काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा कसैले नपत्याउने गोरु ब्याएको टिप्पणी गरेका छन् । अहिले सर्वोच्च अदालतमा गोरु ब्याएको मात्रै नभइ ५ वटा बाच्छा समेत जन्माएको टिप्पणी गरे ।
बिहीबार पोखरामा प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले संविधान बाहिर गएर प्रगतिशील सरकारलाई सर्वोच्चले ढाल्ने काम गरेको आरोप लगाए ।
उनले भने, ‘नेपालमा एकपल्ट एक जनाले भनेका थिए–गोरु ब्याउँदैन भन्थे नेपालको सर्वोच्च अदालतमा ब्यायो । एक जनाले उहिल्यै ०५२ सालमा भनेका थिए । अहिले गोरु ब्याएन मात्रै होइन ५ वटा बाच्छा पायो ।’
उनले आफूहरुले परमादेशको समर्थन गर्न नसक्ने पनि बताए । ‘जनादेशको माखौल उडाइएको छ । जनतामा रहेको सार्वभौमसत्ताको मजाक उडाएको छ । सेटिङमा सब काम भइरहेको छ।’ उनले भने, ‘यी कुरा लोकतन्त्रको पक्षमा होइन । एक जना न्यायाधीशको अभिव्यक्तिमा होइन । एउटा इमेल आउँछ, अमेरिकाबाटै इमेल आउँछ, केपी ओलीको सरकार ढाल्नु नै थियो । न्यायाधीशको के बिगारिदिएको थियो त्यो सरकारले रु होइन त्यहाँनेर वर्गी पूर्वाग्रह, दुराग्रह र विकास विरोधी षड्यन्त्र भएको थियो भन्ने कुरा त्यस इमेलले बताउँछ ।’