
काठमाडौँ । फागुन एक गतेदेखि दूधको मूल्यमा प्रतिलिटर १० रुपैयाँका दरले वृद्धि गर्ने भएका छन् । राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँको दरले बढाउन सिफारिस गरेको भन्दै कास्कीका किसानले दूध तथा दुग्धजन्य पदार्थको मूल्य बढाउने भएका हुन् ।
यसअघि उपभोक्ताले खरिद गर्दै आएको मूल्यमा प्रतिलिटर ६ रुपैयाँका दरले मूल्य बढाउने निर्णय १८ माघमा बोर्डले गरेको थियो । किसानहरूले व्यावसायिक उत्पादन लागतको मूल्यमा वृद्धि भएकाले दूधको मूल्य बढाउनुपरेको बताएका छन् ।


अब फागुनदेखि उपभोक्ताले भैँसीको दूध प्रतिलिटर एक सय ३० रुपैयाँ, गाईको दूध प्रतिलिटर एक सय रुपैयाँ, दही प्रतिलिटर एक सय ४० रुपैयाँ, पनिर प्रतिकेजी आठ सय रुपैयाँ, घ्यु प्रतिलिटर १२ सय रुपैयाँ र नौनी प्रतिकिलो एक हजारमा खरिद गर्नुपर्ने छ ।
राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादन कृषक समाज नेपाल, कास्कीका अध्यक्ष दीपक तिमिल्सिनाका अनुसार किसानको व्यावसायिक उत्पादनमा पर्न गएको लागत मूल्य वृद्धिका कारण दूधको मूल्य समायोजन गर्नुपरेको हो ।
दाना, चोकरलगायत पशु आहारमा अत्यधिक मूल्य बढेका कारण सबै किसानलाई व्यवसाय सञ्चालनमा समस्या भएपछि मूल्य बढाउनैपर्ने अवस्था रहेको उनको भनाइ छ ।