नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस र कम्युनिस्ट पार्टी मिलेमा मात्र देशमा ठूलो परिवर्तन हुने बताउनुभएको छ ।
मोरङ निर्वाचन क्षेत्र नं ६ आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले अहिले संविधानको रक्षा गर्नका लागि पनि गठबन्धनको सरकार देशमा आउन जरूरी रहेको उल्लेख गर्नुभयो ।


जनताको जीवन परिवर्तन गर्ने गरी आर्थिक क्रान्ति नभएकाले चुनावपछि गठबन्धनको सरकार गठन गरेपछि लक्ष्यअनुसार काम गरेर देशलाई विकास र समृद्धितर्फ अघि बढाउन जरुरी रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “गठबन्धनको लहर देशैभर आएकाले अब हाम्रो सरकार बनेर अघि बढ्छ ।”
माओवादी केन्द्र र नेपाली कांग्रेस मिलेपछि मात्रै देशमा शान्ति आएको दाहालले उल्लेख गर्नुभयो । “हामी जतिबेला नेपाली कांग्रेस र कम्युनिस्ट मिलेर अघि बढेका छौँ, देशमा ठूलाठूला परिवर्तन भएका छन् । जतिबेला हामीले आपसमा विवाद गरेका छौँ, देश निकै अप्ठ्यारोमा गएको छ”, उहाँले भन्नुभयो, “विस्तृत शान्ति सम्झौताको हस्ताक्षर गरेकै दिन गिरिजाबाबुतिर फर्किएर मैले ‘जय नेपाल’ भनेको हुँ र गिरिजाबाबुले पनि मतिर फर्किएर लालसलाम भन्नुभएको हो ।”
नेकपा एमाले नेतृत्वको गठबन्धनले देशलाई पछाडितिर धकेल्न खोजेको आरोप दाहालले लगाउनुभयो । उहाँले मङ्सिर ४ को चुनाव एक प्रकारको जनमत सङ्ग्रह भएको बताउनुभयो ।










