मलंगवा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ मा बिहीबार बिहान भएको ईभी हाइस दुर्घटनामा ज्यान गुमाएकाहरूमध्ये १२ जनाको शुक्रबार अबेर राति सामूहिक रूपमा दाहसंस्कार गरिएको छ ।

शुक्रबार साँझ शव परीक्षण (पोस्टमार्टम) सकिएपछि राति नै शव गाउँ ल्याइएको थियो । सोपश्चात् चक्रघट्टा गाउँपालिका–३ स्थित लखनदेही खोलाको किनारमा शुक्रबार मध्यरातमा एकैसाथ दाहसंस्कार गरिएको हो ।

सामूहिक दाहसंस्कार गरिएकाहरूमा प्रमोद यादवका छोरा गुड्डु यादव, बुहारी गायत्रीदेवी यादव, रामसुनर यादवका छोराहरू विकेश यादव र सुदेश यादव, बुहारी पुनम यादव तथा नातिनीहरू अनु यादव, शिक्षा यादव र दीपिका यादव रहेका छन् । त्यसैगरी निरसु रायका छोरा राकेश राय, नाति रोहन राय, चन्देश्वर रायका छोरा सुबोध राय र निरस रायका छोरा रामदुलार रायको पनि सोही स्थानमा अन्त्येष्टि गरिएको छ ।

यस्तै, अमिरी रायका छोरा रामप्रवेश रायको मलंगवा नगरपालिकास्थित गणेशिया गाउँमा अन्तिम संस्कार गरिएको छ । साविक सुन्दरपुर घर भए तापनि उनीहरू हाल गणेशियामा बसोबास गर्दै आएकाले उनको शव त्यहीँ लगेर दाहसंस्कार गरिएको हो । सवारी चालक कविलासी नगरपालिका–८ का रविशंकर मण्डलको शव भने बिहीबार नै परिवारजनले बुझेर घर लगेका थिए ।

मध्यरातमा दाहसंस्कार गरिए तापनि वरिपरिका पाँच गाउँका सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । शोक सन्तप्त परिवारलाई सान्त्वना दिन र अन्तिम बिदाइ गर्न जम्मा भएको ठुलो भिडलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई समेत हम्मेहम्मे परेको थियो । स्थानीयवासीका अनुसार दिउँसोको समय भएको भए मलामीको भिड अझै अनियन्त्रित हुने थियो ।

अन्त्येष्टि स्थलमा प्रतिनिधिसभा सदस्य रबिनकुमार महतो, प्रदेशसभा सदस्यद्वय सञ्जयकुमार यादव र जङ्गीलाल राय, पालिका अध्यक्ष कृष्णकुमार यादव तथा पूर्वपालिका अध्यक्ष विक्रम यादवको उपस्थिति थियो । त्यस्तै, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) र सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षकसमेत दाहसंस्कारमा सहभागी भएका थिए । एकै गाउँका धेरै नागरिकको निधनले यतिबेला सिंगो सुन्दरपुर गाउँ शोकमा डुबेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय