महाभारत गाउँपालिकाको उपप्रमुखज्यू, गाउँसभाका सदस्यज्यूहरु, प्रमुख प्रशासकीय अधिकृत ज्यू,

महाभारत गाउँपालिका गाउँसभाको तेह्रौं अधिवेशन समारोहमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछु । यस गरिमामय सभामा यस गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम पेश गर्न पाउँदा मैले आफुलाई गौरवान्वित महशुस गरेको छु । वार्षिक नीति तथा कार्यक्रम तर्जुमाका क्रममा गाउँपालिकालाई विभिन्न सुझाव दिनुहुने राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाज, विभिन्न राजनीतिक दलकका प्रतिनिधी,बुद्धिजीवि, पत्रकार तथा महाभारत गाउँबासी सम्पूर्ण आमाबुबा तथा दाजुभाई दिदिबहिनीहरुमा गाउँपालिकाको तर्फबाट हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछु ।

नेपालमा आज स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं समाजवाद उन्मुख समावेशी लोकतन्त्र सहितको ऐतिहासिक, राजनीतिक परिवर्तन हासिल गर्न र ती उपलब्धीहरुलाई संविधानमा संस्थागत गर्न र समग्र लोकतान्त्रिक रुपान्तरणको प्रक्रियालाई आजको यो विन्दुसम्म ल्याई पुयाउन नेपाली जनताले ७ दशक लामो बलिदानीपूर्ण सङ्घर्ष गरेका छन् । अतः १ फागुन २०५२ बाट सुरु भएको माओवादी ‘जनयुद्ध” २०६३ सालमा शान्तिपूर्ण रूपमा अवतरण भई १० (दश) वर्षे ‘जनयुद्ध’ शान्तिपूर्ण रूपमा टुंगिएको थियो । फलस्वरुप नेपाल संघीय संरचनामा रुपान्तरण भयो । यस महत्वपूर्ण संघर्ष र आन्दोलनका क्रममा हजारौ नेपाली आमाको सन्ततीहरुले आफ्नो उच्च बलिदान गर्नुभएको छ भने हजारौ योद्धाहरु घाईते तथा अपाङ्ग हुनुभएको छ । महान् १० (दश) वर्षे जनयुद्ध तथा जनआन्देलनका क्रममा यस महाभारत गाउँपालिकाको भूमीबाट कुल बहादुर राना मगर, ज्ञान बहादुर गोले, प्रविना बज्यू, शक्ति, लिला बहादुर मोक्तान (निर्माण) प्रमिला माझी, विमला वाईबा, राजु नेपाली, प्रहार, दिल बहादुर बोम्जन ( दिपक ) सीमा र विष्णु स्याङतान लगायतका सहासिक योद्धाहरुले बलिदान गर्नुभएको छ । यस अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलन, राजनीतिक अग्रगमन र लोकतन्त्रको सवलीकरणको क्रममा भएका ऐतिहासिक आन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता योद्धाहरु प्रति सम्मान प्रकट गर्दछु र सहिद तथा बेपत्ता योद्धाका परिवारप्रति उच्च सम्मान प्रकट गर्दछौं ।

सम्मानित सभाका सदस्यज्यू
नेपालको संघीय संरचना अनुसार बागमती प्रदेश अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहहरुमध्ये जिल्लाको दक्षिणी भेगमा अवस्थित महाभारत गाउँपालिका १८६ कि.मी. क्षेत्रफलमा फैलिएको जिल्लाकै सबैभन्दा ठूलो स्थानीय तह हो । वि. स. ०७८ सालको राष्ट्रिय जनगणना अनुसार यस गाउँपालिकाको कूल जनसंख्या १६१४८ रहेको छ । जसमा पुरुष ७९३३ र महिला ८२१५ रहेका छन् । आफ्ना छुट्टै भौगोलिक, सास्कृतिक, सामाजिक, राजनैतिक तथा आर्थिक पहिचान रहेको यस गाउँपालिकामा विशेषगरी तामाङ, मगर, नेवार, बाहुनक्षेत्री, माझी, दलित, पहरी समुदायका मानिसहरुको बसोबास रही आएका छन् । यस गाउँपालिकाको उत्तरी सिमानामा रोशी गाउँपालिकासँगै पर्यटकीय क्षेत्र भुमीचुली लेक, ताराखसे लेक र चैत्यपानी जस्ता महत्त्वपूर्ण महाभारत लेकले घेरिएको छ, भने यस गाउँपालिकाको पूर्व सिमानामा सिन्धुली जिल्लाको घ्याङलेक गाउँपालिका, दक्षिणमा सिन्धुली जिल्लाको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकासँगै महाभारत गाउँपालिकाको सिमानाबाट बगेको कोखाजोर खोला रहेको छ । पश्चिममा खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकाको सिमानाबाट बग्ने चाउखोलाले घेरिएको छ । यस गाउँपालिकाको उत्तरी सिमानामा प्राकृतिक तथा पर्यटकीय रुपमा रहेको सुन्दर (म्हाबर) लेक समुन्द्र सतहबाट अन्दाजी २५०० मि. उचाईमा रहेको छ । र यस म्हाबर लेकबाट नै अन्तत यस गाउँपालिकाको नामाकरण महाभारत हुन गएको हो ।

सम्मानित सभाका सदस्यज्यूहरु,
सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने हाम्रो संकल्प, समस्त गाउँपालिकावासीको समृद्धिको चाहाना र हामीले निर्वाचनका क्रममा हाम्रा मतदाताहरु प्रति अभिव्यक्त गरेका प्रतिज्ञाहरु पुरा गर्ने दिशामा हामीले आगामी आ. व. २०८०/८१ को नीति तथा कार्यक्रमलाई अभिमुख गरेका छौं । यसका लागि दीगो विकासको राष्ट्रिय लक्ष्यहरुको स्थानीयकरण गर्दै गुणस्तरीय पूर्वाधार निर्माण सहित स्थानीय स्रोतको पहिचान र परिचालन गरी समावेशी, जलवायु उत्थानशील तथा दिगो स्थानीय आर्थिक विकास मार्फत समृद्ध गाउँपालिका र सुखी जनताको लक्ष्य हासील गर्न सार्वजनिक, निजीक्षेत्र र समुदायको साझेदारी विकासमा हामी प्रतिवद्ध छौं ।

गाउँपालिकालाई उत्कृष्ट गन्तव्यको रुपमा स्थापित गर्ने, बेरोजगार र गरीबीको व्यवस्थापन गर्ने, स्वच्छ, सफा र सुन्दर गाउँपालिकाको पहिचान कायम राखे र योजनावद्ध रुपमा बस्ती विकासलाई यस नीति तथा कार्यक्रमले प्रमुख प्राथमिकताको रुपमा लिइएको छ ।

विश्वव्यापीरुपमा फैलिएको कोभिड – १९ महामारीबाट थलिएर माथि उठन लागेको अर्थतन्त्र पुनः युक्रेन युद्ध ३ र सोबाट विश्व आपूर्ति श्रृंखलामा आएको संकुचनले नेपाललाई समेत प्रभाव पारेको छ । यसबाट संघीय सरकारको राजश्व परिचालनमा प्रभाव पर्न गई स्थानीय तहले पाउनु पर्ने वित्तीय हस्तारणमा नकारात्मक असर पुगेको छ ।

नेपालले जनसांख्यिक लाभ लिदै अल्पविकसित मुलुकबाट विकासशील मुलकको श्रेणीमा उक्लिनै लाग्दा हरेक दिन २ देखि ३ हजार युवाहरू रोजगारीको खोजीमा नेपाल छोडेर विदेसिनु पर्ने अवस्थाले हामी सबैलाई गम्भीर बनाएको छ । आन्तरिक र बाह्य बसाइसराइका कारण नेपालका गाउँघरहरू सुनसान वस्तीका रूपमा रूपान्तरित हुन पुगेका छन् । उर्वर खेत वारी बाँझो हुन पुगेका छन् । यस सन्दर्भमा युवालाई देशभित्रै रोजगारीको अवसर सृजना गर्ने र गाउँघरको बसाइलाई आकर्षक बनाउने चुनौती हामी सबैको साझा मुद्दा हुन पुगेको छ ।

सभाका सदस्यज्यूहरु.
यस विशिष्ट परिस्थितिमा हामीले हाम्रो अर्थतन्त्रलाई पुनर्उत्थानशील क्रियाकलापमार्फत अगाडी बढाउदै तिब्र र दिगो आर्थिक विकास गरी समृद्ध नेपाल सुखी नेपालीको मूल लक्ष्य हासिल गर्नु परेको छ। यसका लागि हाम्रो गाउँपालिकामा स्थानीय आर्थिक विकासका कार्यक्रमलाई विशेष जोड दिनुपर्ने अवस्था सृजना भएको छ ।

सेवा प्रवाहलाई थप प्रभावकारी बनाई सुशासनको अनुभूति जनमानसमा ल्याउन गाउँपालिकाको क्षमता विकास गर्न समेत अपरिहार्य छ । सेवाग्राहीले सरल र सहज तरिकाले सेवा प्राप्त गर्ने हकलाई सुनिश्चित गर्न सूचना र प्रविधिको उच्चतम् प्रयोग गर्न अनिवार्य छ । आन्तरिक सुशासन र सवल प्रशासनको विकासबाट हामीले अख्तियार गरेको नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन हुने भएकाले यो नीति तथा कार्यक्रम त्यसतर्फ नै निर्देशित रहेको छ ।

सभाका सदस्यज्यूहरु,
हाम्रा सामु देहाय् बमोजिमका विद्यामान चुनौतीहरू रहेका छनः

१. रोजगारउन्मुख सीपमूलक शिक्षाको विकास गर्नु ।
२. बजारको सूचना कृषकलाई समयमा नै उपलब्ध गराउनु ।
३. गुणस्तरीय बीउबिजन / मलखाद समयमा नै उपलब्ध गराउनु ।
४.  युवा जनशक्तिलाई कृषि व्यवसाय प्रति आकर्षित गर्नु ।
५. व्यवसायिक कृषकको संख्या वृद्धि गर्नु ।
६. वैदेशिक रोजगारीबाट फर्केका सीपयुक्त युवाको सीप तथा पुँजीलाई उद्यम विकासमा उपयोग गर्नु ।
७. निर्माण भएको पूर्वाधारको मर्मतसंभार पद्धतिको विकास गर्नु ।
८. सडक लगायतका पूर्वाधारको उपयोग योजना, डिजाइन तथा ड्रइङ विना सडक तथा अन्य पूर्वाधारका संरचना निर्माणको कार्यलाई रोक्नु ।
९. भिरालो ठाउँ, बाढी पहिरो तथा डुवान लगायतका प्रकोपको उच्च जोखिम भएका वस्तीमा भवन निर्माण कार्यलाई रोक्नु ।
१०. अव्यवस्थित बस्ती बिस्तारको क्रम रोक्नु तथा व्यवस्थित बस्ती विकास गर्नु ।
११. बैज्ञानिक, जलवायु उत्थानशिल तथा व्यवहारीक एवम् उपयुक्त भूउपयोग योजना तर्जुमा गरी लागू गर्नु।
१२. सञ्चार सेवा प्रदायक संस्थाहरू बाट प्रभावकारी सेवा प्राप्ति र व्यवस्थित गर्नु ।
१३. प्राकृतिक स्रोत तथा नदिजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) को मापदण्ड अबलम्बन नगरी अत्यधिक दोहन रोक्नु ।
१४. विभिन्न कालखन्डमा गाउँपालिकामा निर्माण भएका पुर्वाधारका संरचना ( पूँजीगत सम्पति) को लगत तयार तयार गर्नु, मूल्याङ्कन गर्नु तथा सेवा प्रभावमा प्रभावकारी उपयोग सम्बन्धी योजना (Asset Management Plan) तयार गरी कार्यान्वयन गर्नु ।

सभाका सदस्यज्यूहरु,
नेपालको संविधानमा स्थानीय शासन सम्बन्धी उल्लेख भएको नीतिगत व्यवस्था, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहले आवधिक, वार्षिक तथा रणनीतिक योजनाहरू बनाई लागू गर्दै जानुपर्ने प्रावधान, राष्ट्रिय योजना आयोगले जारी गरेको स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७८, पन्ध्रौ आवधिक योजनाको मूलभूत पक्षहरू अनुसार विभिन्न चरणको सहभागितामूलक प्रक्रियाबाट यस गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम तयार गरिएको छ ।

पन्ध्रौं योजना, दिगो विकास लक्ष्य २०३० को मार्गचित्र, गाउँपालिकाको आवधिक योजना, मध्यमकालीन खर्च योजना, गाउँपालिकाले कार्यान्वयनमा ल्याइएका कानुनी प्रावधान समेतलाई ध्यानमा राखी यो नीति तथा कार्यक्रम ल्याइएको छ ।

गाउँपालिकाका पूर्वाधार विकास निर्माणको कार्यमा गाउँपालिकाभित्रका आम उपभोक्ताहरु, सर्वसाधारण जनता, उद्योगी व्यवसायीहरु, सामाजिक संघसंस्थाहरु तथा विकास साझेदारहरूको निरन्तर सहयोग रहदै आएको छ । विकास र सुशासनको लागि जनप्रतिनिधिहरुले स्पष्ट दृष्टिकोण सहित अगुवाई गर्ने हो भने प्रशासनिक संयन्त्रले त्यसलाई प्राविधिक तथा कानुनी ढाँचाभित्र आवद्ध गराउने हो । आम नागरिकहरुले साथ सहयोग, सुझाव दिने हो । जनसहभागीता एवं जनपरिचालनको क्षेत्रमा गाउँपालिकाले कायम गरेको इतिहासलाई अक्षुण्ण राख्दै शासकीय प्रबन्धमा जवाफदेहिता, पारदर्शिता, गुणस्तरियता एवं स्वच्छतायुक्त जनसहभागीता सुनिश्चित गरिने छ ।

गाउँपालिकाको संगठन तथा व्यवस्थापन सर्भेक्षण (O&M) लाई अद्यावधिक रुपमा अध्ययन गरी छरितो एवं चुस्त संगठन संरचना मार्फत प्रशासनिक तथा चालु खर्चलाई मितव्ययी बनाइनेछ । यसबाट सेवा प्रवाहलाई प्रभावकारी तथा विकेन्द्रित तुल्याउदै पूँजीगत खर्च बढाउने नीति लिइएको छ । संघ तथा प्रदेश सरकारबाट प्राप्त अनुदान एवं वित्तिय हस्तान्तरणको उच्चतम् र प्रभावकारी परिचालन एवं उपयोग गर्दै वित्तिय आत्मनिर्भरता कायम गर्न प्रयत्न गरिने छ ।

यस गाउँपालिकाले आफ्नो क्षेत्रमा समृद्ध, समावेशी, स्वच्छ, सुरक्षित, स्वावलम्बी र सुशासित समुदाय निर्माण गर्ने उद्देश्य लिएको छ । जनताको मौलिक अधिकार र प्रतिनिधित्व सुनिश्चित गर्नका लागि सहभागिताका माध्यमबाट पारदर्शिता र जवाफदेहीतालाई जोड दिइनेछ ।

सम्मानित सभाका सदस्यज्यूहरु,
म अब, यस सम्मानित सभामा आर्थिक वर्ष ०८०।८१ सालको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु अगाडि गत आर्थिक वर्ष ०७९ । ८० मा हामीले गरेका महत्त्वपूर्ण कामहरुको समिक्षा गर्न चाहान्छु ।

यस गाउँपालिकामा हालसम्म २९५ किमि नयाँ ट्र्याक सडक, ३.५ किमि ग्राभेल सडक, २५०.५ मर्मत तथा स्तरउन्नती सडक रहेको छ । गाउँपालिकाका सबै वडामा सडकको पहुँच पुगेकोछ । गाउँपालिकाले विभिन्न वस्ती र पर्यटकीय क्षेत्रहरूमा समेत सर्वयाम गाडी चल्ने सडक पूर्वाधार विस्तार गरेको छ । गाउँपालिकाबाट अन्य गाउँपालिका तथा प्रमुख राजमार्गसम्मको सडक पहुँचलाई सुदृढ गर्ने लक्ष्य बनाइएको छ । गाउँपालिकाका विभिन्न वडामा गरी जम्मा १५०० हे. जमिनमा करिब १५० हे. मा सिंचाइ सुविधा प्राप्त हुने अवस्था सृजना भएको छ । जलवायु परिवर्तनको प्रभावका कारण डिजाइन अनुसार पानी प्राप्त हुने कुरामा चुनौती थपिएको छ ।

कार्यालयबाट प्रवाह हुने सार्वजनिक सेवा लगायत शिक्षा, स्वास्थ्य, बैंकिङ कारोबार आदिमा सूचना प्रविधिको प्रयोग भएको छ । विकासका विभिन्न क्षेत्रमा महिला तथा युवाहरूको संलग्नता बढेकोछ । युवाहरूको खेलकुदमा संलग्नता बढाउनका लागि वडा तथा गाउँपालिका केन्द्रमा खेलकुद मैदान निर्माण भएका छन् । रोजगारी सृजना गर्न गाउँपालिकाभित्र रहेको श्रम शक्तिको लगत तयार गरी विभिन्न सीपमूलक तालिम सञ्चालन गरीएको छ । जसमध्ये लघु उद्यम कार्यक्रमबाट यस वर्ष ८२ जनाले तालिम लिई रोजगारी सृजना भएको छ भने ४० जना उद्यमी स्तरउन्नतीको क्रममा रहेको छ, भने स्वरोजगार कार्यक्रम अन्तर्गत ९८६ जना रोजगार सूचीमा सूचीकृत भएका छन् ।

गाउँपालिकाले ४ वटा ऐन, ३ वटा नियमावली र २३ वटा कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याएको छ।त्यसैगरी व्यवस्थित शहरीकरण तथा वस्ती विकासको लागि आवश्यक सडक गुरूयोजना नीति तर्जुमा गरेको छ । गाउँपालिकाले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी सो अनुसारको संगठन संरचना, जनशक्ति र कार्यविवरण तयार गर्ने नीति तर्जूमा गरेको छ ।

२०७९ सालमा सम्पन्न भएको स्थानीय तहको दोस्रो निर्वाचन पछिको पहिलो आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउदै गर्दा सम्भवतः हाम्रो गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि ठेक्का भई काम अगाडि बढ्दा हामीलाई अत्यन्तै गर्व महसुस भएको थियो भने अहिले सेवाग्राहीलाई व्यवस्थित सेवा दिन गाउँपालिकाको प्रशासकीय भवनको निर्माण कार्य मध्य चरणमा पुगेको छ । यसैगरी महाभारत गाउँपालिकाको पहिलो निर्वाचनको अन्तिम वर्षमा ८ वटै वडा कार्यालयले दैनिक रुपमा प्रशासनिक लगायत वडा कार्यालयबाट सेवाग्राहीलाई दिने सेवा कसरी दिने भन्ने अन्योलमै थियो, भने अहिले ८ वटै वडामा पक्की आर .सी. सी. वडा कार्यालय भवनको निर्माण कार्य सम्पन्न गरी व्यवस्थित तवरबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्न हामी सफल भएका छौं । यसैगरी दोस्रो पटकको स्थानीय निर्वाचन सम्पन्न भई पहिलो वर्षमा आउदा कतिपय गाउँपालिका केन्द्रदेखि वडा कार्यालयसम्म जाने अधुरो सडकलाई सम्पन्न गरीएको छ, भने गाउँपालिकाभरिका सबै टोलटोलमा सडक सञ्जाल जोडिसकेको छ ।

यस सम्मानित सभाका सदस्यज्यूहरु,
यसैगरी विगतको वर्षहरुलाई फर्केर हेर्दा, धेरै विषयवस्तुहरुको अभावको विचबाट अगाडि बढेको हाम्रो स्वर्णिम यात्रा क्रमिक रुपमा सफलता हुँदै आज हामी यहाँसम्म आइपुगेको छौं । जसमा तीनै तहको सरकारको समन्वय र सहकार्यमा साना ठूला योजनाहरुलाई बहुवर्षीय आयोजनको रुपमा अगाडी बढाउन सफल भएका छौं । फलस्वरुप ३३ केभी क्षमताको नेपाल विद्युत प्राधिकरण मार्फत महाभारत गाउँपालिकाको वडा नं. १ मा निर्माणधीन विद्युत सबस्टेशनको निर्माण कार्य मध्यचरणमा पुगेको छ भने महभारत गाउँपालिकाकै इतिहासमा पहिलो पटक नेपाल सरकारको बहालवाला सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल (प्रचण्ड) ज्यूबाट महाभारत गाउँपालिकाका वडा नं. ५ को चारकिल्लामा आउनुभई केन्द्रीय विद्युत प्रसारण लाईन विस्तारको क्रममा हाल महाभारत गाउँपालिकाको वडा नं. ३, ४ र ५ मा केन्द्रीय विद्युततीकरणको सम्उदघाटन र पिङथली रजबास भूमीचुली बुढाखानी देवीटार सडकखण्डको शिलान्यास गर्नुभएको छ, उक्त उदघाटन समरोहबाट दिनुभएको वचनबद्धता अनुसार विपी राजमार्ग हुँदै पिङथली रजबास बुढाखानी महाभारत गाउँपालिकाको केन्द्र हुँदै मकवानपुर जिल्लाको बागमती गाउँपालिका स्थित मदनभण्डारी लोकमार्गको झुरझुरे जोड्ने (जनमुक्ति प्रादेशिक सडक) नामाकरण गरी आगामी ५ वर्षभित्र सम्पन्न गर्नेगरी बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरी सम्वृद्ध महाभारतको यात्रालाई थप उचाईमा पुर्याउन ऐतिहासिक भूमिका खेल्नुभएकोमा विशेषगरी नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल (प्रचण्ड) ज्यूलाई यस सम्मानित सभाबाट म हार्दिक धन्यवाद तथा कृतज्ञताज्ञापन गर्न चाहान्छु ।

यसैगरी बागमती प्रदेश गौरव योजनाको रुपमा जनमुक्ति प्रादेशिक राजमार्गका लागि पहल गर्नुहुने बागमती प्रदेशका मुख्यमन्त्री माननीय श्री शालिकराम जमरकट्टेल ज्यू, बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्री माननीय श्री युवराज दुलाल ज्यू, बागमती प्रदेशका अर्थमन्त्री माननीय श्री बहादुर सिं लामा ज्यू, खानेपानी, उर्जा तथा सिँचाई मन्त्री श्री तिर्थ बहादुर लामा ज्यू, पूर्व मन्त्री तथा काभ्रे प्रतिनिधिसभा सदस्य माननीय श्री सूर्यमान दोङ ज्यू र पूर्व प्रदेश मन्त्री तथा काभ्रे क्षेत्र नं. १ (क) का सांसद श्री रत्न प्रसाद ढकाल ज्यूलाई यस सम्मानित सभाबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

सम्मानित सभाका सदस्यज्यूहरु,
गतवर्ष हामीले धेरै महत्त्वपूर्ण कामहरु गरेको हामी सबैलाई सर्वविदितै छ । यसैगरी शिक्षामा लामो समयदेखि चुनौतीको रुपमा रहेको दरबन्दी अभावको कारण समुदायिक विद्यायलयहरुमा सोचे अनुरुप शैक्षिक गुणस्तर हासिल गर्न सकिरहेको थिएन । यस समस्याको स्थायी निरुपण गर्नका लागि प्रदेश तथा संघ सरकारसँग समन्वय गरी एकैपटक लगभग ६० वटा प्रा.वि. स्थायी दरवन्दीको व्यवस्था गरी वितरण गरेको कुरा यस सम्मानित सभामा सुनाउँदा पाउँदा म अत्यन्तै खुशी भएको छु । खुला आकाशमुनि बसेर पढ्नु र पढाउनु पर्ने हाम्रो बाध्यतालाई अन्त्य गर्नका लागि लगभग गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुमा भौतिक संरचनाको हिसाबले पक्की आर. सी. सी. भवनहरु प्राय सम्पन्न भईसकेको छ, भने केहि विद्यालयका भवनहरु निर्माणाधीन अवस्थामा रहेका छन् । सभाका सदस्यज्यूहरु मलाई लाग्छ की, हामीले शिक्षा क्षेत्रमा गरेका अथक प्रयासबाट विद्यामान तमाम समस्याहरु क्रमिक रुपमा समाधान हुँदै जानेमा म विश्वस्त छु ।

गरिमामय सभाका सदस्यज्यूहरु,
स्वास्थ्य नै जीवन हो भन्ने कुरालाई आत्मासात गरी स्वास्थ्य क्षेत्रमा पनि हामीले महत्त्वपूर्ण कामहरु गरेका छौं। जुन कामले यस महाभारत गाउँपालिकाको आम जनताले छिटो छरितो गुणस्तर स्वास्थ्य सेवाको उपभोग गर्ने अवसर मिलेको मैले महसुस गरेको छु । यसै क्रममा स्वास्थ्य क्षेत्रको भौतिक संरचना निर्माणको सिलसिलामा महाभारत गाउँपालिकाको वडा नं. १ मा रहेको गोकुले स्वास्थ्य चौकीको सुविधायुक्त भवन र गोगने आधारभूत स्वास्थ्य केन्द्र, वडा नं. २ को स्याप्लेडाँडा आधारभूत वडा स्वास्थ्य केन्द्र, वडा नं. ७ को आधारभूत स्वास्थ्य केन्द्र, वडा नं. ३ को दोगा आधारभूत स्वास्थ्य केन्द्र र महाभारत ५ चारकिल्लाको वर्थिङ सेन्टरको नवनिर्मित भवन सम्पन्न भई सेवा विस्तार भएको कुरा अवगत गराउन चाहान्छु । महाभारत गाउँपालिकाको वडा नं. ८ स्थित घर्तिछापमा १० शैयाको अस्पताल निर्माणाधीन अवस्थामा रहेको जानकारी गराउन चाहान्छु । जनतासँग प्रत्यक्ष जोडिन पुग्ने भौतिक पूर्वाधार अन्तर्गत महाभारतका नागरिकलाई यातायात सहज हुनेगरी गाउँपालिकाको तीनखुट्टे खोला, बनखुखोलाको गोल्टारमा पक्की पुल निर्माणाधीन अवस्थामा रहेको छ, भने केहि बाँकी स्थानहरुमा ठेक्काको लागि डि. पी. आर. भई निर्माण प्रक्रिया भइरहेको जानकारी गराउन चाहान्छु ।

