काभ्रे । यतिवेला देशभर झैँ काभ्रेमा चुनवा सरगमी ह्वात्तै बढेको छ । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलका उम्मेदवार भोट माग्न मतदाताको घरदैलोसँगै खेतबारीमा पुग्न थालेका छन् ।
असारमा आधी पेट खाएर वा मुखमै गाँस बोकेर खेतमा कुद्ने किसानलाई यतिवेला धान भित्र्याउन व्यस्त छन् । पाकिसकेको बालीमा पानी परेर विगार्ने चिन्ताले किसानहरु बिहान उठेदेखि बुलेकासम्म खेतबारीमै हुने हुँदा दल तथा स्वतन्त्र उम्मेदवार काभ्रेका गाउँवस्ती र खेतबारीमा नै पुगेर मतदाता भेट्न थालेको छ ।


तर व्यस्त किसानलाई घरदैलो तथा भेटघाटका लागि गाउँ पुगेका उम्मेदवारका कुरा सुन्ने फुर्सद छैन । जिल्लामा चुनावी महोल तातिदै गएपनि कामको चापले गर्दा खेतवारीमा समय वित्दे भएकाले मतदातालाई उम्मेदवारले घरमा खासै भेट्न पाएको छैनन् ।

काभ्रेमा खासगरी सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच कडा चुनावी प्रतिस्पर्धा देखिएको छ । यद्यपी पुराना दल र तिनका उम्मेदवारको विकल्प खोज्नु पर्ने बताउँदै नयाँ दल र स्वतन्त्रका उम्मेदवारहरु चुनावी दौडाहमा छन् ।
राजनीतिक दलका कर्याकर्ता झैँ काभ्रेका मतदाता निर्वाचनको लागि उत्साही देखिए पनि उम्मेदवार छान्ने कुरामा भने उनीहरुले मिश्रित प्रतिक्रिया दिए । नमोबुद्ध नगरपालिका–७ का सन्तमान लामाले राष्ट्रिय राजनीतिमा पकड भएका पुराना नै दलका उम्मेदवारलाई जिताए मात्रै विकास सम्भव भएको बताए । खेतमा धन काट्दै गरेकी धुलिखेल–११ की मैया श्रेष्ठको तर्क भने फरक छ । उनले पार्टीका नेताहरुले चुनवा जितेपछि फर्केर नहेर्ने भन्दै त्यसको विकल्प खोज्नु पर्ने बताए । त्यस्तै पनौती–४ की सुहाना शर्माको विचार श्रेष्ठसँग मिल्दोजुल्दो पाए । उनले पार्टीभन्दा पनि राम्रा र सक्षम उम्मेदवार छान्ने बताईन् ।
जिल्लामा प्रतिनिधि सभाको २ सिटका लागि ३१ र प्रदेश सभाको लागि ४ सिटमा ३३ जना गरी ६४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । जसमा ५ पुर्वमन्त्री र एक जना वहालवाला मन्त्री समेत चुनावी मैदानमा छन् । जिल्लाका ३ लाखभन्दा बढी मतदाताले ६ जनालाई मात्र चुन्ने छन् । अहिले उम्मदेवारहरु मतदाताको घरखेत पुगेर विभिन्न प्रतिवबद्धा र आश्वासन बाँड्दै भोट माग्न व्यस्त छन् । तर काभ्रेमा सन्दर्भमा स्थानीय तहको मत परिणाम अनुसार गठबन्धन दलको विजय करिब सुनिश्चित देखिन्छ ।
मतदाताको गुनासो निर्वाचनको संघारमा आइपुग्दा समेत मत्थर भएको पाईदैन । धेरै पटक धेरै नेतालाई जिताएर पठाए पनि जनताको समस्यामा परिवर्तन हुन नसकेको मतदाताको गुनासो छ ।
काभ्रे–१ मा गठबन्धनका साझा उम्मेदवार सुर्यमान दोङ (लालध्वज)ले मंसिर ४ को परिणाम आफ्नो पक्षमा आउने दाबी गर्दै जनताको विचमा गरेका सबै खाले बाचा र प्रतिवबद्धा पुरा हुने बताए । उनले भने, ‘रेकर्ड गरेर राख्नुस लालध्वज (सुर्यमान दोङ) बोलेको पुरा गर्ने मान्छे हो, ढुक्का हुनोस् ।’
त्यस्तै कतिपयले विकास क्रमिक रुपमा हुने भए पनि जितेर गएका नेताहरु एक पटक पनि गाउँमा नफर्किएको भन्दै दुःख व्यक्त गरे । यसै विषयलाई लिएर थाहाखबर कर्मीले काभ्रे–१ का प्रदेशतर्फ (क) का उम्मेदवार रत्न ढकाललाई मतदाताले भने झैं चुनाव जितेपछि नेता जनताको फर्किदैनन् ? भनेर गरेको प्रश्नमा उनले आफु संसद भएदेखि निरन्तर जनताको बिचमा रहेको र मन्त्री भएपछि झन् जिल्लाका प्रत्येक स्थानीय तहका विभिन्न वडामा समेत पुगेको बताए । ‘०७४ को चुनावपछि संसद भएसँगै जनताको बिचमै रहेर काम गरिहेको छु,’ उनले भने, ‘आगामी निर्वाचन पछि झन् बढी जनताको विचमा विकासको योजनासहित पुग्ने छु ।’
त्यस्तै सोही क्षेत्र प्रदेश (ख) का उम्मदेवार तिर्थ लामाले संसद नहुदाँसमेत बाटाघाटा, कुला नाला, बत्ती जस्ता विविध योजनामा बजेट छुट्याउन पहल गरेको बताए । उनले भने, ‘जनताले विकास चाहन्छ, जुन हामीले पहल गरेकै छौँ । अपेक्षा गरेको जस्तो सेवा सुविधा भएको छैन, अब पुरा हुन्छ ।’
यस्तै प्रत्येक निर्वाचनमा एमालेमा भोट हाल्दै आएका धुलिखेल नगरपालिका–१२ का शारद थापाले यस पटक गठबन्धनलाई भोट दिने बताए । काभ्रेमा गठबन्धन बलियो रहेको र गाउँको विकासको लागि जितको सम्भावना बढी रहेको दलको उम्मेदवारलाई नै भोट दिने उनको भनाई छ । उनले भने, ‘स्थायी विकासको लागि गठबन्धन दल ५ वर्ष नै रहनु पर्छ, अन्यथा जनताले दिएको मतको अपमान हुनेछ ।’
त्यस्तै पनौती–७ का विजय नास्नानीले कुनै पार्टीको भएपनि देश र जनताको लागि काम गर्ने भिजन भएको युवालाई भोट दिने बताए । कतिपय मतदाता भोट दिएर जिताएर पठाएका नेताले निराश बनाउने मात्र काम गरेकोले यसपटक कसलाई भोट दिने भन्नेमा अन्योलमा रहेको सुनाउँछन् । तर उनीहरु असन्न निर्वाचन ५ वर्षसम्म देश निर्माण गर्नको लागि भएका कारण महत्वपूर्ण रहेकोले पार्टीको घोषणपत्रसँगै उम्मेदवार र त्यसको एजेण्डा अनुसार भोट दिने बताउँछन् ।











