काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र निर्माण गर्न सरोकारवाला र विषयविज्ञहरूसँग सुझाव लिने भएको छ ।

शुक्रबार पार्टीको मुख्यालयमा बसेको निर्वाचन प्रतिबद्धतापत्र मस्यौदा समितिको बैठकले सो निर्णय गरेको हो । घोषणपत्रका लागि विज्ञहरूको सुझाव लिने निर्णय भएको जानकारी दिँदै निर्वाचन प्रतिबद्धतापत्र मस्यौदा समितिका सदस्य प्रकाश विकल्पले घोषणपत्रमा प्रभावकारी हिसाबले विभिन्न विषय समावेश गरिने बताए ।

नेता विकल्पका अनुसार निर्वाचन लक्षित पार्टीको घोषणापत्रमा सामयिक राजनीति र माओवादी केन्द्रको दृष्टिकोण, नेपालको कम्युनिस्ट आन्दोलन र माओवादीको योगदान, विभिन्न राष्ट्रिय नीतिबारे माओवादीको दृष्टिकोण र आगामी पाँच वर्षका लागि माओवादीले अघि सार्ने नीति तथा कार्यक्रमहरूलाई जोड दिइनेछ । साथै केही राजनीतिक प्रतिबद्धताहरू समेत समेटिने घोषणपत्रमा वर्तमान सत्ता गठबन्धनको औचित्य र राजनीतिक स्थायित्वका निम्ति अपील लगायतका विषयहरू समेटिने विकल्पले जानकारी दिए ।

सो बैठकमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं घोषणापत्र मस्यौदा समितिका संयोजक नारायणकाजी श्रेष्ठले समाजवादउन्मुख राज्यको अवधारणा प्रतिविम्बित हुने गरी चुनावी प्रतिबद्धतापत्र लेख्न विज्ञ र सरोकारवाला पक्षको सुझाव लिने प्रस्ताव अघि सारेका थिए । जसलाई बैठकले पारित गरेको हो ।

सुझाव संकलनका लागि यही असोज ६ गतेदेखि ८ गतेसम्मको कार्यतालिका बनाउने बैठकले निर्णय गरेको छ । जसका लागि वाम बुद्धिजीवीहरू, नागरिक समाज, बैंक तथा वित्तीय क्षेत्र, निजी क्षेत्र, सहकारी, शिक्षा र स्वास्थ्य, श्रम तथा रोजगार, युवा तथा खेलकूद, विज्ञान–प्रविधि, राष्ट्रिय सुरक्षा, हित, सुरक्षा र परराष्ट्र मामिला, उर्जा तथा जलस्रोत, पर्यटन तथा संस्कृति, सामाजिक सुरक्षा तथा सामाजिक न्याय, पूर्वाधार विकास लगायतका विषयहरू छनोट गरी सोही क्षेत्रका विज्ञहरूसँग औपचारिक अन्तरक्रिया गर्न लागेको नेता विकल्पले बताए ।

नाराषणकाजी श्रेष्ठको नेतृत्वमा गठित घोषणापत्र मस्यौदा समितिमा महासचिव देव गुरूङ, उप(महासचिवहरू वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, जनार्दन शर्मा र सचिव लिलामणि पोखरेल, गणेश साह, परशुराम तामाङ, अमृता थापामगर, डा. मीनबहादुर श्रेष्ठ, डिपी ढकाल, जाकिर हुसेन, प्रकाश विकल्प, जगत सिम्खडालगायत युवा नेताहरू सदस्य रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय