काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उच्चस्तरीय भेटवार्ताका लागि संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् ।
इजरायली सरकारद्वारा जारी विज्ञप्तिअनुसार नेतान्याहुले राष्ट्रपति ट्रम्पको निमन्त्रणामा वासिङ्टन भ्रमणमा गएका हुन् । भेटवार्ताका क्रममा इजरायल र अमेरिकाबिच साझा चासोका विषय, क्षेत्रीय सुरक्षा अवस्था तथा द्विपक्षीय सहकार्यबारे छलफल हुने जनाइएको छ ।


प्रस्थानअघि आइतबार नेतान्याहुले आफू संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन यस वर्ष न्युयोर्क जाने योजना यथावत् रहेको बताएका छन् ।
यो भ्रमण न्युयोर्क सिटीका मेयर जोहरान मामदानीले नेतान्याहुलाई युद्ध अपराधीको संज्ञा दिँदै उनी अमेरिका आए अन्तर्राष्ट्रिय फौजदारी अदालतको पक्राउ पुर्जी कार्यान्वयन गर्न सङ्घीय सरकारसँग आग्रह गरेपछि भइरहेको हो।
गत साता मामदानीले नेतान्याहुविरूद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गरेको पक्राउ पुर्जी कार्यान्वयन हुनुपर्ने धारणा सार्वजनिक गरेका थिए । यद्यपि अमेरिकी राष्ट्रपति ट्रम्पले नेतान्याहु अमेरिका भ्रमणका क्रममा पक्राउ नपर्ने स्पष्ट पारिसकेका छन्।
अन्तर्राष्ट्रिय फौजदारी अदालतले नोभेम्बर २०२४ मा गाजामा युद्ध अपराध गरेको आरोपमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र तत्कालीन इजरायली रक्षा मन्त्री योआभ गालान्टविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । इजरायलले भने ती आरोपहरू निराधार भएको बताउँदै आएको छ।










