खानीखोला। नेपाली कम्युनिस्ट पार्टी खानीखोला गाउँपालिका समितिको आयोजनामा राष्ट्रिय जागरण अभियान–२०८३ अन्तर्गत गाउँपालिका कार्यसंगठन समितिको बैठक आज तालढुङ्गामा सम्पन्न भएको छ।
नेकपाका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज टोकबहादुर वाईबाको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा पार्टी संगठन सुदृढीकरण, आपसी एकता, जनतासँगको सम्बन्ध विस्तार तथा आगामी राजनीतिक र सांगठनिक कार्ययोजनाका विषयमा विस्तृत छलफल गरिएको थियो।


बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि वाईबाले राष्ट्रिय जागरण अभियान पार्टी संगठनलाई जनस्तरसम्म मजबुत बनाउने, नेता तथा कार्यकर्ताबीच एकता र सहकार्य अभिवृद्धि गर्ने तथा जनताका वास्तविक समस्या र आवाजलाई नजिकबाट बुझ्ने महत्वपूर्ण अभियान भएको बताउनुभयो।
उहाँले पार्टीका नेता तथा कार्यकर्ताहरू जनतासँग प्रत्यक्ष जोडिएर उनीहरूको सुखदुःखमा साथ दिनुपर्नेमा जोड दिँदै अभियानलाई प्रभावकारी रूपमा गाउँटोल र वडास्तरसम्म विस्तार गर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा संविधानसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य अकलबहादुर थिङ, नेकपाका केन्द्रीय सदस्य तथा खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ), बागमती प्रदेश कमिटी सदस्य तथा जिल्ला सहसंयोजक दैवलाल घिसिङ (अनुशील), प्रदेश कमिटी सदस्य मिना पाख्रिन, प्रदेश कमिटी सदस्य तथा खानीखोला गाउँ कमिटी अध्यक्ष खड्कबहादुर जिम्बा (अबिरल) लगायत केन्द्रीय, प्रदेश, जिल्ला, पालिका तथा वडा तहका नेता–कार्यकर्ता र विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
बैठकमा सहभागी नेताहरूले राष्ट्रिय जागरण अभियानको उद्देश्य, वर्तमान राजनीतिक परिस्थिति, पार्टीको भूमिका, संगठन विस्तार तथा जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा आ–आफ्ना धारणा राखेका थिए।
बैठकले पार्टीभित्र एकता, अनुशासन र सक्रियता अभिवृद्धि गर्दै जनताको विश्वास जित्ने उद्देश्यसहित संगठनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।









