काठमाडौं । वेस्टइन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी–२० सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी भएको छ।
पाँच खेलको सिरिज अन्तर्गत नेपालले पहिलो र अन्तिम गरी दुई खेल जितेको हो। यद्दपि तीन खेल लगातार हार्दै सिरिजको उपाधि भने हात पार्न सकेन।


टी–२० विश्वकप तयारीका लागि खेलिएको खेलमा नेपाली टप अर्डरको लगातारको खराब फर्म भने अन्तिम खेलमा सुधार गरेका छन्।
१७३ रनको लक्ष्य पछ्याएको नेपालले ७ बल बाँकी छँदै चार विकेट गुमाएर पूरा गर्यो। पहिला टस जित्दै ब्याटिङ गरेको वेस्टइन्डिजले ७ विकेट गुमाएर १७२ रन बनाएको थियो।
नेपालका लागि आशिफ शेख र अनिल साहले अर्धशतक प्रहार गरेका छन्। साहले ४५ बलमा ५८ रन बनाए भने शेखले ३५ बलमा ५१ रन बनाए।
यस्तै कुशल मल्लले पनि आक्रामक ब्याटिङ गर्दै खेल फिनिस गरे। मल्लले मात्र १८ बलमा ३ छक्का र ३ चौकाको सहयोगमा ३७ रनको नटआउट पारी खेले।