गाउँपालिकाको विभिन्न वडाहरुमा करिव ४ वटा झोलुङ्गे पुल सम्पन्न भई उदघाटन समेत भइसकेको छ । यसैगरी कृषि तथा पशुपंछी क्षेत्रमा गतवर्ष गाउँपालिकाको कृषकहरु अर्थोपार्जनमा टेवा पुग्ने हेतुले गाउँपालिकाका वडाभित्र करिब १ लाख कफीको विरुवा वितरण, विभिन्न फलफूलको विरुवा वितरण, कृषि औजार अन्तर्गत करिब ८० वटा मिनिटिलर वितरण, कफी पल्पर मेशिन, च्याफ कटर, ६०० प्याकेट मिनिकिट, सिंचाईका लागि प्लाष्टिक पोखरी वितरण, घुम्ती माटो परिक्षण शिविर सञ्चालन, गाउँपालिकाको ४ स्थानमा कफि पकेट क्षेत्र विस्तार, किसान सूचीकरण तथा तथ्याङ्क सङ्कलन कार्यक्रम, कफि विकास कार्यक्रम जस्ता महत्त्वपूर्ण कृषिसँग सम्बन्धित कार्यक्रमहरु सम्पन्न गरेका छौं । त्यसैगरी पशुपंछी विकासतर्फ बाख्रापकेट क्षेत्र विस्तार, नश्ल सुधारको लागि उन्नत जातको बोका वितरण, खोर सुधार, घाँस खेती विस्तार र विभिन्न रोग नियन्त्रणको लागि प्राविधिक सेवा र औषधि उपचारको व्यवस्था जस्ता महत्त्वपूर्ण पशुपंछीसँग सम्बन्धित काम गरेको यस गरीमामय सभामा जानकारी गराउन चाहान्छु ।

यस सम्मानित सभाका सदस्यज्यूहरु,
लामो समय खानेपानी समस्यामा झेलिएका महाभारत गाउँपालिकाको आम जनसमुदायहरुलाई दीर्घकालिन हिसाबले खानेपानी समस्यालाई मुक्त गर्न यस महाभारत गाउँपालिका सरकारले अवलम्बन गरेको एक घर एक धाराको नीति अनुरुप सुरक्षित एंव स्वच्छ खानेपानी व्यवस्थापन अन्तर्गत महाभारत गाउँपालिकाको वडा नं. ५ मा करिब २२६ घरधुरी लाभान्वित हुनेगरी चारकिल्ला चौडिक खानेपानी आयोजना सम्पन्न गरी हस्तान्तरण भइसकेको छ । महाभारत गाउँपालिका वडा नं. ७ मा ६४ घरधुरी लाभान्वित हुनेगरी अल्लोघारी बेतगैरी खानेपानी आयोजना सम्पन्न भएको छ । महाभारत गाउँपालिका वडा नं. ५ स्थित टुनिबास खानेपानी आयोजना, बेतेनी खानेपानी आयोजना, जस्ता महत्त्वपूर्ण खानेपानी आयोजनाहरु सम्पन्न भइसकेको छ, भने महाभारत गाउँपालिकाको वडा नं. ६ मा करिब ३०० घरधुरी लाभान्वित हुनेगरी मगरगाउँ बनखु चाउखोला खानेपानी र वडा नं. १ र २ अन्तर्गत १ हजार घरधुरी लाभान्वित हुने मुलखोला बृहत खानेपानी आयोजना निर्माण कार्य अन्तिम चरणमा रहेको छ । काभ्रेखोल्सी हलिदे खानेपानी, उद्याउने मार भन्ज्याङ लामीटार खानेपानीलाई बजेटको व्यवस्था भई निर्माण कार्य भइरहेको कुरा यस सम्मानित सभामा जानकारी गराउन चाहान्छु ।

सभाका सदस्यज्यूहरु,
हामीले संघ, प्रदेश स्थानीय सरकारको समन्वयमा माथि उल्लेख भएका शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपन्छी, खानेपानी, सडक, पुल, उर्जा, सिँचाई, उद्योग तथा पर्यटन लगायत क्षेत्रमा गाउँपालिकाले गरिएका महत्वपूर्ण विकास निर्माणको कार्यले सम्वृद्ध महाभारत निर्माणको हाम्रा यात्रालाई निकट भविष्यमा आम महाभारतबासीले अनुभुति गर्न पाउने अवसरको रुपमा स्थापित हुने कुरामा म विश्वस्त छु । यसैगरी महाभारतको चौतर्फी विकास र सम्वृद्धिका यात्रालाई सफल बनाउन महाभारतका सम्पूर्ण आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरु, राष्ट्रसेवक कर्मचारीहरु, जनप्रतिनिधि साथीहरु, समाजसेवी, बुद्धिजीवि, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, नागरिक समाज, गाउँपालिकाभित्रका क्रियाशिल संघसस्थाहरुलाई विशेष धन्यवाद व्यक्त गर्दछु । साथै यहाँ सबैको सकारात्मक र रचनात्मक सल्लाहसुझावहरुले आगामी दिनहरुमा अगाडि बढ्ने प्रेरणाको स्रोतको रुपमा थप उर्जा प्राप्त भएको कुरा राख्दै म अब सम्मानित सभामा आर्थिक वर्ष ०८०।८१ को लागि महाभारत गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहान्छु ।

सम्मानित सभाका सदस्यज्यूहरु,
अब म आ. व. २०८०/८१ को विभिन्न विषयगत एवं क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्दछु ।
१. आर्थिक विकास
क. कृषि तथा पशु विकास
* कृषक समूह, कृषि सहकारी, कृषि फार्महरुको दर्ता नविकरण गरी क्षमता अभिवृद्धि गराई कृषि कार्यक्रमहरूलाई थप प्रभावकारी बनाइनेछ ।
* कफि पकेट क्षेत्रलाई विस्तार गर्न एक वडा एक कफि प्रवर्द्धन कार्यक्रमको लागू गरी कार्यक्रम सञ्चालन गरीनेछ ।
* स्थानीय स्तरमा नै गुणस्तरीय तरकारी एवम् फलफुलको बिउ तथा विरुवाको एक वडा एक नर्सरी कार्यक्रम सञ्चालन गरीनेछ ।
* उपलब्धता गराउन भौगोलिक विशेषता अनुसारको बाली उत्पादनमा जोड दिदै बाली पकेट क्षेत्र विस्तार गरीनेछ ।
* बढ्दो जलवायु परिवर्तन तथा जोखिम नियन्त्रण गर्न भिरालो जमिनमा फलफुल खेती विस्तार कार्यक्रम सञ्चालन गरीनेछ ।
* कृषकले उत्पादन गरेको बालीको उत्पादनको आधारमा प्रोत्साहन अनुदान उपलब्ध गराइनेछ । स्वस्थ उत्पादन, स्वस्थ जीवन” मूल नारा लिई प्रत्येक घरलाई तरकारीमा आत्मनिर्भर हुन एक घर एक करेसाबारी” कार्यक्रमलाई जोड दिईनेछ ।
* रासायनिक मल र विषादिको प्रयोगबाट हुने हानीलाई कम गर्न प्रविधिमा जोड दिइनेछ ।
* कृषि कार्यक्रमहरूको सूचनालाई सधैं कृषक समक्ष पुर्याउन सूचना सम्प्रेषणलाई थप प्रभावकारी बनाईनेछ ।
* यस क्षेत्रमा कृषि विषय अध्ययन गरी बेरोजगार बसेका युवाहरूलाई व्यवसायिक कृषि उद्यम विकासका लागि मौरी र च्याउ मा आधारित व्यवसायिक कृषि कार्यक्रम सञ्चालन गरीनेछ ।
* खाद्य वस्तुको आयात घटाउन र बालीहरूको प्रतिस्थापन दर बढाउन कृषकहरूलाई सरल र सुलभ तरिकाबाट उन्नत बिउबिजन तथा उत्पादन सामाग्री सहयोग कार्यक्रम सञ्चालन गरीनेछ ।
* प्राङ्गारिक मलको उत्पादन र प्रयोगमा जोड दिन जैविक मल, भर्मिकम्पोष्ट र कम्पोष्ट मल बनाउन जोड दिइनेछ ।
* किसानहरूलाई स्थानीय स्तरमा नै माटो जाँच तथा विश्लेषण गर्न डिजिटल माटो परिक्षण शिविरको व्यस्थापन गरीनेछ ।
* रैथाने तथा स्थानीय जातका बाली उत्पादन वृद्धि गराई बजार प्रवर्द्धन गर्न रैथाने बाली उत्पादन कार्यक्रम सञ्चालन गरीनेछ ।
* कृषि पेशालाई आधुनिकीकरण, व्यवसायीकरण तथा प्रतिस्पर्धात्मक बनाउन आधुनिक कृषि यन्त्रीकरण जस्तै मिनिटिलर, मल्चिङ प्लाष्टिक, प्लाष्टिक पोखरी, थोपा सिँचाइ जस्ता प्रविधिमा अनुदानको सिमा वृद्धि गरीनेछ।
* कृषकलाई विभिन्न बाली वस्तु उत्पादन र बाली संरक्षणमा टेवा पुयाउने हेतुले प्राविधिक पुस्तिका प्रकाशन गरीनेछ ।
* पालिका स्तरिय अगुवा कृषक कृषक समूह कृषि सहकारी तथा जनप्रतिनिधिसँग दैमासिक गोष्ठीको व्यवस्था गरीने छ ।
* पशुपंक्षी प्रसार सेवालाई प्रभावकारी ढंगले सञ्चालन गर्नको लागि एक गाउँ, एक पशु प्राविधिकलाई निरन्तरता दिईनेछ ।
* कृषकहरुको क्षमता अभिवृद्धिलाई सहयोग पुग्ने गरी पशुपंक्षी सम्बन्धि प्राविधिक पुस्तिका प्रकाशन गरी वितरण गरीनेछ ।
* पशुपंक्षीपालनलाई निर्वाहमुखी पेशाबाट व्यावसायिक पेशामा लैजानको लागि विभिन्न तालिमकोसमेत आयोजना गर्नुपर्ने भएकोले “पालिकास्तरिय आवासिय कृषक तालिम” को व्यवस्था गरीनेछ ।

