काभ्रे । नेपाली कम्युनिष्ट पार्टी चौरीदेउराली गाउँपालिका समितिको आयोजनामा राष्ट्रिय जागरण अभियान–२०८३ अन्तर्गत पालिकास्तरीय उद्घाटन सभा मंसिर ६ गते देउराली बजारमा सम्पन्न भएको छ। सभामा ३०० भन्दा बढी पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य रत्न ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा पार्टी केन्द्रीय सदस्य तथा राष्ट्रिय जागरण अभियानका चौरीदेउराली संयोजक मुकुन्द गौतम, केन्द्रीय सदस्यहरू दिननाथ गौतम, रेणुका चौलागाईं, दीपक गौतम, पासाङ डोल्मा लामा, यशु लामा, राजीव लामा तथा प्रदेश समिति सदस्यहरूको आतिथ्यता रहेको थियो।


सभामा सहभागी वक्ताहरूले राष्ट्रिय जागरण अभियानको लक्ष्य, उद्देश्य र कार्यदिशाबारे धारणा राखेका थिए। पार्टीको केन्द्रीय नीतिअनुसार देशव्यापी रूपमा सञ्चालन गरिएको अभियानलाई जिल्लाभर विस्तार गर्दै संगठन सुदृढीकरण, जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापना, स्थानीय समस्या पहिचान तथा समाधानका लागि पहल गर्ने विषयमा छलफल भएको थियो।
अभियानलाई आगामी स्थानीय तहको निर्वाचनको तयारीसँग समेत जोडेर अघि बढाइने बताइएको छ। मंसिर २५ गतेसम्म सञ्चालन हुने पालिकास्तरीय अभियानमार्फत जनताका दैनिक समस्या तथा जनजीविकासँग सम्बन्धित सवाललाई स्थानीय सरकारसँग जोडेर समाधानका लागि ठोस पहल गरिने जनाइएको छ।
अभियानका क्रममा स्थानीय तहमा देखिएका विकास निर्माणका आवश्यकता, सेवा प्रवाहमा रहेका कठिनाइ तथा नागरिकका गुनासाहरू प्रत्यक्ष रूपमा संकलन गरी सम्बन्धित निकायसम्म पुर्याइने पार्टीका एक नेताले जानकारी दिए।
उनका अनुसार राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार, सुशासन र जनजीविकाका विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पनि अभियानको महत्वपूर्ण उद्देश्य रहेको छ।
कार्यक्रम पालिका इन्चार्ज तेज पन्तको सभापतित्व र पालिका संयोजक हरि खड्काको सञ्चालनमा सम्पन्न भएको थियो। पालिका इन्चार्ज पन्तका अनुसार मंसिर २५ गतेसम्म पालिकाभित्रका आन्तरिक कार्यक्रम सम्पन्न गरी मंसिर २६ गते सभा आयोजना गरेर अभियानको समापन गरिनेछ।
यसैबीच, देशव्यापी रूपमा एकसाथ सञ्चालन भइरहेको राष्ट्रिय जागरण अभियान काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै स्थानीय तहमा छुट्टाछुट्टै टोली गठन गरी सञ्चालन भइरहेको जिल्ला संयोजक भोला अर्यालले जानकारी दिएका छन्।









