बागलुङ । काठेखोला गाउँपालिका भलिबल संघको आयोजनामा हरितालिका तीजको अवसरमा सञ्चालित काठेखोला गाउँपालिका स्तरीय खुला महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ।
भदौ २७ र २८ गते श्री भीमसेन माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा लक्ष्मी माध्यमिक विद्यालय, धम्जा प्रथम भएको छ। कुल पूजा व्यवस्थापन समिति, लेखानी कादेश द्वितीय र श्री जनता माध्यमिक विद्यालय, धम्जा तृतीय भएका छन्।


प्रतियोगितामा काठेखोला गाउँपालिकाभित्रका ७ वटा महिला भलिबल टोली सहभागी भएका थिए।
प्रतियोगिताको उद्घाटन काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा अध्यक्ष थापाले महिला खेलाडीको प्रतिभा पहिचान, क्षमता विकास तथा खेलकुदमार्फत महिला सशक्तीकरणका लागि स्थानीय तहले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो।
उहाँले गाउँपालिकाभित्र खेलकुदको विकासका लागि स्थानीय खेलकुद संघ, विद्यालय, क्लब तथा सरोकारवालासँग समन्वय र सहकार्य गर्दै खेलाडीलाई प्रतिभा प्रदर्शन गर्ने अवसर सिर्जना गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो।
कार्यक्रममा कला, संस्कृति तथा खेलकुद विकास समितिका संयोजक टिका संगम वि.क., काठेखोला–६ का वडाध्यक्ष बृहस्पति शर्मा, जिल्ला भलिबल संघ बागलुङका उपाध्यक्ष किशोर थापा तथा गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा लगायतले महिला खेलकुदको विकास र स्थानीयस्तरबाट प्रतिभावान खेलाडी उत्पादनमा यस्ता प्रतियोगिताको महत्व रहेको बताउनुभयो।
काठेखोला गाउँपालिका भलिबल संघका अध्यक्ष मिलन थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघकी महिला उपाध्यक्ष चित्रा श्रीसले स्वागत तथा सचिव कमल थापाले सञ्चालन गर्नुभएको थियो।
समापन कार्यक्रममा विजेता, उपविजेता तथा तृतीय हुने टोलीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। आयोजक संघले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने गाउँपालिका, विद्यालय, वडा कार्यालय, प्रायोजक, रेफ्री, खेलाडी तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरेको छ।










