रुससँग तेस्रो चरणको वार्ता गर्न युक्रेनी टोली बेलारुस आइपुगेको बेलारुसका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । शान्ति स्थापना गर्न कुनै प्रगति हासिल नगरी यसअघि गरिएका दुई चरणका वार्ता टुङ्गिएका थिए । युक्रेनी नागरिकहरूलाई सैन्य कारबाहीबाट जोगिन अन्यत्र जान दिन निकास मार्ग प्रदान गर्ने विषयमा वार्ता केन्द्रित हुने बुझिएको छ।
रुसले युक्रेनका दक्षिणी र पूर्वी भाग सहरहरूमा गोलाबारी जारी राखेको छ। शनिवार त्यस्तो मार्ग स्थापित गर्ने विषयमा भएका प्रयासहरू युद्धविराम हुन नसक्दा विफल भएका थिए। आइतवार राति रुसले गरेको अर्को प्रस्ताव युक्रेनले अस्वीकार गरेको छ। रुसले युक्रेनीहरूलाई किएभबाट जाने मानिसलाई बेलारुसतिर र खार्किभबाट जाने मानिसलाई रुसतिरको बाटो पठाउन खोजेको स्पष्ट भएपछि युक्रेनले उक्त प्रस्तावलाई अनैतिक भनेको छ।
यदि युक्रेनले रुसका सर्तहरू माने कुनै बेला पनिू जारी सैन्य कारबाही बन्द गर्न सक्ने रुसले बताएको छ। क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार त्यसका लागि युक्रेनले क्राइमियालाई रुसी भूभाग तथा डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्य मान्नुपर्छ। त्यसबाहेक युक्रेनले आफ्नो संविधान संशोधन गरेर कुनै गठबन्धन जस्तै नेटोमा प्रवेश नगर्ने निश्चित गर्नुपर्ने उनको भनाइ छ।
त्यसो भयो भने रुसले युक्रेनमा असैनिकीकरण गर्नेछ र रुसी सैन्य कारबाही जुनसुकै बेला पनि रोकिन सक्छ। उनले रुसले युक्रेनको थप भूभागमा आफूले दाबी गर्न नखोजेको कुरामा जोड दिए। रुसले सन् २०१४ को मार्चमा क्राइमिया गाभेको थियो अनि केही सातापछि पूर्वी युक्रेनका डोनेट्स्क र लुहान्स्क क्षेत्रमा रुसलाई समर्थन गर्ने पृथक्तावादी समूहहरूलाई समर्थन गरेको थियो। रुसले आक्रमण गरेको बाह्रौँ दिनसम्म युक्रेनबाट १७ लाख मानिस अन्यत्र गइसकेका छन्।