उद्योग तथा पर्यटन सम्बन्धी नीति तथा कार्यक्रम
* औधोगिक तथा व्यावसायिक विकासका लागि गाउँपालिकमा उद्योग वाणिज्य संघसँग साझेदारीको नीति लिइनेछ । औधोगिक प्रदर्शनी स्थलको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडी बढाइनेछ ।

* उद्योग व्यवसाय दर्ता, नविकरण, स्थानान्तरण तथा नामसारी जस्ता प्रशासनिक प्रकृयालाई सूचना प्रविधिको प्रयोग गरी सरलीकरण र प्रभावकारी बनाउन जोड दिइनेछ ।
* लगानीमैत्री नीति तथा औधोगिक पूर्वाधार सुदृढीकरण गर्दै उद्योग तथा पर्यटनको विकासको नीति लिइनेछ ।
* वैदेशिक रोजगारबाट प्राप्त रेमिटेन्सको व्यावसायिक तथा उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गर्ने विशेष पहल गरीनेछ ।
* सम्पूर्ण स्वदेशी कच्चा पदार्थ गरी उत्पादन गर्ने साना तथा मझौला उद्योगहरुलाई उत्पादन स्थलसम्म सडक पूर्वाधार तथा विद्युतिकरणको पहुँच पुराइनेछ।
* पर्यटन मार्फत आर्थिक समृद्धि हासिल गर्न गाउँपालिकाको पर्यटन गुरुयोजना तर्जुमा गरी सोही आधारमा पर्यटन पूर्वाधार विस्तार र पर्यटन विकासका कार्यक्रमहरु सञ्चालन गरीनेछ।
* विभिन्न जातजातिको परम्परागत पर्व, संस्कार र संस्कृतिहरुको प्रवर्द्धन गरीनेछ।
* मुख्य स्थान चोक र गाउँपालिका प्रवेशद्वारहरुमा पर्यटकीय क्षेत्रको परिचय सहित पर्यटक आकर्षण गर्न डिजिटल डिस्प्ले / बिलबोर्ड राखिनेछ ।
* अन्तर गाउँपालिका सम्बन्ध प्रबर्द्धन गर्दै अन्य स्थानीय तहहरुका असल अभ्यासलाई अनुसरण गरी पर्यटन प्रवर्द्धन गर्न थप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गाउँपालिकाहरुसँग भगिनी सम्बन्ध विस्तार गरीनेछ।

(ग) सहकारी सम्बन्धी नीति तथा कार्यक्रम
*सहकारीसँग सहकार्य गर्ने मूल उद्देश्यका साथ यस गाउँपालिका क्षेत्रभित्र स्थापना भएका सबै सहकारी संस्थाहरुको लगत संकलन, अद्यावधिक र नवीकरण गर्ने कार्यमा विशेष जोड दिदै, उक्त सहकारीहरुलाई लागत साझेदारीमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने नीति लिईनेछ ।

* सहकारी माध्यमबाट स्थानीय स्रोत श्रम, साधन सीप र पूँजीको अधिकतम परिचालन गरी आर्थिक, सामाजिक रुपान्तरण गरीनेछ ।

*  गाउँपालिकाभित्र रहेका सहकारी तथा वित्तीय क्षेत्रहरुसँग सहकार्य गरी उत्पादनमूलक कार्यक्रममा लगानीमैत्री वातावरण सिर्जना गरीनेछ ।
*  गाउँपालिकाभित्र रहेका सहकारी संस्थाको अनुगमन तथा नियमन गरी विषयगत कार्यप्रति उत्तरदायी बनाइनेछ ।


२. सामाजिक विकास
क.शिक्षा
१. आवश्यकता र वास्तविक जीवनसँग जोड्ने र काम सिकाउने जीवनपयोगी सीपमा आधारित शैक्षिक पाठ्यक्रमको विकास गरी एक विद्यालयबाट नमूनाको रूपमा शुरूआत गर्ने र क्रमशः सबै विद्यालयमा सो अनुसारको पठनपाठनको व्यवस्था मिलाईनेछ ।

२. शिक्षा नियमावली, शिक्षा नीति, बहुभाषा शिक्षा निर्देशिका जस्ता कानुनी तथा नीतिगत व्यवस्था मार्फत शिक्षा क्षेत्रको गुणस्तर नियमन एवं प्रवर्द्धन गरीनेछ ।
३.गाउँपालिकाको स्थानीय शिक्षा पाठ्यक्रम तर्जुमा गरी लागु गरीनेछ । त्यस्तो पाठ्यक्रममा अतिरिक्त क्रियाकलाप र विविध समुदायका जातिय तथा सांस्कृतिक पहिचानहरुको बोध गराउन अवलोकन भ्रमण पद्धतिबाट अभ्यास कक्षा र प्रयोगात्मक शिक्षा दिन जोड दिइनेछ ।
४. विद्यालय बाहिर रहेका र बिचमै विद्यालय छोड्ने बालबालिकाहरुलाई विद्यालय शिक्षा पुरा गर्न प्रोत्साहनका लागि विशेष प्याकेज सञ्चालन गरीनेछ ।
५. विद्यालयहरुको भौतिक पूर्वाधार, स्वास्थ्य तथा सरसफाईको सुविधा र आधारभूत खानेपानी सुविधा विस्तार गर्दै शिक्षकहरुको व्यावसायिक क्षमता विकासको लागि लगानी गरीनेछ ।
६. अंग्रेजी माध्यमबाट शिक्षा दिन इच्छुक सामुदायिक विद्यालयहरुलाई पूर्वाधार तथा शिक्षक दरबन्दी लगायतका कार्यमा प्रोत्साहन दिई निजी विद्यालय सरह सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न जोड दिइनेछ ।
७. विषयगत शिक्षकहरुको अभिलेख व्यवस्थापन गरी गाउँपालिकाको शैक्षिक विकासमा उनीहरुको अनुभवलाई उपयोग गरीनेछ ।
८. सामुदायिक विद्यालयहरुमा शिक्षक विद्यार्थी अनुपातमा विषयगत दरबन्दी एवं शिक्षक सरुवालाई व्यवस्थापन गरीनेछ ।
९. सबै विद्यालयहरुमा पुस्तकालय, विज्ञान र कम्प्युटर प्रयोगशाला स्थापनाको नीति लिइनेछ ।
१०. शैक्षिक प्रणाली मै रूपान्तरण ल्याउन पाठ्यक्रम विकास, पठनपाठनको व्यवस्थापन, अतिरिक्त क्रियाकलाप
व्यवस्थपान, शैक्षिक पात्रो व्यवस्थापन, अद्याविधक स्रोत व्यवस्थापन, विद्यालय अविभावक विचको सञ्चार व्यवस्थापन, अनलाई न शिक्षण तथा सिकाइ र दस्तावेजीकरण लगायतका क्षेत्रमा सूचना प्रविधिको प्रभावकारी उपयोग गरी सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा शैक्षिक व्यवस्थापन सूचना प्रणाली (EMIS) लागु गर्ने नीति अवलम्बन गरीनेछ ।

