काठमाडौं । ‘तेस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड–२०२३’ हुने भएको छ । उक्त अवार्ड कार्यक्रम आगामी वैशाख भित्र काठमाडौंमा गरिने आयाेजकले जनाएको छ।
अवार्ड आवेदनको लागि निशुल्क दर्ता फारम खुलिसकेको र सबै प्रकारका गितहरु दर्ता गरिने अध्यक्ष सुर्य चन्दले बताए। दर्ताका लागि २०७८/७९ का गीत संगीतहरुलाई समाबेश गरिने भएको छ, भने नव प्रतिभाको हकमा २०७८ भित्र गीत निकालेको हुनुपर्नेछ ।


यसैगरी, क्रियटिभ ईन्साइट मिडियाको प्रस्तुतिमा हुन लागेको उक्त अवार्ड कार्यक्रमलाई शुभकामना मिडिया सोलुसन प्रा.लि.ले ब्यबस्थापन गर्ने भएको छ। संञ्चारकर्मी तथा कलाकार सूर्य चन्दको अध्यक्षतामा हुने उक्त अवार्ड कार्यक्रमको निर्देशक भने सुमन बैरागी पण्डित रहेका छन् ।
उत्कृष्ट नवप्रतिभा, रचनाकार, लोक तथा दोहोरी गायक–गायिका, पर्व विशेष गीत (तिज, दशैँ तिहार, होली), भजन, पप–आधुनिक गायक–गायिका, भाषा–भाषीका गीत, म्यूजिक भिडियो, आर्ट तथा सांस्कृतिक लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिने आयाेजकले जनाएको छ।
यस्तै,अवार्ड कार्यक्रममा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरु र नेपालकाे कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने सुर्य चन्दले जानकारी दिए ।
नेपाली सांगीतिक क्षेत्रमा स्वस्थ प्रतिष्पर्धात्मक संस्कृतिको विकास गर्न अवार्ड आयोजना गरिने तथा नेपाली सांगीतिक क्षेत्रलाई चलायमान बनाउन र सांगीतिक क्षेत्र श्रीबृदीको लागि कला, संस्कृति र सांगीतिक क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने उदेश्यले संगीतका विभिन्न विधातर्फ ‘नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड’ गरिदैं आएको छ ।










