
काभ्रे । जिल्ला समन्वय समिति (जिसस) काभ्रेको प्रमुखमा दिपक कुमार गौतमले सपथ तथा पदभार ग्रहण गरेका छन् । बुधबार जिसस प्रमुखमा नवनिर्वाचित भएसँगै जिल्ला अदालतमा सपथ ग्रहण गरी जिससको कार्यालय पुगेका गौतमले जिससको आँगनमा एभोकाडोको विरुवा रोपेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्ने क्रममा सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै आमागी ५ वर्षको काभ्रेले चाहेको परिवर्तन र विकास सम्भव हुने बताए । उनले भने, ‘अबको ५ वर्षमा परिवर्तन सम्भव छ ।’


उनले काभ्रेली जनतालाई निराश र अपमान हुन नदिने प्रतिबद्धता व्यक्त गरे । प्रमुख गौतमले परिवार र चौरीदेउरालीका जनतासँगै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि लगायतको सहयोगमा आफु जिसस प्रमुख बन्न सफल भएको भन्दै सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।
जिल्लाका १३ वटा स्थानीय तहका प्रमुख उपप्रमुख गरी २६ जनाले जिससको ९ पदका लागि मतदान गरेका थिए । गत वैशाख ३१ गते भएको निर्वाचन अनुसार काभ्रेमा कांग्रेसका १३ माओवादी केन्द्र ८, एमाले ४, एकिकृत समाजवादी १ मत रहेको थियो ।
निर्वाचनमा गौतम प्रतिस्पर्धी एमालेकी कमला भट्टराई (काफ्ले)लाई पराजित गरी विजय भएका हुन् । गौतमले २२ मत ल्याउँदा प्रतिस्पर्धी एमालेकी भट्टाराईले ४ मत मात्र प्राप्त गरेकी छिन् । त्यस्तै जिससको उपप्रमुखमा रिमबहादुर तामाङ निर्वाचित भएका छन् । सदस्यहरुमा चण्डिका मिजार, निरबहादुर लामा, मंगलबहादुर लामा र अप्सरा सिपखान, कमलराज गिरी, रस्मिता भण्डारी र कृष्णकुमारी राई विजय भएका छन् ।
केही तस्वीरहरुः
तस्वीरः इकमान लामा