दोङको योजनाः काभ्रेलाई धार्मिक पर्यटनको रुपमा विकास, कर्मचारीलाई दिए निर्देशन
काभ्रे । मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको लागि भएको निर्वाचनको अन्तिम मत परिणाम आएर केहिदिन मात्रै वितेका छन् ।


समानुपातिकतर्फका सदस्य घोषणा हुन बाँकी रहेकाले प्रत्यक्षतर्फ विजय भएका प्रतिनिधिसभा र प्रदेशसाभका सदस्यहरूको शपथग्रहण अझै कहिले हुने भन्ने टुंगो लाग्न सकेको छैन । यद्यपी, प्रत्यक्ष निर्वाचित उम्मेदवारहरू बधाई थप्ने काम मात्रै नभई चुनावी प्रतिवद्धता पुरा गर्नका लागि काममा लागिसकेका छन् ।
यसैविच काभ्रे क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी सुर्यमान दोङ (लालध्वज)ले चुनावका वेला दिएका आश्वासन पुराका लागि जनताका काम गर्न लागिपरेको छ । नेकपा माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य समेत रहेका दोङले निर्वाचित भएपछि जनतालाई धन्यवाद दिन घरदैलो पुगेका उनी सो कार्यक्रम सकाए लगात्तै सडक, मल र खानेपानीको कार्यालयमा पुग्न थालेका हुन् ।
पुर्वमन्त्री दोङले निर्वाचन क्षेत्रसँगै समग्र जिल्लालाई नै लक्षित गरेर कार्यालयका प्रमुखहरुसँग भेटघाट तीव्र पारेका छन् । उनले जनताको काम गर्ने गरी जनप्रतिनिधिको रुपमा जिम्मेवारी लिईसकेपछि सपथग्रहणलाई पर्खेर बस्नुको कुनै तुक नरहेको तर्क गरे ।
नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत् सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख मेघराज मोरासिनीसँग प्रतिनिधिसभा सदस्य दोङले आफ्नो कार्यक्षेत्रका सबै सडक बाह्रै महिना नै चल्ने गरी निर्माण गर्न आवश्यक कार्यक्रम र बजेट व्यवस्थापनबारे छलफल गरेका छन् । छलफलको क्रममो खोपसी–ताल्ढुंगा सडक खण्डको काम कुनै हालतमा निर्माण गर्नु पर्ने र उक्त सडक आफ्नो मुख्य प्रथामिकता रहेको बताउदै आफुले बोकेको योजना भन्दा कार्यालयबाट अघि सारेको योजना आधिकारिक हुने भएकाले आवश्यक पक्रिया अघि बढाउन उनले आग्रह गरे ।
उनले भने, ‘कार्यक्रम र बजेट व्यवस्थापनको लागि कार्यालयबाट गर्नु पर्ने आवश्यक पक्रिया अघि बढाउनुस्, म कहाँ गएर भन्नु पर्छ वा टेवल ठटाउनु पर्छ त्यो काम म गर्छु । मेरो तर्गेट ५ वर्षभित्रमा जसरी पनि जिल्लाका सबै सडक बाहै्र महिना चल्ने बनाउने हो ।’
त्यस्तै डिभिजन कार्यालयका प्रमुख मोरासिनीले राजनीतिक तवरबाट जनप्रतिनिधिले पहल गरे खोपासी–ताल्ढुंगाको सडकको काम यसै वर्षबाट सुचारु गर्न सकिने बताए । उनले उक्त सकडको काम तत्काल अघि बढाउने बताए । उनीबिच पुनः बुधबार छलफल सक्ने भएको छ ।
यसैगरी भक्तपुरमै रहेको खानेपानी तथा ढल व्यवस्थापन विभागको कार्यालयमा पुगेर त्यहाँस्थित् कार्यालयका प्रमुखसँग काभ्रेमा खानेपानीको अभावबारे जानकारी गराउँदै खानेपानीको अति समस्या रहेको क्षेत्रमा लिफ्टिङ वा मुहान कुन विधिमध्ये सहज हुने उपायबाट काम अघि बढाउने गरी छलफल गरेको छ ।
