काठमाडौं । नेपाल तामाङ घेदुङको नवौं संघीय महाधिवेशन यही फागुन २९, ३० र चैत १ गते काठमाडौंमा हुने भएको छ । घेदुङको उपाध्यक्ष कुमार घिसिङले सोमबार बसेको सचिवालय बैठकले महाधिवेशनको मिति तोकेको जानकारी दिए ।
घिसिङका अनुसार महाधिवेशन धुम्बाराहीस्थित एक बैंक्वेटमा हुनेछ । ३ वर्षअघि नै हुनुपर्ने महाधिवेशन कोरोना महामारीका कारण पटक पटक स्थगित हुँदै आएको थियो ।
महाधिवेशनमा स्थानीय तह, प्रदेश समिति, जिल्ला समन्वय समिति, प्रवास समिति र संघीय समितिका गरी करिब ७ सय जना प्रतिनिधि सहभागी हुने छन् ।
विधान संशोधन, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि सातै प्रदेशमा गएर छलफल गरी सुझाव संकलन गरिसकेकाले महाधिवेशनले त्यसलाई अन्तिम रुप दिँदै पारित गर्ने र महाधिवेशनको बन्द सत्रले नयाँ नेतृत्व चयन गर्ने जानकारी घिसिङले दिए ।