
यु.ए.ई. : तामाङ समाज युएई, अबुधाबी क्षेत्रीय समितिद्वारा आयोजित सोनाम ल्होछार २८६१ डुल (स पुख्री) (सर्प बर्ग) ल्हो सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । अबुधाबीको इन्डियन ईस्लामिक सेन्टरमा आयोजित ल्होछार कार्यक्रमले तामाङ समुदायको संस्कृति, परम्परा र एकता प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको छ ।


कार्यक्रममा युएईका विभिन्न क्षेत्रबाट तामाङ समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो । सांस्कृतिक प्रस्तुति, परम्परागत नृत्य, संगीत र तामाङ संस्कृतिसँग सम्बन्धित विविध प्रस्तुतीहरूले कार्यक्रममा उल्लास थपे। प्रमुख अतिथि तथा विशिष्ट पाहुनाहरूले तामाङ समुदायको योगदानको प्रशंसा गर्दै आपसी सद्भाव र एकताको सन्देश दिएका थिए ।
सोनाम ल्होछार तामाङ समुदायको नयाँ वर्षको उत्सव हो, जसलाई विशेष रूपमा परम्परागत रीतिरिवाज र धार्मिक आस्थासँग जोडेर मनाइन्छ। कार्यक्रमका वक्ताहरूले तामाङ संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनको महत्त्वमाथि जोड दिएका थिए ।
तामाङ समाज युएईका अध्यक्ष, क्षेत्रीय समितिका पदाधिकारी र स्वयंसेवकहरूको सक्रियतामा आयोजना गरिएको यस कार्यक्रमले सहभागीहरूबीच उत्साह र आपसी समझदारी बढाएको थियो । कार्यक्रमको सफल आयोजनले तामाङ समुदायलाई आफ्नो मौलिकता र पहिचानप्रति गर्व गर्न प्रेरित गरेको छ।
यस अवसरमा, तामाङ परिकारहरूको विशेष स्वाद, परम्परागत पोशाक र लामा गुरुहरूको धार्मिक अनुष्ठानले सबैलाई सांस्कृतिक मूल्यमाथि पुन: स्मरण गराएको थियो । कार्यक्रममा सहभागी सबैले यो कार्यक्रमलाई ऐतिहासिक र सम्झनलायक मानेका छन् ।
संस्कृतिक कार्यक्रममा तामाङ समाज यूएई अबुधाबी क्षेत्रीय समितीका उपाध्यक्ष श्याम तामङ, तामाङ समाज यूएईका संस्थापक कोषाध्याक्ष, पुर्बअध्यक्ष तथा प्रमुख संरक्षक नेपाली समाजका अध्यक्ष राम मोक्तान, तामाङ समाज यूएईका अध्यक्ष भिम दोङ्, तामाङ समाज यूएईका सल्लाहकार सम्भु वाईवा, तामाङ समाज यूएई अबुधाबी क्षेत्रीय समितीका अध्यक्ष लवाङ दोर्जे लगायत बिभिन्न बैचारिक तथा सामाजिक संथाका ब्यक्तिहरुको उपस्थिती रहेको थियो भने कार्यक्रम श्याम तामाङको संयोजकत्वमा सम्पन्न भएको थियो ।