काठमाडौं । समयसँगै संस्कृति, परम्परा र जीवनशैलीमा परिवर्तन आउँदै गएको छ। कुनै समय तिहारको मुख्य आकर्षण मानिने देउसी–भैलो अहिले पनि प्रचलनमा रहे पनि त्यसको मौलिकता, सामूहिक उत्साह र आत्मीयतामा भने परिवर्तन आएको अनुभूति धेरैले गर्न थालेका छन्।

सञ्चारकर्मी जिवन तामाङले आफ्नो बालापनको देउसी–भैलो सम्झँदै विगत र वर्तमानबीचको फरकलाई भावनात्मक रूपमा प्रस्तुत गरेका छन्।

उनका अनुसार, पहिले देउसी खेल्न जाने कुरा सम्झँदा मात्रै पनि छुट्टै उत्साह जाग्थ्यो। साँझ पर्न नपाउँदै साथीभाइ जम्मा हुने, गाउँका घरघर पुग्ने, देउसी–भैलोका गीत गाउने र रमाइलो गर्दै रात बिताउने क्षणहरू बालापनका अविस्मरणीय पल थिए।

घरधनीले मायाले दिएको सेलरोटी, फलफूल र केही दक्षिणा पाउँदा संसार जितेजस्तै खुसी लाग्ने गरेको उनी सम्झन्छन्। त्यतिबेला कसले धेरै दक्षिणा पायो भन्नेभन्दा पनि कसले कति रमाइलो गर्‍यो भन्ने कुराले बढी महत्त्व राख्थ्यो।

न मोबाइलको चिन्ता थियो, न पैसाको लोभ, न भविष्यप्रतिको तनाव। साथीभाइसँगको हाँसो, गाउँघरको आत्मीयता र सानासाना खुसीमै रमाउने त्यो समय निकै सुन्दर रहेको उनको स्मरण छ।

तर समयसँगै प्रविधि, जीवनशैली र मानिसका प्राथमिकताहरू बदलिएका छन्। आज देउसीका गीत सुनिन्छन् र घरघरमा देउसी खेल्ने परम्परा पनि जीवितै छ। यद्यपि पहिलेको जस्तो सामूहिक उत्साह, आत्मीयता र निश्चल खुसी क्रमशः हराउँदै गएको अनुभूति हुने तामाङको भनाइ छ।

आज हातहातमा मोबाइल छन्, संसारसँग जोडिने अनेक माध्यम छन्। तर विडम्बना, आफ्नै बालापनका साथीभाइसँग जोडिनसमेत मुस्किल भइरहेको छ।

समयले मानिसलाई ठूलो बनाएको छ, जिम्मेवारी थपिदिएको छ र जीवनलाई व्यस्त बनाएको छ। तर गाउँका गल्ली, साथीभाइको हुल, देउसीका भाका, सेलरोटीको स्वाद र दक्षिणा पाउँदाको निर्दोष खुसी अझै पनि सम्झनामा ताजै रहेको उनी बताउँछन्।

सायद जीवनको सबैभन्दा सुन्दर समय त्यही बालापन थियो, जहाँ धेरै कुरा थिएनन्, तर खुसी प्रशस्तै थियो। जहाँ सुविधाभन्दा आत्मीयता र धनभन्दा सम्बन्धको महत्त्व बढी थियो।

‘काश ! एकपटक फेरि त्यही बालापनमा फर्किन पाए !’ भन्ने भावनासहित सञ्चारकर्मी तामाङले विगतका ती अविस्मरणीय क्षणलाई स्मरण गरेका छन्।

समय फर्काउन नसकिए पनि बालापनका ती सम्झनाहरू भने जीवनभर मनमा जीवित रहनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय