युएई / समाज युएई, अबुधाबीको आयोजनामा ल्होछार विशेष सांस्कृतिक कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। प्रत्येक वर्षझैं यस वर्ष पनि तामाङ समुदायको मौलिक पहिचान, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको थियो। युएईमा बसोबास गर्ने तामाङ समुदाय मात्र होइन, अन्य नेपाली समुदायका व्यक्तिहरूको पनि उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अझै आकर्षक र ऐतिहासिक बनाएको थियो ।


कार्यक्रमको सुरुवात परम्परागत लामा गुरुहरुबाट तामाङ संस्कृतिअनुसार पूजा–अर्चना तथा ल्होछारको शुभकामना आदान–प्रदानसँगै गरिएको थियो ।
सांस्कृतिक कार्यक्रममा तामाङ समुदायका कलाकारहरूले डम्फु सेलो, नृत्य, तामाङ सेलो, गीत–संगीत तथा नृत्य प्रस्तुत गरेका थिए। ती प्रस्तुतिहरूले दर्शकहरूलाई मनोरञ्जन मात्र होइन, तामाङ संस्कृतिको गहिरो परिचय पनि गराएको थियो। विशेषगरी युवा पुस्ताको सक्रिय सहभागिताले आफ्नो संस्कृति प्रतिको चेतना र जिम्मेवारी झल्काएको थियो ।

कार्यक्रममा समाजका पदाधिकारीहरूले ल्होछारको ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्वबारे प्रकाश पारेका थिए। उनीहरूले विदेशमा रहेर पनि आफ्नो भाषा, संस्कृति र पहिचान जोगाइराख्नु सबैको कर्तव्य भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले समुदायलाई एकताबद्ध बनाउने बताए। साथै, युएईमा रहेका तामाङ समाजले सामाजिक सद्भाव, आपसी सहयोग र सांस्कृतिक संरक्षणमा पुर्याउँदै आएको योगदानको प्रशंसा पनि गरिएको थियो ।
विशिष्ट अतिथिहरू, समाजसेवी, बुद्धिजीवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थितिले कार्यक्रमको गरिमा थप उचाइमा पुगेको थियो। अतिथिहरूले तामाङ समाज युएई, अबुधाबीको सक्रियता र संगठित प्रयासको खुलेर प्रशंसा गर्दै भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तरता दिनुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी, कलाकार, स्वयंसेवक, प्रायोजक तथा दर्शकप्रति आयोजक संस्थाले धन्यवाद ज्ञापन गरेको थियो ।
तामाङ समाज युएई, अबुधाबीको ल्होछार विशेष सांस्कृतिक कार्यक्रमले विदेशमा रहेर पनि आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचान जोगाउन सकिन्छ भन्ने सन्देश दिएको छ। यस्ता कार्यक्रमहरूले नयाँ पुस्तालाई आफ्नो संस्कृति प्रतिको गर्व र जिम्मेवारी सिकाउँदै समुदायलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ।










