काठमाडौं । अमेरिकी वाणिज्य मन्त्री हावर्ड लुट्निकले भारत र अमेरिकाबीचको व्यापार सम्झौता प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन नगरेका कारण हुन नसकेको दाबी गरेपछि भारतले खण्डन गरेको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले आफ्नो साप्ताहिक प्रेस ब्रिफिङमा भने, “दुवै पक्षले सन्तुलित र पारस्परिक रूपमा फाइदाजनक व्यापार सम्झौतामा पुग्नका लागि कैयौँ चरणमा कुराकानी गरेका छन् । धेरै पटक सम्झौताको निकै नजिक पनि पुगेका थिए ।”


जायसवालले भारत अझै पनि दुवै अर्थतन्त्रका लागि पारस्परिक रूपमा लाभदायक व्यापार सम्झौतामा पुग्न इच्छुक रहेको र यसलाई तार्किक निष्कर्षमा पुर्याउन उत्सुक रहेको बताए ।
उनले सन् २०२५ मा प्रधानमन्त्री मोदी र राष्ट्रपति ट्रम्पबीच आठपटक फोनमा कुराकानी भएको जानकारी दिए । त्यस क्रममा विभिन्न पक्षहरूमा छलफल भएको उनको भनाइ छ । द टाइम्स अफ इन्डिया










