काठमाडौं । गायन रियालिटी शो नेपाल आइडल सिजन–४ को उपाधि भूपेन्द्र थापा मगरले जितेका छन् । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै भैरहवाका मगरले उपाधि हात पारेका हुन् ।
विजेता भूपेन्द्रले ट्रफीसँगै ३० लाख रुपैयाँ नगद प्राप्त गरे । त्यस्तै झापाका नामगेल तामाङ फस्ट रनरअप र रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भएका छन् । उनीहरुले क्रमशः ५ लाख र ३ लाख रुपैयाँ प्राप्त गरेको छ ।
झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल पनि फाइनलमा प्रवेश गरेका थिए । उनीहरुलाई गिटार र १० लाख बराबरको बीमा प्रदान गरियो ।
यस सिजनमा संगीतकार शम्भुजीत बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान निर्णायको रुपमा थिए । एपीवान टेलिभिजनमा नेपाल आइडलको श्रृंखला प्रसारण हुँदै आएको छ ।