काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिका वडा नम्बर–३ जुरेमा दोस्रो पटक नि:शुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। ग्रामीण क्षेत्रका नागरिकहरूलाई सहज र सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त शिविरबाट ७२ जना स्थानीय बासिन्दाहरू लाभान्वित भएका छन्।
रेयुकाई ईको मासुनागा आँखा अस्पताल, बनेपाबाट खटिएका अनुभवी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले शिविर सञ्चालन गर्दै आँखा परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरेको हो। शिविरमा सहभागी सेवाग्राहीहरूको आँखाको विस्तृत जाँच गरिएको थियो।


वडा नम्बर–३ का अध्यक्ष सागर जिम्बाका अनुसार शिविरमा परीक्षण गरिएका मध्ये २ जनामा मोतीबिन्दु (क्याटार्याक्ट) को समस्या देखिएको छ। उहाँले गत वर्ष पनि यही वडामा सम्पन्न भएको नि:शुल्क आँखा शिविरमार्फत २६ जनाको मोतीबिन्दु शल्यक्रिया रेयुकाई ईको मासुनागा आँखा अस्पतालमा सफलतापूर्वक सम्पन्न गरिएको जानकारी दिनुभयो।
शिविरमा खानीखोला गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्बा तथा वडा नम्बर–३ का अध्यक्ष सागर जिम्बाको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरूले ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै यस्ता नि:शुल्क स्वास्थ्य शिविरहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
आयोजक पक्षले आर्थिक अवस्था तथा भौगोलिक कठिनाइका कारण नियमित स्वास्थ्य जाँच गर्न नसक्ने नागरिकहरूलाई लक्षित गरी शिविर सञ्चालन गरिएको बताएको छ। यस्ता कार्यक्रमहरूले समयमै रोग पहिचान तथा उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
शिविरबाट लाभान्वित स्थानीय बासिन्दाहरूले नि:शुल्क आँखा जाँच तथा उपचार सेवा पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता शिविरहरू नियमित रूपमा सञ्चालन गर्न माग गरेका छन्। स्थानीय तहको समन्वय र सहकार्यमा सम्पन्न यस्ता स्वास्थ्य कार्यक्रमहरूले ग्रामीण समुदायको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।