ख. स्वास्थ्य सम्बन्धी नीति तथा कार्यक्रम
* सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको नियमित स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाईने छ ।
* बर्थिङ्ग सेन्टर र स्वास्थ्य क्लिनिकहरुको सेवालाई स्तरोन्नति गर्ने क्रममा प्रयोगशाला सहितको सेवा उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिने छ ।
* महिला स्वयंसेविकाहरुको दक्षता विकास तालिम उपलब्ध गराई सेवालाई प्रभावकारी तुल्याइने छ । स्वास्थ्य क्लिनिकहरुले प्रदान गर्ने आधारभुत सेवाहरुको शुल्कलाई नियमन गरिनेछ ।
* स्वास्थ चौकीहरुमा ल्याब सेवा सञ्चालनका लागि आवश्यक पहल गरीनेछ ।
* गर्भवती सुत्केरी, अति गरीबको सूचीमा परेको जेष्ठ नागरीक, दलित तथा असक्त अपाङ्गहरुलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गरीनेछ ।
* सरुवा रोगहरु (डेंगी, टे.भी. कोरोना, मंकीपक्स) लगायतको रोगहरुको संक्रमणबाट बच्नका लागि रोकथाम तथा नियन्त्रणका लागि आवश्यक बजेट व्यवस्था गरी उपचार तथा प्रेषणको व्यवस्थामा जोड दिइनेछ ।
* प्रत्येक स्वास्थ्य संस्थालाई प्रविधिमैत्री बनाउनको लागि आवश्यक व्यवस्था गरीनेछ ।
* महिला प्रजनन् स्वास्थ्य ( पाठेघर तथा छातीको क्यान्सर) सम्बन्धी जनचेचनामूलक कार्यक्रम तथा स्वास्थ्य जाँच सम्बन्धी शिविरहरु सञ्चालन गरीनेछ ।
* क्लिनिक स्वास्थ्य सेवाको पहुँचमा वृद्धि गराउन गाउँघर क्लिनिक र खोप क्लिनिकलाई सुधार गरी सेवा प्रवाहमा थप सेवा दिइनेछ ।
* संस्थागत सुत्केरी संख्या बढाई मातृ तथा नवजातशिशु मृत्युदर घटाउन राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेविका परिचालन तथा प्रोत्साहन कार्यक्रममा निरन्तर दिइनेछ ।
* प्रत्येक वडामा रहेका बर्थिङ सेन्टरहरुबाट २४ सै घण्टा सेवा प्रवाहमा निरन्तरता दिन जोड दिनइनेछ ।
* ६० वर्ष नाघेका राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेविकालाई दीर्घकालिन सेवा सम्मानबाट पुरस्कृत गरीनेछ ।
* स्वास्थ्य बच्चाको वृद्धि महाभारतको समृद्धि भन्ने नाराको साथ कुपोषित बालबालिकाहरुको लागि आवश्यक पोषण कार्यक्रममा जोड दिइनेछ ।
*  घर्तिछाप स्वास्थ्य चौकीमा सञ्चालित ल्याव सेवालाई निरन्तरता दिई सेवाको दयरा थप गरी जनतालाई थप सेवा प्रदान गर्न व्यवस्था गरिनेछ ।
* ग्रामिण भिडियो एक्सरे सेवा कार्यक्रमलाई निरन्तरता दिने व्यवस्था मिलाईने छ ।
* घर्तिछाप स्वास्थ्य चौकीमा रहेको भ्याक्सिन सब-स्टोरलाई निरन्तरता दिइने छ ।

ग. खानेपानी तथा सरसफाई
* खानेपानीको जटिलतम समस्याको तत्कालिन, अल्पकालिन र दीर्घकालिन समाधानका लागि सम्भाव्य स्रोतहरूको खोजी तथा योजना तयार गरी खानेपानीको उत्पादन तथा वितरणको व्यवस्था मिलाईने छ ।
* जलाधार संरक्षण कार्यक्रम सञ्चालन गरी गाउँपालिकाभित्र रहेका भूमिगत पानीका मूलहरू, जलाधार र सिमसार क्षेत्रहरुको संरक्षण एवं प्रवर्द्धन गर्दै ती श्रोतहरुबाट खानेपानी आपूर्तिको प्रबन्ध मिलाई नेछ ।

* विभिन्न खोला, नदी तथा अन्य स्रोतबाट खानेपानीलाई आपूर्ति गर्ने व्यवस्थाको लागि प्राविधिक सम्भाव्यता अध्ययन गरी संघ सरकार र प्रदेश सरकारको सहकार्यमा निर्माण कार्य अघि बढाइनेछ ।
* सडक किनारा र सार्वजनिक स्थानहरुलाई हरियाली र सुन्दर तथा सफा राख्ने कार्य गरीनेछ ।
* टोल विकास संस्था र सामाजिक संघ संस्थाहरुसँग फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहकार्यको नीति लिइनेछ ।
* गाउँपालिकाका मुख्य स्थानहरुमा समुदायको सहकार्यमा उपयुक्त जग्गाको खोजी गरी सार्वजनिक शौचालयहरु निर्माण तथा सञ्चालन लाई अभियानका रुपमा अगाडी बढाइनेछ ।

घ. वातावरण, जलवायु परिवर्तनतथा विपद् व्यवस्थापन
* प्रमुख पूर्वाधार आयोजनाहरुको कार्यान्वयन गर्दा त्यस्ता आयोजनाहरुले वातावरणमा पार्ने असर न्यूनिकरणको लागि प्रारम्भिक वातावरणिय परिक्षण (IEE) र वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) अध्ययन गरिनेछ ।
* खाली जग्गामा वृक्षारोपण, हरियाली प्रवर्द्धन तथा वनको संरक्षण र हैसियतमा सुधार गरी जल, जमिन तथा वातावरणको संरक्षण र जीविकोपार्जनको अवसरमा वृध्दि गरीनेछ ।
* पोखरी संरक्षण, पहिरो तथा गल्छि नियन्त्रण, विकासका पूर्वाधारको संरक्षण र नदि नियन्त्रण गरी जल, जमिन तथा जलाधारको संरक्षण तथा उत्पादनमा वृद्धि गरिनेछ ।
* विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन तथा जलवायु उत्थानशील योजना तर्जुमा गरी सो अनुसार विपद पूर्व तयारी, विपद न्यूनीकरण, प्रतिकार्य र पुनर्स्थापनाको कार्यलाई व्यवस्थित र प्रभावकारी बनाइनेछ । ढुंगा गिट्टी बालुवा जस्ता नदीजन्य पदार्थ र अन्य प्राकृतिक श्रोतहरुको अनाधिकृत एवं अवैज्ञानिक दोहनलाई नियन्त्रण गरीनेछ ।
* सार्वजनिक निजी साझेदारीमा निर्माण पूर्वाधार निर्माण गरी फोहोर मैला प्रशोधन केन्द्रलाई व्यवसायिक रुपमा सञ्चालन गर्न नीतिगत तथा कानूनी व्यवस्था गरी फोहोर मैला संकलन, व्यवस्थापन र उपयोगको नीति लिइने छ ।
* भुकम्पीय जोखिम न्यूनिकरणको लागि भुकम्प प्रतिरोधी भवन तथा संरचना निर्माण कार्यलाई प्राथमिकता दिइनेछ ।
* विपद् जोखिम व्यवस्थापन कोषमा रकम अभिवृद्धि गर्दै प्रभावकारी श्रोत परिचालन गरिनेछ । गाउँपालिकाको विपद् जोखिम नक्साङ्कन गरी सोही आधारमा विशिष्ट प्रकृतिका विपद् जोखिम प्रतिकार्य तथा पुनर्उत्थान कार्यक्रमहरु सञ्चालन गरीनेछ ।
* सम्वेदनशील जलाधार क्षेत्रका जमिनहरुको अतिक्रमण नियन्त्रण गरिनेछ ।

ङ. संस्कृति सम्बन्धी नीति तथा कार्यक्रम
* गाउँपालिकालाई खुल्ला बहुसांस्कृतिक संग्रहालयको रुपमा विकास गर्न पूर्वाधार निर्माण गर्दा बहुसांस्कृतिक पहिचान र मौलिकता झल्किने वास्तुकला, मूर्तिकला, चित्रकला जस्ता symbol हरु निर्माण गरिनेछ ।

* गाउँपालिकाभित्र बोलिने विभिन्न जातजातिका मातृ भाषाहरुको संरक्षण गर्दै त्यस्ता भाषाको लिपी तथा व्याकरण लेखन तथा प्रकाशन गर्ने नीति लिइनेछ ।

