काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दबारेका कागजात ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।
समितिले यस विषयमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया, ऊर्जा मन्त्रालयका अधिकारीलगायतसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो ।


समिति सभापति भरतबहादुर खड्काले भने, ‘७ दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देश गर्दछु ।’
कागजात प्राप्त भएपछि अध्ययन गरी थप छलफल अघि बढाइने सभापति खड्काले बताएका छन् ।
टेन्डरका सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम समयमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरिएको र यो प्रक्रियासंगत रूपमा त्रुटिपूर्ण रहेको भनेर प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा उजुरी परेको छ ।
उजुरी प्राप्त भएपछि समितिले आजको बैठकमा छलफल थालेको हो । छलफलमा जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक दिनेश रजौरिया लगायत उपस्थित छन् । रजौरियाले ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय कानुनसम्मत रहेको दाबी गरेका छन् ।
बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका केही क्षेत्रमा गरी करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने र २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसमेत रहेको आयोजनाको १३.३ किलोमिटर लामो सुरुङको ब्रेक थ्रु २०८१ बैशाख २६ गते भए पनि त्यसपछि काम अघि बढेको छैन ।









