
महाभारत, काभ्रे । जिल्लाको महाभारत गाउँपालिकामा बन्दुक पड्किदा एक जनाको मृत्यु भएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बन्दुक पड्कीएर महाभारत–२ स्थित् मुलडाँडाको राम बहादुर गोलेको मृत्यु भएको जानकारी दिए ।
डिएसपी खतिवडाले घटना के कारण भएको भन्ने यकिन भइनसकेको बताए । घटनाको विस्तृत रुपमा अनुसन्धानको लागि प्रहरीको टोली घटना स्थलतर्फ खटिएको बताए । उनले भने, ‘बन्दुक पड्केर गोलेको मृत्यु भएको पुष्टि भएपनि कसरी घटना घट्यो भन्नेबारे यकिन विवरण आउन बाँकी छ ।’


स्थानीयका अनुसार मृतक गोलेले आफैमाथि बन्दुक पड्काउँदा उनको घट्नास्थलमै मृत्यु भएको हो । उनी स्थायी बसोबास चिसोपानीटार भएपनि गोले केही वर्षदेखि मुलडाँडा फेदीमा बस्दै आएका थिए ।
आर्थिक अवस्था अत्यन्तै नाजुक भएको कारणले डिप्रेसनमा गई आत्माहत्या गरेको हुने सक्ने अनुमान समेत गरेका छन् । त्यस्तै स्थानीयले बताएनुसार केही वर्ष अघि उनका ठुला बुबाले पनि आफैँले आफैँलाई गोली हानेर आत्महत्या गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुसन्धानको लागि घटना स्थलतर्फ प्रहरी टोली खटाइसकेको र साँझसम्म वास्तविकता पत्ता लाग्ने जनाइएको छ ।