काठमाडौ । कुनै समय थियो, जतिबेला धर्म र संस्कृतिलाई आधार मानेर कलिलै उमेरमा छोरीको कन्यादान गरिन्थ्यो । हाम्री हजुरआमाको पनि ७ वर्षमा विवाह भएको अरे । विवाहपछि ५ वर्षसम्म माइत नै बस्नु भयो रे । म सम्झिन्छु त्यो अमेरमा कहिले नाच्दै, कहिले गीत गाउँदै हिँडेका ती बनपाखा, घरको आँगन, मतान, पानी ल्याउने खोला, भारी थकाइ बिसाउने भन्ज्याङको कति माया लाग्थ्यो होला ।
कठै । कति निष्ठुरी ती बाउ आमा । कति निर्दयी ती समाजका मान्छे । कति पापी ती पुरुषहरु, जो कलिला छोरीहरुलाई काखी च्याप्न सहर्ष स्वीकार गर्थे । त्यो समय धेरै बालखा छोरीले महिला हिंसा र हिंसाजन्य अपराध सहनु पर्यो, कतिको ज्यान पनि गयो । यी सबै कुरा सम्झिदा पनि निकै तीतो लाग्छ । तर पछिल्लो समय घर घरमा शिक्षाका अभियान चले, कानुनका पाना पानालाई छर्लङ्ग बनाएर बालविवाह र हिंसा अन्त्य गर्ने नारीवाद र पुरुषवादको एक किसिमको ‘वार’ पनि चल्यो ।
तर पछिल्लो समय तिनै शिक्षित छोराछोरीले कानून उल्लंग्घन गरेर रमाइरहेका छन् । अचेलका बालबालिका १२ देखि १४ वर्षको उमेरदेखि नै प्रेममा हुन्छन् । तिनीहरु नै अहिले हिंसाको सिकार भइरहेका छन् ।
नेपालीलाई विदेशी देखासिकीले यसरी तानेको छ कि जसरी फलामलाई चुम्बकले तान्छ । पछिल्लो समय देखासिकीले विशेष गरी सहरी क्षेत्रमा ‘लिभिङ टुगेदर’मा बस्नेहरुको संख्या दिन प्रतिदिन बढ्दो छ । जसमा २० वर्षभन्दा कम उमेरका, एक्लै बसेर पढ्ने अथवा काम गर्नेहरु छन् । कतिपय जोडी भविष्यमा विवाह गर्ने उद्धेश्यले संगै बसिरहेका हुन्छन् । तर, सदैव समय उस्तै हुँदैन ।
यसरी नेपालमा अविवाहित पुरुष र महिला, पति र पत्नीझैं एउटै निवासमा बस्नु कानूनी, सामाजिक र नैतिक दृष्टिकोणबाट समेत उपयुक्त होइन । त्यसैकारण यो सम्बन्ध अमर्यादित र अशोभनीय हो ।
मलाई हिजोका दिनमा कलिलो उमेरमा विवाह गरिदिने बाबुआमादेखि घृणा लाग्थ्यो तर अहिले माया लाग्छ । हिजो त्यो कर्म गलत लाग्थ्यो तर आज यही लिभिङ टुगेदरको चर्तिकलाले सही हो कि जस्तो लाग्न थालेको छ ।
नेपालमा आफ्नो धर्म र परम्पराअनुसार मागी विवाह, भागी विवाह वा गान्धर्व विवाह गरेपछि समाजमा श्रीमान श्रीमती भएर संगै बस्ने परम्परा र मूल्य मान्यता रहेको छ । लिभिङ टुगेदर उमेर, जोश जाँगरसँगै राम्रो र रमाइलो हुन सक्छ । तर कालन्तरमा यो एउटा अभिशाप बन्ने निश्चित छ । सामाजिक सञ्जालले सबैलाई जोड्ने प्रविधि ल्याएको छ । तर यसको दुरुपयोगले लिभिङ टुगेदर जस्ता अमर्यादित सम्बन्धहरु बनाउनमा बढावा दिएको छ ।
मलाई लाग्थ्यो पुण्यको नाममा पूर्खाले पाप गरेर मेरी हजुरआमालाई ७ वर्ष नै हुँदा विवाह गरिदिए । एउटी बालखालाई एउटा मस्त पुरुषसंग विवाह गरेर दिनु वास्तवमै पाप पनि थियो । तर समयको दौडानसंगै मान्छेमा शिक्षा र चेतना पनि बढ्न थाल्यो । स्कुल बने, कलेज बने, ठूला ठूला विश्वविद्यालय बने तर जति जति देशमा विकासले फड्को मार्दै गयो, त्यति त्यति विकृति पनि मौलाउन थालेको छ ।
कक्षा १० पास गरेर सहर पढ्न गएकी छोरी शारिरिक सम्बन्धका लागि कुनै केटासँग बस्नु, तिनीहरुबीच शारीरिक सम्बन्ध हुनु कत्तिको मर्यादित हो ? जसले एउटा उमेरको उमंग त ल्याउला तर कालन्तरमा दुर्घटना नहोला भन्न सकिन्न । लिभिङ टुगेदरको केही उदाहरणले पनि यस्तै दृष्टान्त दिन्छ ।
चार वर्ष अघि काठमाडौंको टोखा–७, धापासी हाइट जाने बाटोमा मृत भेटिएकी महिलाको आफ्नै लिभिङ टुगेदरमा रहेका ‘प्रेमी’ ले हत्या गरेको खुलासा भएको थियो । मतृक गोरखा घर भएकी करिव ३२/३३ वर्षकी पूर्णिमा विक रहेकी थिइन् । त्यस्तै गत पुसमा काठमाडौ, कपनस्थित राधाकृष्ण मन्दिर नजिककै एउटा घरमा लिभिङ टुगेदरमा बसेका दुई जना युवायुवती मृत भेटिए । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार संखुवासभाका २५ वर्षीय अनिस जिमी र खोटाङकी युसुना राई लिभिङ टुगेदरमा बस्दै आएका थिए ।
यसका साथै पढ्न आएकी जुम्लाकी १३ वर्षिय जुना रोका (नाम परिवर्तन) करिब ६ महिनासम्म दिनेश बोहोरासंग लिभिङ टुगेदरमा बसिन् । गएको बैशाखमा लकडाउन सुरु भएपछि घर गएका र आएपछि मन्दिरमा विवाह गर्ने सर्तमा हिँडेका बोहारा अझै फर्किएनन् । बोहोराले आफ्नो घर चितवन बताएका थिए । उक्त ६ महिना अवधिमा उनले विभिन्न हिंसा सहनु परेको सुनाएकी छिन् । बोहोराले गाँजा खाने गरेको तथा गाँजा खान पैसा नहुँदा परपुरुषसंग शारीरिक सम्पर्क गर्न लगाएको पनि उनले सुनाएकी थिइन् । उनी अहिले चटपटे तथा पानीपुरी बेचेर गुजारा गरिरहेकी छिन् ।
मलाई लाग्छ, दिदी बहिनीहरुले हिंसाको बाटा आफै रोजिरहेका छन् । परिवारको मायालाई लात हानेर, आँखा छलेर लिभिङ टुगेदरमा बस्नु पक्कै ठिक होइन । त्यो त जानाजान गरिएको महाभुल हो । यो ब्लग अन्जना सुवेदीले रातोपाटीको लागि लेखिएको हो ।