उनले कार्यालय प्रमुख सकारात्मक रहेको र छिट्टै जनताले अनुभती गर्ने गरी काम समेत हुने दाबी गरे । उनी एमालेका उम्मेदवार रेशम लामालाई झण्डै ४ हजार मतान्तरले पराजित गर्दै विजय बनेका थिए । दोङले सक्रियता बढाएसँगै विकासले गति लिनेमा निर्वाचन क्षेत्रका जनता भने आशावादी देखिएका छन् ।
धार्मिक पर्यटनको रुपमा काभ्रेको विकास
संसद दोङले काभ्रेलाई धार्मिक तथा सकड पर्यटनको रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताए । उनले जनकपुरदेखि सर्लाहीको बागमती गाउँपालिका, हेटौँडासँगै काभ्रेको खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानामा पर्ने नारायणस्थान हुँदै जिल्लाको मुख्य धार्मिक क्षेत्र पनौती, नमोबुद्ध, बनेपाको चाण्डेश्वरी मन्दिरसँगै संघीय राजधानी काठमाडौँ जोड्ने भएकाले उक्त सडक खण्डलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न चाहेको बताए ।
नेता दोङले खोपासी–ताल्ढुंगाको सडक खण्ड मात्रै जोड्ने सकेको खण्डमा जनकपुरदेखि खानीखोलाको ताल्ढुंगा भएर काठमाडौँको पशुपति मन्दिर, बौद्ध स्तुप र स्वायम्भूनाथ सम्म पुग्न सजिलो र छोटो बाटो समेत हुने बताए ।
त्यस्तै उक्त सडक बनेमा पुर्व जिल्लाका धार्मिक पर्यटक बौद्ध धर्म मान्नेका लागि नमोबुद्ध, हिन्दु र बौद्ध धर्म मान्ने दुवैको लागि मिल्ने तेमालकोे नारायणस्थान डाँडामा अवस्थित रहेको मन्दिर, सुनकोशीको कुशेश्वर मन्दिर (६४ शिव लिङ्गामध्ये आधी रहेको) लगायतका स्थानमा समेत पुग्न सकिन्छ ।
दोङले दिए निर्देशन
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दोङले काभ्रेको धुलिखेलस्थित् कृषि सामग्री केन्द्रको अनुगमन गर्दै गोदाममा मल स्टक नराखी किसानलाई तत्काल सहज रूपमा रासायनिक मल वितरण गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
कृषि सामग्री लिमिटेड काभ्रे शाखा प्रबन्धक वासुदेव शर्मालाई किसानले बाली लगाउने वेलामा रासायनिक मल नपाएको गुनासो आएको भन्दै सहज रूपमा मल वितरणका लागि निर्देशन दिएका हुन् ।
‘मैले चुनावी अभियानको क्रममा मल अभावबारे जनताको धेरै गुनासो सुने, अहिले भेटेर वा फोनमार्फत् कृषकले मलको व्यवस्थापन गर्नुप¥यो भनीरहेको छ’ उनले भने, ‘गोदाममा मल स्टक नराखी, आवश्यक प्रक्रिया के मिलाउनु पर्छ, त्यो मिलाएर कृषकको हातमा सहज रुपमा पुग्नेगरी अविलम्ब मल वितरण गर्नुस् ।’
प्रतिनिधिसभा सदस्य दोङले आवश्यक मलको प्रबन्धका लागि आफूले कहाँ गएर के भूमिका निर्वाह गर्नुपर्ने हो, त्यसका लागि सदैव आफू तयार रहेको समेत बताए । उनले भने, ‘मलको प्रबन्ध गर्न मैले कहाँ पुगेर के भूमिका निर्वाह गर्नुपर्ने पर्छ तयार छु, तर कुनै पनि शर्तमा जनतालाई मलको व्यवस्थापन हुनुप-यो ।’
शाखा प्रबन्धक शर्माले मल अभावको विषयमा सरकारले समयमै ध्यान नदिँदा किसानले मल नपाएको गुनासो गरे । गोदाममा स्टक देखिएको मल स्थानीय तहको कोटाअनुसार वितरण गरेको बताए । तर प्रतिनिधिसभा सदस्य दोङले मल कोटाको आधारमा नभई कृषकको आवश्यकताको आधारमा वितरण गर्न सुझाव दिएका छन् ।










