काठमाडौं । तामाङ समुदायको इतिहास, दर्शन, धर्म, संस्कृति तथा परम्परालाई समेटेर काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८, कोल्जे ल्होङ्सालमा जन्मिएका लेखक फुर्साङ तामाङ मोक्तानद्वारा लिखित ‘बोनधर्म र तामाङ जाति’ पुस्तक सोमबार काठमाडौंमा एक समारोहबीच विमोचन गरिएको छ।
प्रतिनिधिसभा सदस्य एवं नेपाल तामाङ घेदुङका पूर्वअध्यक्ष परशुराम तामाङको प्रमुख आतिथ्यतामा चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको सभाहालमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो।


कार्यक्रममा पूर्वमन्त्री एवं संविधानसभा सदस्य सूर्यमान दोङ ‘लालध्वज’ तथा स्वयम्भूस्थित रातो बोन गुम्बाका सञ्चालक बोन लामा गुरु गेसे छिरिङ लामा विशेष अतिथिका रूपमा उपस्थित थिए।
लेखकका अनुसार पुस्तकमा तामाङ जातिको ऐतिहासिक पृष्ठभूमि, धार्मिक दर्शन, बोन सांस्कृतिक अभ्यास तथा परम्पराका विविध पक्ष समेटिएका छन्। विशेषगरी बोनधर्म र तामाङ समुदायबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई पुस्तकमा चर्चा गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि परशुराम तामाङले तामाङ समुदायको मौलिक धर्म, भाषा, संस्कृति, इतिहास र पहिचानको संरक्षणका लागि यस्ता अनुसन्धानमूलक कृतिहरू महत्वपूर्ण हुने बताए। उनले आफ्नो मौलिक धर्म, संस्कार र परम्पराको संरक्षण गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्न अध्ययन, अनुसन्धान तथा अभिलेखीकरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
त्यस्तै, कार्यक्रममा सहभागी वक्ताहरूले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानको संरक्षणका लागि पुस्तकले महत्वपूर्ण आधार तयार गर्ने धारणा व्यक्त गरेका थिए। पुस्तकले बोनधर्म, तामाङ समुदायको इतिहास र मौलिक परम्पराबारे थप अध्ययन तथा अनुसन्धानका लागि प्रेरणा दिने अपेक्षा गरिएको छ।
विमोचन कार्यक्रममा अन्तर्राष्ट्रिय तामाङ परिषद्का महासचिव टासी लामा, नेपाल तामाङ घेदुङका अध्यक्ष रामकृष्ण ब्लोन तामाङ, निवर्तमान अध्यक्ष मोहन गोले, पूर्वमहासचिव सोमबहादुर घले, सहअध्यक्ष सरोज मोहन मोक्तान, वरिष्ठ उपाध्यक्ष एवं पत्रकार सञ्चु ब्लोन, महासचिव लिलाकुमार ग्लान तामाङलगायतको उपस्थिति थियो।
त्यसैगरी लेखक तथा अनुसन्धानकर्ता रवीन्द्र ग्याबक तामाङ, खोजराज गोले, डुपवाङ्गेल मोक्तान, तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालका कार्यवाहक अध्यक्ष अविरल जिम्बा, मोर्चाका उपाध्यक्ष एवं बागमती प्रदेशसभाका पूर्वसांसद हिमाली गोलेलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, साहित्यकार तथा पत्रकारहरूको सहभागिता रहेको थियो।
पुस्तक विमोचनसँगै तामाङ समुदायको मौलिक धार्मिक तथा सांस्कृतिक पहिचानको संरक्षण, संवर्द्धन र पुस्तान्तरणका विषयमा थप बहस तथा विमर्श अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।









