काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको १९औँ गाउँसभामा अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ)ले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा “हामी बनाउँछौँ हाम्रो खानीखोला” भन्ने मूल नारासहित समुन्नत, समृद्ध र आत्मनिर्भर खानीखोला निर्माण गर्ने लक्ष्य लिइएको उल्लेख गरिएको छ।
नीति तथा कार्यक्रमअनुसार कफी उत्पादनमा अनुदान कार्यक्रमलाई निरन्तरता दिइने, तोरी उत्पादनमा समेत अनुदान व्यवस्था गरिने तथा स्थानीय उत्पादनको बजारीकरणका लागि कृषि हाट बजार र स्थानीय उत्पादन खरिद–बिक्री केन्द्रलाई थप प्रभावकारी बनाइनेछ। खुवा उत्पादनको औद्योगिकीकरण र दुग्धजन्य उद्योग स्थापना गर्न समेत पहल गरिने जनाइएको छ।


गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि ‘जाऔँ डाँडागाउँ पेङ दोजे पार्क’ अभियानलाई अघि बढाउने, होमस्टे सञ्चालनलाई प्रोत्साहन गर्ने तथा स्थानीय भाषा, संस्कृति र पर्वहरूको संरक्षण तथा संवर्द्धनमा जोड दिने नीति लिएको छ।
शिक्षा क्षेत्रमा माध्यमिक विद्यालयलाई आवासीय बनाउने, अंग्रेजी माध्यमबाट अध्ययनको विकल्प खुला गर्ने, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गर्ने तथा अनाथ तथा असहाय बालबालिकाका लागि निःशुल्क आवासीय शिक्षालाई निरन्तरता दिने व्यवस्था गरिएको छ।
स्वास्थ्यतर्फ गर्भवती महिला, ज्येष्ठ नागरिक र दीर्घरोगीका लागि घुम्ती स्वास्थ्य परीक्षण कार्यक्रमलाई निरन्तरता दिइने, निःशुल्क एम्बुलेन्स सेवा विस्तार गरिने तथा गाउँपालिकाको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई प्रोत्साहनस्वरूप दुई हजार रुपैयाँ उपलब्ध गराइने नीति लिइएको छ।
पूर्वाधार विकासअन्तर्गत खोपासी–तालढुंगा सडक स्तरोन्नति, खानीखोला करिडोर विस्तार, विभिन्न पुल निर्माण तथा “एक घर, एक धारा” अभियानलाई निरन्तरता दिँदै स्वच्छ खानेपानीको पहुँच विस्तार गरिने उल्लेख गरिएको छ।
गाउँपालिकाले वन, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा सुशासनलाई समेत प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम कार्यान्वयनमार्फत जनमुखी सेवा प्रवाह र समग्र विकासलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
(पुर्णपाठ)
नीति, कार्यक्रम तथा बजेट २०८३-०८४










