको बताए। ‘मानव समाज व्यवस्थित रुपले अगाडि बढ्छ। किनकि त्यो समाजलाई हेन्डल गर्नेमा युवाहरु हुन्छन्। युवाहरुको सक्रियता, युवाहरुको तागत, युवाहरुको गतिशीलता बिना समाज अगाडि बढ्दैन। त्यो समाजमा प्रोढहरु पनि हुन्छन्। प्रोढ भनेका अलि अनुभवी, अलि राम्रो गाइड गर्न सक्ने मान्छे हुन्छन्। तिनीहरुको सहभागिता र संलग्नता बिना पनि समाज सन्तुलित, गतिशील र स्थिर रुपले अगाडि बढ्न सक्दैन। र समाजमा वृद्धहरु पनि हुन्छन्’, उनले भने।
सबै उस्तै हुन् भन्ने तर्कप्रति पनि प्रचण्ड असन्तुष्ट सुनिए। ‘यो पनि विज्ञान विरोधी कुरा हो’, उनको भनाइ थियो, ‘६० वर्ष पुगेका सबै उस्तै हुन्छन्? ७० वर्ष पुगेका सबै उस्तै हुन्छन्। सबै पार्टीका नेताहरु सबै उस्तै हुन्छन् त? यो साँचो कुरा हो त? विज्ञानसँग मेल खाने कुरा हो त? जीवन जगत र प्रकृतिसँग मेल खाने कुरा हो त? विल्कुल होइन। सबैभन्दा ठूलो कुरा भनेको विचार हो।’










