काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दिल्लीमा भेटवार्ता भएको छ ।
नड्डाकै निमन्त्रणामा भारत भ्रमणमा रहेका प्रचण्डले आज दिउँसो भाजपाको मुख्यालयमै पुगेर नड्डासँग भेटवार्ता गरेका हुन् । सो भेटमा भारतका विदेशमन्त्री एस जयशंकर, भाजपाका नेताहरु र प्रचण्डपुत्री गंगा दाहाल तथा प्रचण्डका स्वकीय सचिव रमेश मल्ल पनि सहभागी थिए ।


शुक्रबार नयाँदिल्ली गएका प्रचण्डले सोही दिन भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका थिए । उनले शनिबार भारतीय विदेश मन्त्री जयशंकरका साथै राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग पनि भेटवार्ता गरेका थिए ।
आज उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेट गरेर आजै स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ ।