युवा तथा खेलकुद सम्बन्धी नीति तथा कार्यक्रम
* खेलकुदको विकास गर्न विभिन्न खेलहरुका लागि खेलकुद मैदान लगायतका खेल पूर्वाधार निर्माण तथा मर्मत सम्भार गरीनेछ ।
*  वैदेशिक रोजगारबाट फर्केका युवाहरुले आर्जन गरेको ज्ञान र सिप सदुपयोग गर्दै स्वरोजगार र उद्यमशीलता विकासका लागि गाउँपालिकाको स्थानीय आर्थिक विकास योजना अन्तरगत समावेश भएका नवप्रवर्तनशील, लगायतका प्रोत्साहनमुखी कार्यक्रमसँग आबद्ध गरीनेछ ।
* युवा उद्यमशिलता विकासका कार्यक्रमहरु मार्फत युवालाई “विदेश हैन बिजनेस” भन्ने भावना जागृत तुल्याई स्वरोजगार उन्मुख गराइनेछ ।
युवा बेरोजगारी न्यूनिकरणका लागि सरकारी, गैरसरकारी, सहकारी तथा निजी क्षेत्रको समन्वय र सहकार्यमा सिप तथा उद्यमशील क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरीनेछ ।
* गाउँपालिकाका गौरवका रुपमा रहेका खेलकुद प्रतियोगिताहरु आयोजना गर्न सहकार्य र साझेदारी गरीनेछ।
छ. लैङ्गिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी नीति तथा कार्यक्रम
*  लैङ्गिक विभेद अन्त्य गर्दै लैङ्गिक समानता र सामाजिक समावेशिकरण सम्बन्धी नीति तथा कार्यक्रम कार्यान्वयन गरीनेछ ।
महिला, बालबालिका, अल्पसंख्यक, भूमिहिन, अति गरीब, आदिवासी जनजाति र सामाजिक बहिस्करणमा परेका वर्गको लागि उत्थानशील कार्यक्रमहरु सञ्चालन गरीनेछ ।
* ऐतिहासिक कालदेखि जीवन निर्वाहको रुपमा अपनाइ आएका परम्परागत पेशालाई व्यवसायिक उद्यमको रुपमा विकास गर्न पुँजी लगानी सहयोग गरिनेछ ।
*  विकासका कार्यक्रमहरुमा टोल विकास संस्थाहरुलाई प्रभावकारी रुपमा सहभागी गराइनेछ, सघ परिचालन गरीनेछ ।
*  अपाङ्गता पुनस्थापनाको लागि पुनर्स्थापन कार्यक्रमहरु सञ्चालन गरीनेछ ।
*  ज्येष्ठ नागरीक परिचयपत्र वडास्तरबाट नै उपलब्ध गराउने व्यवस्था मिलाईनेछ ।
*  गाउँपालिकालाई सडक मानव मुक्त गाउँपालिका बनाइनेछ ।
*  “हिंसा मुक्त गाउँपालिकाहाम्रो पहिचान” अभियान सञ्चालन गरी सबै प्रकारका हिंसा विरुद्ध शुन्य सहनशिलता नीति लिइनेछ ।
*  गाउँपालिकाको बजेट तथा कार्यक्रममा लैङ्गिक परीक्षण गर्ने व्यवस्था मिलाई नेछ ।
*  गर्भवती महिलाहरुको लागि आमा सुरक्षा कार्यक्रम र नवजात शिशुको लागि पोषण कार्यक्रम सञ्चालन गरीनेछ ।
*  गाउँपालिकाका बालमैत्री घोषणा हुन बाँकी सबै वडाहरुलाई आ. व. २०८०/८१ भित्र बालमैत्रि वडा घोषणा गर्ने कार्यलाई अगाडि बढाइनेछ ।

३. भौतिक पूर्वाधार विकास
*  आवधिक योजना र वस्ती विकास योजना तर्जुमा गरी कार्यान्वयन गरीनेछ ।
*  पूर्वाधार निर्माणका आयोजनाहरु सञ्चालन गर्दा लागत लाभ विश्लेषणका आधारमा उच्च नतिजा एवं
* प्रतिफल दिने, समतामुलक विकासको आधारको रुपमा रहने, पिछडिएका र कम विकसित क्षेत्रलाई मूल प्रवाहिकरणमा ल्याउन सहयोग गर्ने आयोजनाहरु पहिचान गरी “आयोजना बैंक ” तयार गरीने छ । सो बैंकमा समाविष्ट आयोजनाहरुमा मात्र बजेट विनियोजन गर्ने नीति लिइनेछ ।
*  गाउँपालिकाको भूउपयोग क्षेत्र निर्धारण गरी वस्ती विकास योजना सहित भौतिक विकास गुरुयोजना तयार गरी आवास तथा वस्ती विकास, भवन तथा सार्वजनिक निर्माण लगायत पूर्वाधार निर्माण कार्य व्यवस्थित र गुणस्तरीय रूपमा सञ्चालन गरीनेछ ।
*  दीर्घकालिन लगानी मार्ग दर्शनका लागि गाउँपालिका सडक गुरुयोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ ।
*  गाउँपालिकाको विकासमा रुपान्तरणकारी परिवर्तन ल्याउन सक्ने केही ठूला आयोजनाहरु पहिचान गरी गाउँपालिका गौरव आयोजनाका *  रुपमा कार्यान्वयन गरीनेछ र त्यस्ता आयोजनामा श्रोतको अभाव हुन दिइने छैन ।
*  विगत देखिका निर्माणाधिन तथा अधुरा योजनाहरुलाई सम्पन्न गर्न गरिनेछ ।रुपमा बजेट विनियोजन
*  घर निर्माणमा जनताको अनुत्पादक खर्च नहोस् र पूँजी चलायमान होस् भन्ने उद्देश्यले घर निर्माण गर्नु पूर्व नागरीकलाई घरको आवश्यकता, *  घरको लागत, मापदण्ड र उपयोग सम्बन्धमा निःशुल्क परामर्श दिईनेछ ।
*  गाउँपालिकाभित्र भु-उपयोग नीति लागू गर्दै जाने नीति लिइनेछ ।
*  गाउँपालिकाभित्र सडकको मापदण्डलाई आवश्यकताको आधारमा कायम गरी सडक मापदण्डको समस्यालाई समन्वय गरी समाधान गरीनेछ ।
*  गाउँपालिकाको स्वामित्वमा रहेको भौतिक संरचनाहरुको आवधिक रुपमा मर्मत सम्भार कार्य सम्पन्न गरीनेछ ।
*  गाउँपालिकाको सीमा क्षेत्र यकिन गरी गाउँपालिका सीमानामा कलात्मक तथा गाउँपालिकाको ऐतिहासिक मौलिकता झल्किने गरी स्वागतद्वारहरुको निर्माण गरीनेछ ।
*  विभिन्न कालखन्डमा गाउँपालिकामा निर्माण भएका पुर्वाधारका संरचना ( पूँजीगत सम्पति) को लगत तयार अद्याविधक तथा मुल्यांकन गरी सार्वजनिक सेवा प्रभावमा प्रभावकारी उपयोग सम्बन्धी योजना (Asset Management Plan) तयार गरी कार्यान्वयन गरीनेछ ।
*  प्रभावकारी सम्पति व्यवस्थापनका लागि सम्पति व्यवस्था सूचना प्रणाली (Asset Management Information System) तयार गरी लागु गरीनेछ ।
*  पूर्वाधारका योजनाको निर्माण तथा सञ्चालनमा निजीक्षेत्रसँगको साझेदारीका लागि विभिन्न आयोजना तयार गरी कार्यान्वयन गरीनेछ ।

ख सुशासन, सार्वजनिक सेवा तथा क्षमता विकास सम्बन्धी नीति तथा कार्यक्रम
*  गाउँपालिकाभित्रका नागरीकहरुको गुनासो तथा सेवा सम्बन्धी जिज्ञासा सुन्ने र सो को सम्बोधन अनलाईन प्रणाली कै माध्यमबाट गर्ने गरी नागरीक गुनासो व्यवस्थापन प्रणाली (Citizen Grievances Response App) तयार गरी लागु गरीनेछ ।
*  आर्थिक तथा प्रशासनिक अनुशासन कायम गर्ने सम्बन्धमा बाँकीको बक्यौता, पेश्की, बेरुजु लगत विवरण अद्यावधिक गरी कडाईका साथ असुल उपर एवम् फछ्यौट गर्ने कार्य अगाडी बढाईनेछ ।
*  प्रत्ये क महिनाको आय / व्ययको मास्केवारी गाउँपालिका तथा वडा कार्यालयको सूचनापाटि तथा वेबसाइटमा प्रकाशित गर्ने गरी कार्य अगाडि बढाइनेछ ।
*  जनप्रतिनिधिहरु तथा कर्मचारीहरुको सीप तथा क्षमता अभिवृद्धिको लागि आवश्यक तालिम, गोष्ठी तथा अध्ययन अवलोकन भ्रमण कार्यक्रमलाई परिणाममुखी बनाईनेछ ।
*  गाउँपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवा र विकास निर्माणमा हुनसक्ने भ्रष्टाचार, अपारदर्शिता तथा ढिलासुस्तीमा शुन्य सहनशीलताको नीति अख्तियार गरीनेछ । सो कार्यलाई प्रभावकारी बनाउन प्रत्येक वडा कार्यालयहरु र सार्वजनिक स्थानहरुमा गाउँपालिकाको तर्फबाट सुझाव पेटिकाहरु राखिने छ । गाउँपालिकाबाट प्रवाह हुने योजना, लेखा, नक्सा, राजश्च लगायत सबै सेवाहरुमा सफ्टवेयर निर्माण गरी कागज विहीन प्रणाली बनाउन विद्युतीय प्रणालीलाई जोड दिईने छ ।
*  गाउँपालिकाको काम कारबाहीलाई व्यवस्थित, पारदर्शी तथा सम्पुर्ण नागरीक समक्ष पुर्याउन “हाम्रो गाउँपालिका” नामक मोबाइल एप्स निर्माण गरी वडा पत्रहरु, सूचनाहरु र गाउँपालिकाप्रोफाईल आदिको जानकारी प्रदान गर्ने साथै फ्रि वाईफाई जोन बनाउने नीतिलाई अगाडि बढाइनेछ ।
*  गाउँपालिकाको सुरक्षालाई चुस्तदुरुस्त एवम् प्रभावकारी बनाउन वडाका विभिन्न ठाउँमा, पर्यटकीय स्थल तथा सुरक्षा संवेदनशील * * * * * *  क्षेत्रहरुमा सि. सि. टि. भि. क्यामेरा जडान गर्ने कार्य अगाडि बढाइनेछ । गाउँपालिकाभित्रका सार्वजनिक तथा सरकारी जग्गाहरुको मिहिन ढंगले खोज तथा अध्ययन गरी अभिलेख राखी त्यस्ता जग्गाहरुको संरक्षण गरीनेछ ।
*  गाउँपालिकाभित्र रहेका असंगठित क्षेत्रका मजदुरहरुको तथ्याङ्क संकलन तथा अभिलेख व्यवस्थापन गरी निजहरुको रोजगार तथा सेवाको सुरक्षा र निजहरुको हित प्रवर्द्धन कार्यक्रम सञ्चालन गरीनेछ । सार्वजनिक खर्चलाई वैज्ञानिक अनुमान योग्य र नतिजामुखि तुल्याउन मध्यकालिन खर्च संरचना (MTEF) पद्धति निर्माण गरी प्रयोगमा ल्याइनेछ ।
*  संघीय सरकार, प्रदेश सरकार र अन्य स्थानीय तहहरुसँग आपसी सहकार्य र समन्वयको लागि अन्तर समन्वय तथा सहकार्य नीति तर्जुमा गरीनेछ ।

