काठमाडौं । तिहार नजिकिएसँगै घर घरमा ढकमक्क फुलेका सयपत्री र मखमलीले छुट्टै सुन्दरता थप्ने गर्दछ। तिहारमा घर सजाउन होस् वा काग, कुकुर, गाई र दाजु भाइ पूजा गर्न, सयपत्री मखमली फूल नै प्रिय मानिन्छन्।

झिलिमिली बत्तिको चाड तिहारका बलेको बत्ति साक्षी राखेर दिदी बहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै टिका लगाई सुक्ने तर रङ्ग नजाने नविग्रने वासनादार फूलहरूको माला घाटीमा पहिराई दिने, मिठो चिल्लो खान दिने परम्परागत दोस्रो ठूलो रैथाने पर्व हो तिहार।

भन्ने गरिन्छ – फूलहरुको आ–आफ्नै महत्व हुन्छ । जबसम्म फूल बोट मै हुन्छ, तबसम्म फूलको महत्व अत्यन्तै हुन्छ र टिपेपछि महत्त्व हराउँदछ । तर, तिहारमा फुल्ने फूल भने टिपेपछि पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छन् ।

ढकमक्क फूलेको मखमली र सयपत्री फूलले सबैको मन फुरुङ्ङ हुने गर्छ । गाउँसहरमा आजभोलि घर–आँगन, डिल, बारी, कान्लामा तिहार झल्काउने फूल आँगनमा मात्र होइन, बारीको डिलमा पनि ढक्कमक्क सयपत्री र मखमली फूल देखिन्छ । पछिल्लो समय गाउँसहरमा व्यवसायिक रुपमा फूल खेती गर्ने पनि उत्तिकै बढेका छन् ।

यस्तैमा, तारकेश्वर– ७ फुटुङस्थित नवजीवन परोपकार समाजमा बस्दै आइरहेका वृद्धवृद्धाले आश्रम नजिकै रहेको बाँझो बारीमा रोपेका फूल यतिबेला ढकमक्कै फुलेका छन्। फूल फुलेसँगै अहिले उनीहरुलाई टिप्ने चटारो छ। अहिले फूलले आश्रम नै आकर्षक बनेको छ। जस्तापाताले बनेको उक्त घरको आँगननजिक पुग्दा घाम तापेर बसिरहेको अनुहार चाउरिएका वृद्धवृद्धा देखिन्छन् भने आँगनको डिलमा ढकमक्क सयपत्री र मखमली फूल देख्न सकिन्छ ।

नवजीवन परोपकार समाजमा आश्रित उमेरले ६०–७० वर्ष पार गरिसकेका वृद्धवृद्धाले घरको आँगनमा मात्रै नभएर घर नजिकै करिब तीन रोपनी क्षेत्रफलमा फूल रोपेका थिए । वृद्धवृद्धाको मिहिनेतले पाखाबारीमा फूल फुलेको बताएका आश्रमका संयोजक दुर्गानाथ दाहाल साउनमा रोपेको सयपत्री फूल फुलेसँगै बजारमा लैजाने तयारी गरिएको बताउँछन् । यसपटक तीन लाख भन्दा बढी कमाउने उनको अनुमान छ।  उक्त फूल बिक्रीबाट भएको आम्दानी वृद्धवृद्धाकै आवश्यकतामा खर्च हुने उनको भनाई छ।

नवजीवन परोपकार समाजमा अहिले पनि २४ वृद्धवृद्धा छन्। तरकारी र फूलखेती आश्रमका वृद्धवृद्धाका लागि दिन कटाउने मेलो जस्तै बनेको छ । आफन्तबाट एक्लिएका, बेसहारा र आफन्तविहीन वृद्धवृद्धा बस्दै आएका आश्रममा अहिले गाईपालन र तरकारी खेती पनि थालिएको छ।

तस्बिरमा हेर्नुस् नवजीवन परोपकार समाजमा ढकमक्क फुलेका सयपत्री

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय