–हत्याकाण्ड भएको त्रिभुवन सदनको बिलियार्ड बैठक कक्षखुला
–वीरेन्द्रको निजी घर श्रीसदन, परिवारको सवारीसाधन, हेलिकोप्टर प्रदर्शनीमा
–संग्रहालय बनेपछि करिब ४५ लाखले अवलोकन गरे
–राजतन्त्र फर्काउन पूर्वराजा देश दौडाहामा
काठमाडौं । आज दरबार हत्याकाण्ड भएको २२ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुनेगरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो ।


हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतीसहितको निधन भएको थियो । घटनापछि तत्कालीन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालीन युवराज दीपेन्द्रबाटै भएको ठहर गरे पनि यसलाई धेरैले विश्वास गरेका छैनन् ।
२२ वर्ष बित्दासम्म पनि हत्याकाण्डको तथ्य अझै बाहिर आउन सकेको छैन । २०६२/६३ को जनआन्दोलनमार्फत पुनः स्थापित संसद्ले राजाका सम्पूर्ण अधिकार खोस्यो । २०६५ सालमा गणतन्त्र स्थापना भएसँगै मुलुकमा राजतन्त्र समाप्त भयो ।
२०६५ जेठ २९ गते पूर्वराजा ज्ञानेन्द्र नारायणहिटी छाडेर नागार्जुन पुगेपछि राजपरिवारको कार्यालय र निजी निवासको रूपमा रहेको नारायणहिटी सरकारले जिम्मा लिएको थियो । २०६५ फागुन १५ देखि सरकारले नारायणहिटी संग्रहालय सर्वसाधारणको लागि खुला गर्यो ।
हत्याकाण्ड भएको त्रिभुवन सदनको बिलियार्ड बैठक हल लगायत अधिकांश संरचना निर्माण भएर सर्वसाधारणको लागि खुला गरिएको छ । तर, राजदरबार हत्याकाण्डको २१ वर्ष पूरा हुँदासम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन ।
त्यसको करिब ७ वर्षपछि त्रिभुवन सदनको बिलियार्ड बैठकहललगायत अधिकांश संरचना निर्माण भएर सर्वसाधारणको लागि खुला गरिसकेको छ । त्रिभुवन सदनसँगै राजा वीरेन्द्र र उहाँको परिवारको निजी निवास ‘श्रीसदन’ खुला भइसकेको छ । दरबार हत्याकाण्ड भएको १७ वर्षपछि त्रिभुवन सदन र श्रीपेचसमेत सर्वसाधारणको लागि खुला गरिएको थियो । त्यसको ३ वर्षपछि श्रीसदन खुला गरिएको थियो । २०७७ साल मंसिर ७ गते श्रीसदन खुला भएको नारायणहिटी संग्रहालय विकास समितिका प्रवक्ता पुरुषोत्तम थापाले बताउनुभयो । उहाँका अनुसार श्रीसदन खुलेको २ दिन मंसिर ९ गतबाट संग्रहालयभित्रको गणतन्त्र स्मारक खुला गरिएको हो ।
श्रीपेच, बग्गी, सवारी साधन हेलिकोप्टरलगायत राजा वीरेन्द्र र उहाको परिवारले प्रयोग गरेको अधिकांश सामग्री खवलोकन गर्न खुला गरिसकेको संग्रहालय प्रशासनले जनाएको छ । यसैबीच संग्रहालय खुलेदेखि हालसम्म १५ वर्ष अवधिमा करिब ४५ लाख नेपाली, सार्क राष्ट्र र विदेशीले संग्रहालय अवलोकन गरिसकेको सूचना अधिकारी थापाले जानकारी दिए। उता, राजतन्त्रको विरासत फर्काउन पूर्वराजा ज्ञानेन्द्र शाह देश दौडाहामा लागिरहनुभएको छ ।










