काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा विकास खर्च दुई प्रतिशत पनि पुग्न सकेन ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन र भदौमा कुल पूँजीगत खर्च लक्ष्यको १.७८ प्रतिशतमात्र भएको छ । यस आवमा सरकारले कुल ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ बराबर विकास बजेट खर्च गर्ने लक्ष्य राखेको छ । भदौ मसान्तसम्म विकास खर्च ७ अर्ब ६६ करोड ४८ लाखमात्र भएको छ ।

त्यसो त सरकारी निकायहरू पहिलो त्रैमासिक अवधिलाई आयोजना/कार्यक्रम पूर्वतयारीको समय मान्छन् । तर, खर्चले तीव्रता पाओस् भनेर आव सुरु हुनु ४५ दिन अगाडि अर्थात् १५ जेठमा बजेट सार्वजनिक गर्ने प्रावधान संविधानमा राखिएको हो ।

व्यवहारमा भने बजेट खर्च गर्ने निकायले भदौपछि मात्र धमाधम ठेक्का निकालिरहेका छन् । त्यसमाथि भदौ सुरुवातदेखि नै विद्युतीय खरिद प्रणालीमा आएको समस्याले अहिले नयाँ ठेक्का झन्झटिलो बनिरहेको छ ।

महालेखा तथ्यांक अनुसार भदौसम्म चालु खर्च भने लक्ष्यको ९.६ प्रतिशत पुगेको छ । यस आवमा कुल १२ खर्ब ७० अर्ब ५८ करोड चालु खर्च लक्ष्य छ । भदौसम्म १ खर्ब २२ अर्ब ३ करोड बराबर चालु प्रकृतिको खर्च भइसकेको छ ।

यसबीच खर्चमा सबैभन्दा बढी प्रगति ऋण तिर्न भएको छ । दुई महिनामा सार्वजनिक ऋणको साँवा भुक्तानी तथा सार्वजनिक संस्थानमा सरकारले गर्ने लगानी अन्तर्गत पर्ने खर्च शीर्षक वित्तीय व्यवस्थामा १६.५९ प्रतिशत प्रगति छ ।

वित्तीय व्यवस्थामा यस वर्ष कुल ४ खर्ब २२ अर्ब खर्च गर्ने लक्ष्य रहेकोमा भदौसम्म ७० अर्ब १३ करोड खर्च भइसकेको छ ।

महालेखाका अनुसार भदौसम्म कुल बजेट खर्च १ खर्ब ९९ अर्ब ८३ करोड बराबर भएको छ । जुन वार्षिक लक्ष्यको ९.४१ प्रतिशत बराबर हो । यस वर्ष सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।

सरकारको आम्दानी र खर्च तुलना गर्दा दोस्रो महिनामै सरकारको खाता घाटामा पुगेको छ । दोस्रो महिना १ खर्ब ९० अर्ब १० करोड आम्दानी भएको छ । जुन राजस्व, अनुदान र अन्य आम्दानी सहितको जोड हो ।

भदौसम्म कुल राजस्व संकलन लक्ष्यको ११.५९ प्रतिशत बराबर भएको छ । जुन १ खर्ब ८३ अर्ब २० करोड हुन आउँछ । यस वर्ष सरकारले १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन लक्ष्य राखेको छ ।

भदौसम्म वैदेशिक अनुदान ५ अर्ब ५३ करोड आएको छ । जुन लक्ष्यको ८.९६ प्रतिशतमात्र हो । दुई महिनाको खर्च र आम्दानीबीच ९ अर्बमाथिको खाडल छ । यसको परिपूर्तिका लागि सरकारले सार्वजनिक ऋण परिचालन गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय