काठमाडौं । राजधानीको दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनसिपमा नेपाल पाँचौं पटक पनि उप–विजेतामै सीमित भएको छ । सोमबार भएको फाइनलमा नेपाललाई ३–१ गोलले पराजित गरी बंगलादेश पहिलो पटक साफ च्याम्पियन बनेको हो ।
यसअघिका ४ वटा साफ सन् २०१०‚ २०१२‚ २०१४ र २०१९ मा नेपाल लगातार फाइनलमा भारतसँग पराजित हुँदै उप–विजेतामा नै सीमित हुँदै आएको थियो । यसपटक नेपालले बंगलादेशसँग खेलेको फाइनलमा पनि नेपालले उप–विजेतामै चित्त बुझाउनु पर्यो ।


साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो हाफमा नै दुई गोल खाएको थियो । पहिलो हाफको १३ औं र ४१ औं मिनेटमा बंगलादेशले गोल गरेको थियो । दोस्रो हाफको ७० औं मिनेटमा नेपालले एक गोल फर्काएको थियो । तर बंगलादेशले पुन गोल गर्दै ३–१ ले खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो ।
सन् २०१६ को साफ फुटबलको फाइनलमा भारतसँग हारेको बंगलादेशले यो पटक नेपाललाई पराजित गर्दै च्याम्पियन बनेको हो । नेपाललाई हराएर बंगलादेशले ऐतिहासिक सफलता प्राप्त गरेको छ ।
यससँगै बंगलदेशले साफ च्याम्पियनसिपमा नेपाललाई पहिलो पटक हराएको हो । यसअघि भएको ८ खेलमा नेपाललाई जित्न सकेको थिएन् । तर ती सबै खेलमा जित्न नसकेको बंगलादेशले साफको फाइनलमा नेपाललाई हराएर च्याम्पियन बनेको छ ।