४ राजस्व तथा आन्तरिक श्रोत परिचालन नीति तथा कार्यक्रम
* आन्तरिक आय व्यवस्थापन, प्राकृतिक स्रोत बिक्रि सम्बन्धी ऐन तथा नियमावली तर्जुमा गरी राजस्व परिचालनलाई थप व्यवस्थित तुल्याइनेछ ।
* आन्तरिक आयका स्रोतहरूको सम्भाव्यता अध्ययन, राजश्व बाँडफाँड, अन्तर सरकारी वित्तीय हस्तान्तरण, तथा गैससको स्रोत परिचालनको लागि स्थानीय सरोकारवाला, प्रदेश सरकार, र नेपाल सरकारका निकाय तथा गैसस र विकास साझेदार संग परामर्श, समन्वय र साझेदारी गरीनेछ ।
* करको दर सम्भव भएसम्म न्यूनतम गर्दै करको दायरा विस्तार गर्ने नीति लिइनेछ। प्रगतिशिल कर प्रणाली अवलम्बन गरी नागरीकहरु बिच रहेको असमानता न्यूनिकरण गर्दै लगिनेछ ।
* गाउँपालिकाको आन्तरिक राजस्व अभिवृद्धिका लागि करका नयाँ सम्भाव्य क्षेत्रहरु पहिचान गरीनेछ । ढुंगा, गिट्टी बालुवा जस्ता नदीजन्य पदार्थको करको दायरामा ल्याई गाउँपालिकाबाटै उत्खनन गरी बिक्री गर्ने विधि अवलम्बन गरीनेछ ।
* करदाताहरुलाई आफुले तिर्नु पर्ने मोटामोटी कर दायित्व र कर तिर्ने समयसीमा समयमै जानकारी दिन निजहरुको सेल नम्बरमा विद्युतिय प्रणालीद्वारा सन्देश प्रावहित गर्ने नीति लिइनेछ ।
* कर प्रशासनलाई सूचना प्रविधिमैत्री एवं करदातामैत्री तुल्याउदै लगिनेछ ।

५ स्थानीय तथ्याङ्क संकलन र अभिलेख व्यवस्थापन (सामाजिक सुरक्षा तथा पञ्जीकरण)
*सबै वडाहरुमा व्यक्तिगत घटना दर्ता अनलाईन प्रणालीबाट सुचारु गरीने छ ।
* सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई व्यवस्थित गर्न अनिवार्य बैंकिङ प्रणालीबाट वितरण र वर्षमा कम्तिमा एक पटक भुक्तानी शिविरको व्यवस्था मिलाईनेछ ।
* साविक गाविस हुँदा बखतदेखिका अभिलेखहरुलाई कम्प्युटराईज गरी सुरक्षित राख्ने प्रयत्न गरीनेछ । घटना दर्ता सप्ताह बैशाख १ ७ सम्पुर्ण वडा कार्यालयहरुमा विभिन्न कार्यक्रमको आयोजना गरीमनाइने छ ।

६ वित्तीय
* गाउँपालिका क्षेत्रभित्र संचालित वित्तीय संस्थाहरुलाई विपन्न र पिछडिएको समुदायमा परिचालन गर्न प्रोत्साहन गरीनेछ ।
* गाउँपालिका क्षेत्रमा संचालित बैंक तथा वित्तीय संस्थाहरुलाई गाउँपालिकामा दर्ता हुन र नयाँ वित्तीय संस्था खोल्नु पूर्व अनिवार्य रुपमा गाउँपालिकाको स्वीकृति लिनु पर्नेछ ।
गाउँपालिका भित्र रहेका वित्तीय संस्थाहरुको अनुगमन तथा नियमन गरी विषयगत कार्यप्रति उत्तरदायी बनाइनेछ ।

७. प्रधानमन्त्री रोजगार कार्यक्रम तथा युवा स्वरोजगार कार्यक्रम
* प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि आवश्यक पर्ने निर्माण सामग्री तथा अन्य सामाग्री स्थानीय तहको लागत साझेदारीमा खरिद गरिने छ ।
* यस आर्थिक वर्ष देखि बैदशिक रोजगारीमा जाने व्यक्तिहरुका लागि श्रम स्विकृती र पुन श्रम स्विकृती यसै कार्यालयबाट लिने व्यवस्था गरिने छ ।
* आगामी आव देखि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप प्रभावकारी बनाउन बेरोजगार आवेदन फाराम भर्न भराउन बेरोजगार युवा पुस्तालाई प्रोत्साहन गरीने छ ।
* यस गाउँपालिको बेरोजगार तथ्याङ्क विवरणमा रहेका युवाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन प्रोत्साहन गरिने छ ।

८. गरीबी निवारणको लागि लघु उद्यम विकास
*  गरीबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरीनेछ ।

अन्त्यमा,
जनाधारको अभिमत र सामाजिक तथा आर्थिक परिवर्तनलाई रुपान्तरणको खाकातिर लैजाने कार्य सोचसहित आर्थिक वर्ष ०८०।०८१ को नीति तथा कार्यक्रम प्रस्ताव गरेको छु । प्रस्तुत नीति तथा कार्यक्रम महाभारतको भविष्यको मार्गदर्शक दस्तावेज हो । पालिकालाई सम्वृद्ध बनाउन सबै गाउँपालिकाबासीको आ- आफ्नो ठाउँमा उत्तिकै महत्त्वपूर्ण भूमिका छ । यो नीति तथा कार्यक्रम सरकारी, गैरसकारी, निजी, सहकारी लगायत विकासका सबै साझेदार वा पक्षधरको लागि मार्गचित्र हो । गाउँपालिकाको विकास सबैको विकास हो । यसैले विकास निर्माणका काममा आ- आफ्नो क्षेत्रबाट सहयोग पुर्याउन र रचनात्मक सुझाव, सल्लाह दिन हामी पालिकाबासीलाई हार्दिक आग्रह गर्दछौं । हामीले पालिकाबासीबाट प्राप्त रचनात्मक सुझाव, सल्लाहलाई सधैं आत्मसात गर्नेछौं । विकास निर्माणका काममा हामीहरु सबैमा एउटै दृष्टिकोण हुनुपर्छ भन्नेमा हामीहरु दृढ छौं । केन्द्रीय, प्रादेशिक क्षेत्रगत र स्थानीय येजनाबीच तादाम्यता कायम गरी पालिकाको सर्वाङ्गीण विकास र समृद्धिको स्पष्ट दृष्टिकोण सहितको दीर्घकालिन योजना निर्माणको पथमा हामी छौं ।

महाभारत गाउँपालिकालाई जनअपेक्षा अनुरुप विकासका चाहना पुरा गर्ने, स्थानीय सरकार र स्थानीयवासी बिचको सुमधुर सम्बन्ध कायम गर्ने, आधुनिक प्रविधि र मौलिक पहिचानको सम्मिश्रणबाट महाभारतलाई समृद्ध बनाउने हाम्रो दृढ सङ्कल्प अविचलित छ । यस अवसरलाई सदुपयोग गर्दै सम्पूर्ण गाउँपालिकावासीलाई स्वच्छ, निष्पक्ष, न्यायपूर्ण र प्रतिबद्ध नेतृत्व प्रदान गरीनेछ । प्रस्तावित नीति तथा कार्यक्रमको सफल कार्यान्वयनबाट सामाजिक आर्थिक क्षेत्र गतिशील भई आर्थिक वृद्धि र पारस्परिक सम्मान र अवसरसहित सामाजिक न्याय कायम हुनेछ । यो नीति तथा कार्यक्रम कार्यान्वयनमा सबै क्षेत्रबाट सक्रिय सहयोग हुने विश्वास लिएको छु । अन्तमा, महाभारतको समग्र विकासमा योगदान गर्ने राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, शिक्षक, नीजि सहकारी र सामुदायिक क्षेत्र, श्रमिक वर्ग, नागरीक समाज, सञ्चार जगत लगायत सम्पूर्ण दिदीबहिनी दाजुभाई तथा विकास साझेदार संस्थाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

कान्छालाल जिम्बा

अध्यक्ष

महाभारत गाउँपालिक, काभ्रे

२०८० असार १० आइतवार

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय