
एजेन्सी । विमानको शौचालयमा नवजात शिशु फेला परेका छन्। एअर मरिशशका कर्मचारीले आफ्नो विमानको शौचालयमा फोहोर फाल्ने भाँडो भित्र नवजात शिशु फेला पारेका हुन् ।
म्याडग्यास्करकी एउटी २० वर्षीया युवतीलाई बच्चा जन्माएर त्यसरी फालेको आशङ्कामा पक्राउ गरिएको बीबीसीले जनाएको छ । एअर मरिशशको उक्त विमान जनवरी १ मा म्याडाग्यास्करबाट सर सीवुसागुर रामगुलाम अन्तर्राष्ट्रिय विमानस्थलमा आएको थियो ।


विमानस्थलका अधिकारीहरूले विमानको नियमित जाँच गर्दा त्यहाँ भर्खर जन्मिएको जीवित शिशु फेला पारेका थिए । उनीहरूले शिशुलाई तत्काल उपचारका लागि सार्वजनिक अस्पताल पुर्याएका थिए ।
उक्त बच्चाकी आमा भएको आशङ्कामा पक्राउ परेकी महिलाले सुरुमा बच्चा आफ्नो नभएको दाबी गरेकी थिइन् । चिकित्सकीय परीक्षणमा भने उनले भर्खरै बच्चा जन्माएको पुष्टि भयो । अहिले ती महिलालाई प्रहरीको निगरानीमा अस्पतालमै राखिएको छ । उनी र शिशु दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ ।
दुई वर्षका लागि काम गर्ने अनुमति लिएर मरिशश आइपुगेकी मालागासी महिलासँग अस्पतालबाट निस्किएपछि थप सोधपुछ गरिनेछ ।