काठमाडौं । श्रीमान्–श्रीमतीबीच झगडा हुँदा प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नो छोराको हत्या गरेको खुलेको छ । छोराको हत्या आरोपमा आइतबार (मंसिर २१) साँझ करिब ६ बजे उनलाई पक्राउ गरिएको छ ।
असई कार्की र उनकी श्रीमतीबीच चारमहिने छोराको उपचारका विषयमा झगडा भएको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवन भट्टराईले जानकारी दिए ।


“आइतबार ४ बजे छोराको उपचारको विषयमा श्रीमान्–श्रीमतीबीच झगडा भएको रहेछ । श्रीमतीमाथि कुटपिट गरी चारमहिने छोराको घाँटी रेटेर हत्या गरेको खुलेको छ,” एसपी भट्टराईले भने ।
असई कार्की त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए । उनकी श्रीमती पनि नेपाल प्रहरीकै जवान हुन् । कार्की परिवार सिनामंगलमा बस्दै आएको थियो ।
श्रीमतीमाथि कुटपिट र छोराको हत्यापश्चात् कार्की कोठाबाट भागेका थिए । “४ बजेतिर घटना घटाएर श्रीमान् फरार भएका थिए । ६ बजे उनलाई पक्राउ गरेका हौँ,” एसपी भट्टराईले भने ।
कार्कीलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट घाइते भएकी उनकी श्रीमतीलाई प्रहरीले उद्धार गरी महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा पुर्याइएको थियो ।
“प्रहरी कार्की बसेको कोठामा पुग्दा बच्चाको मृत्यु भइसकेको थियो । कार्की फरार थिए । सुरुमा श्रीमतीलाई उद्धार गरेर प्रहरीकै अस्पताल पुर्यायौँ । त्यसपछि भाग्दै गरेको अवस्थामा श्रीमान्लाई थानकोटबाट पक्राउ गर्यौँ,” एसपी भट्टराईले भने ।










