
काठमाडौँ । बागमती प्रदेशमा फागुन २८ गतेदेखि प्रथम प्रदेश खेलकुद प्रतियोगिता हुने भएको छ । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश खेलकुद विकास परिषद्ले पहिलो पटक प्रदेशभरका खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको हो ।
खेलको उद्घाटन २८ गते मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले हेटौंडामा गर्नेछन् भने चैत १२ गते प्रतियोगिता समापन काभ्रेको धुलिखेलमा हुने जनाइएको छ ।


प्रदेशका पाँचवटा जिल्लामा नौवटा प्रतियोगिता आयोजना हुनेछन् । जसमा चैतको १२ गतेसम्म हुने प्रतियोगितामा पुरुष फुलबल, ब्याडमिन्टन, क्रिकेट, तेक्वान्दो, भलिबल, कराते, एथलेटिक्स, महिला फुटबल र बक्सिङ प्रतियोगिता हुनेछ ।
युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले नयाँ मन्त्रालय भएकाले खेलकुदको कार्यविधि तयार पारी प्रतियोगिता गरिन लागेको बताए । उनका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागी खेलाडीको प्रतिव्यक्ति ३० लाख रुपैयाँको बिमा गरिनुका साथै खेलाडीलाई दैनिक दुई हजार रुपैयाँ भत्ता समेत प्रदान गरिने उनको भनाइ छ ।
उनले फागुन २९ गतेदेखि मकवानपुरमा पुरुष फुटबल प्रतियोगिता र चैत ५ गतेबाट मकवानपुरमा तेक्वान्दो प्रतियोगिताको आयोजना गरिने बताए । त्यसैगरी चितवनमा फागुन ३० गतेदेखि भलिबल र क्रिकेट प्रतियोगिता हुनेछ भने चैतको ७ गतेबाट सिन्धुपाल्चोकमा कराते प्रतियोगिता हुनेछ ।
काठमाडौंमा चैतको ६ गतेबाट एथलेटिक्स, काभ्रेमा चैत ७ गतेबाट महिला फुटबल र ९ गतेबाट बक्सिङ प्रतियोगिता आयोजना हुनेछ ।
करिव ८ करोड ४ लाख खर्चिएर आयोजना गर्न लागिएको प्रतियोगितामा दुई हजारभन्दा बढी खेलाडीले सहभागिता जनाउने अपेक्षा गरिएको छ ।