काठमाडौं । विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमोक्रन फैलिएसँगै नेपालमा पनि संक्रमण दर दिनहुँ बढ्दै गएको छ । पछिल्लो केही दिनयता दैनिक झण्डै दोब्बरको संख्यामा कोरोना भाईरस कोभिड–१९ संक्रमण देखा परिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो पाँच दिनको तुलनामा नेपालमा संक्रमणदर १६.३ प्रतिशतले बढेको छ ।

यतिमात्र नभई कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट हालसम्म २७ जना संक्रमित भइसकेको पुष्टिसमेत भएको छ । मंगलबार मात्रै थप दुई हजार ४४४ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा मात्रै एकैदिन १ हजार २ सय ८६ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार काठमाडौं जिल्लामा ९ सय ८० संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ३ हजार ५२१ पुगेको छ । यस्तै, भक्तपुरमा ८५ र ललितपुरमा २२१ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, मंगलबार ३१३ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख १४ हजार ७९८ पुगेको छ ।

नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा आठ लाख ३५ हजार ९२७ र एन्टीजेन विधिबाट परीक्षण गरिँदा ९७ हजार ९६७ सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार ५२२ रहेको छ । मंगलबार कोरोनाबाट थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०७ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल १९ जना भेन्टिलेटरमा र ९३ जना आइसियुमा रहेका छन् । होम आइसोलेसनमा आठ हजार ८६७, संस्थागत आइसोलेसनमा ६५५ र क्वारेन्टिनमा ११३ रहेका छन् ।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा तीन हजार ५२१, ललितपुर एक हजार ९० र भक्तपुरमा ६९९ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । देशभर कोरोना संक्रमितको संख्या बढिरहँदा उपत्यका संक्रमणको हटस्पट बनेको छ ।

यसैबिच, कोरोना संक्रमण बढेसँगै मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउनुसहित ​कडाइ गर्ने निर्णय गरेको छ ।

ललितपुरका सीडीओ घनश्याम उपाध्यायले सीसीएमसीसी र गृह मन्त्रालयको सर्कुलर अनुसार आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको बताएका छन् ।

पक्कै पनि जनस्वास्थ्यका मापदण्ड नपनाइने हो भने भइरहेका राजनीतिक गतिविधिले कोरोना संक्रमण बढाउन सक्ने देखिन्छ ।

गृहलाई चुनौती राप्रपाको जुलुस
कोभिड महामारी तीव्र बढेपछि रोकथाम र न्यूनीकरणका लागि गृह मन्त्रालयले एक नोटिस जारी गर्दै २५ जनाभन्दा बढी भेला हुन नपाउने जनाएको थियो ।

तर गृहको सूचनाआदेश जारी भएको ३६ घन्टा बित्न नपाउँदै राप्रपाले त्यसको उल्लंघन गरिएको छ ।

मन्त्रालयको आदेशलाई चुनौति दिँदै राप्रपाले पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार काठमाडौंको भद्रकालीदेखि सिंहदरबारसम्मको सडकमा जुलुस नै गरेका थिए ।

मास्क नलगाउने र सार्वजनिक स्थलमा सामाजिक दूरी कायम हुन छोडिसकेको छ । उपत्यका लगायत बाहिरी जिल्लामा भिडभाड बढ्नुका साथै विभिन्‍न राजनीतिक दलले सभा सम्‍मेलन गर्न थालेकाले पनि झन संक्रमण फैलिएको आशंका बढ्दै गएको छ ।

कोरोना संक्रमणदर बढिरहेकाले नेपालमा पनि फेरि लकडाउन त हुँदैन भन्ने सबैलाई एउटै चिन्ता भएको छ । यता, स्वास्थ्य मन्त्रालयले भने नेपालमा कोरोना महामारीको तेस्रो लहर आई नसकेकाले तत्काल लकडाउन नहुने बताएको छ ।

तर, सीसीएमसीसीको निर्देशिकाका आधारमा एउटा एरियामा कति जना संक्रमित छन्, अस्पतालमा संक्रमित हुने दर कस्तो छ, त्यही आधारमा डीडीएसीले निर्णय लिन सक्ने छ ।

जिल्लाले संक्रमण बढेमा आफ्नो जिल्लामा अवस्था हेरेर लकडाउन गर्ने, कडाइ गर्ने, स्मार्ट लकडाउन गर्ने निर्णय लिन सक्छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय