बाँस्कोटा जिताउन कुनै कसुर बाँकी नराखी लाग्न नेता कर्याकर्तालाई ओलीको निर्देशन
काभ्रे । मंसिर ४ गते हुने निर्वाचनको मिति नजिकिदै गर्दा काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा चुनावी महोल थप रोचक बन्दै गएको छ । काभ्रे–२ मा गोकुल प्रसाद बाँस्कोटा र शिवप्रसाद हुमागाईबिचको चुनावी प्रतिस्पर्धाले काभ्रेसँगै देशभर कसको पक्षमा पल्लाभरी रहँला भन्ने उत्सुकताले सवैको ध्यान खिचेका छन् ।


पछिल्ला दिनमा बाँस्कोटा र हुमागाईंबिचको प्रतिस्पर्धा झन् रोचक बन्दै गाएको हो । दुवै उम्मेदवार यतिबेला मतदाता भेटघाटमा निकै व्यस्त छन् । बाँस्कोटा नेकपा एमालेका उम्मेदवार र नेपाली कांग्रेसका नेता हुमागाईं सत्ता गठबन्धन दलका साझा उम्मेदवार हुन् ।
बाँस्कोटालाई अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र समेत मानिन्छ । स्रोतका अनुसार अध्यक्ष ओली समेत काभ्रेबाट बाँस्काटा र भक्तपुरबाट महेश बस्नेतलाई कुनै हालतमा जिताउन लागि परेको बुझिएको छ । एमालेका एक नेताका अनुसार अध्यक्ष ओलीले बाँस्कोटा र बस्नेतलाई जिताउनको लागि कुनै कसुर बाँकी नराख्न जिल्लास्थित् नेता कर्याकर्तालाई निर्देशन दिएको छ ।
यद्यपी २०७४ सालको नेकपा माओवादीसँग मिलेर चुनाव जितेका बाँस्कोटालाईं यसपटक भने विरासत जोगाउन हम्मेहम्मे परेको देखिन्छ । खरो स्वभावको मानिने बाँस्कोटाको लागि विरासत जोगाउनु मात्रै नभई चुनावको जित हार उनको प्रतिष्ठाको लडाई समेत हो । जसले गर्दा उनलाई कसैगरी चुनाव जित्नु पर्ने चुनौति छ ।
तर बास्कोटासामु अहिले सत्ता गठबन्धनका साझा उम्मेदवार हुमागाईं प्रतिस्पर्धी छन् । हुमागाईं २०५६ सालको आमनिर्वाचनमा एमालेका केशव बडाललाई पराजित गरेर काभ्रेमा कांग्रेसको उदय गराएर जनस्तरमा समेत अमिट छाप छोड्न सफल उनलाई विकासप्रेमी नेता मानिन्छ । त्यस्तै हुमागाईं निर्वाचन क्षेत्रको अंकगणितीय हिसाबकिताब समेत राम्रोसँग राख्नुका साथै अन्य दलहरूको रणनीतिलाई सहजै बुझ्न र त्यसको प्रतिउत्तर दिन माहिर छन् ।
योपटक प्रतिस्पर्धी उम्मेदवारभन्दा दोब्बर मत ल्याएर जित्ने दाबी गरेका बाँस्कोटाको विपक्षमा माओवादी केन्द्र र एकीकृत समाजवादी उभिएका छन् । ०७४ मा बाँस्कोटालाई जिताउन खम्बा बनेका एमालेका हस्तीद्वय कृष्णप्रसाद सापकोटा र विदुर सापकोटासँगै अघिल्लो चुनावका सारथि पुर्व सांसदद्वय लक्ष्मण लम्साल र बसुन्धरा हुँमागाई समेत यो पटक उनको विपक्षमा उभिएका छन् । जसले गर्दा यो पटक माओवादी र एकिकृत समाजवादीको साथ पाएको हुमागाईंले बाजी मार्ने जिल्लास्थित् राजनीतिज्ञहरु बताउँछन् ।
अहिले बाँस्कोटा आफु संसद बनेपछि निर्वाचन क्षेत्रमा थुप्रै बाटो बनाएको दाबी गर्दै सोही बाटोलाई देखाएर भोट माग्दै हिडिरहेका छन् । बास्कोटा सञ्चारमन्त्री हुँदा ७० करोड ‘बार्गेनिङ’ गरेको अडियो बाहिरिएपछि मन्त्री पदबाट हट्नु परेको थिए । यही अडियो काण्ड नै उनको लागि चुनाव हार्न सक्ने अर्को विषय बनेको छ । फेरी यही विषयलाई गठबन्धनले चुनावी प्रचारमा जोडतोडका साथ उठाइरहेको छ ।
स्थानीय तहको मत परिमाणलाई आधार मान्ने हो भने बाँस्कोटाको हार प्रायः निश्चित देखिन्छ । ०७९ बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काभ्रे–२ अन्गर्तत पर्ने स्थानीय तहमा एमालेबाट जितेका वडाध्यक्षको कुल मत ४५ हजार ५१४ रहेको छ ।
तथ्यांक अनुसार सोही निर्वाचन क्षेत्रमा कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रबाट उम्मेदवार बनेका वडाध्यक्षहरुको कुल मत क्रमशः ४५ हजार ४५६, ८ हजार ६ सय ७६ र ६ हजार ३७० गरी गठबन्धनको पक्षमा ६० हजार ५०२ मत रहेको छ । जुन एमालेका वडा अध्यक्षहरुले पाएको कुल मत भन्दा १४ हजार ९८८ मत बढी हो ।
त्यस्तै स्थानीय तहको प्रमुखले पाएको मतभार हेर्दा पनि बास्कोटा भन्दा गठबन्धनका उम्मेदवार नै अगाडि देखिन्छ । जसले गर्दा पुरुष ७९ हजार ७०७ र महिला ७९ हजार ४२ हजार गरी १ लाख ५८ हजार ७४९ मतदाता रहेको काभ्रे–२ मा गठबन्धनका उम्मेदवार हुमागाईंको तिज करिब सुनिश्चित जस्तै छ भने बास्कोटाले चुनावमा जित्न धेरै मेहेनत गर्नुपर्ने देखिन्छ ।
यता टिकटका दावेदारी मधु आचार्य भने हुमागाईंले टिकट पाएसँगै खासै चुनवाी कार्यक्रममा देखिएको छैन । हुमागाईंसँग रुष्ट बनेका अचार्य र उनका निकस्थहरुको मत आफुतिर तानेर चुनाव जित्ने दाउमा एमाले उम्मेवदार बाँस्कोटा रहेको बुझिएको छ । कांग्रेसभित्रकै अन्तरघातलाई जोगाउन सके हुमागाईंको जितलाई एमालेले रोक्न नसकिने जानकारहरु बताउँछन् ।










