
एजेन्सी । म्यानमारको सैन्य अदालतले नजरबन्दमा रहेकी नेतृ आङ सान सुकीविरुद्ध फेरि चार वर्षको जेल सजाय सुनाएको छ । सुकीले अनुमतिबिना सञ्चारसेट वाकी–टकी राखेको आरोपमा अदालतले उक्त सजाय सुनाएको हो ।
गत वर्षको फेब्रुअरीमा सेनाले जननिर्वाचित सरकारमाथि ‘कु’ गर्दै सत्ता नियन्त्रणमा लिएको थियो । सुकीविरुद्ध सैन्य अदालतले गत डिसेम्बरमा कोरोना प्रतिबन्ध उल्लंघन गरेको आरोपमा चार वर्षको जेल सजाय सुनाएको थियो। पछि सजाय कम गर्दै साढे दुई वर्ष बनाइएको थियो ।


सुकीलाई सुनाइएको सजायको अन्तर्राष्ट्रिय स्तरमा निन्दा भएको थियो । म्यानमारका सैन्य अदालतको फैसलामा विरोध जनाउँदै भाँडा बजाएर प्रदर्शन गरेका थिए ।
म्यानमार सैनिकले सत्ता नियन्त्रणमा लिएपछि भएका प्रदर्शनमा १ हजार ४०० भन्दा बढीको मृत्यु भइसकेको छ । प्रदर्शन दबाउन सैन्य सरकारले जथाभावी गोली चलाउने र नागरिकको हत्या गर्ने गरेको आरोप अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।