काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको नेपाल र भुटानबीचको उद्घाटन खेलमा नेपालले विजय सुरुवात गरेको छ । मंगलबार राजधानीको त्रिपुरेश्वरस्थित् दशरथ रंगाशालमा भएको खेलमा नेपालले भुटानलाई ४–० गाले अन्तरले पराजित गरेको हो ।
नेपाललाई जित दिलाउन सावित्रा भण्डारी र अनिता बस्नेतले दुई–दुई गोल गरेका छन् । खेलको १२ औँ मिनेटमा नेपालकी सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाएकी हुन् । उनले हिरा कुमारी भुजेलको पासमा गोल गरेकी हुन् ।


पहिलो हाममा १–० गोलले अगाडी रहेको नेपाल दोस्रो हाफमा थप ३ गोल गरे । नेपालका लागि सावित्राले खेलको ६८औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर पारिन् ।
अनिताले ७३ औँ मिनेटमा गोल गर्दै नेपाललाई ३–० गोलको अग्रता दिलाइन् । अनिताले नै खेलको ८४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४–० गोलको जित दिलाए । आजको जितसँगै नेपालले समूह ‘बी’ मा एक खेलबाट ३ अंक जोडेको छ ।
साफ च्याम्पियनसिपको इतिहासमा अहिलेसम्म भुटानले नेपाललाई हराउन सकेको छैन । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स सहभागी छन् । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेका छन् । समूह ’बी’ मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेका छन् । समूह चरणको खेलपछि दुवै समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको फाइनल खेल असोज ३ गते हुनेछ ।










