काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकको अन्तिमतिर दलमा आवद्ध र चुनाव लड्ने तयारीमा रहेका मन्त्रीलाई राजीनामा दिन अनुरोध गरिन् । वर्तमान सरकारमा दलमा आवद्ध व्यक्ति नै मन्त्री बनेको भन्दै चौतर्फी प्रश्न उठेपछि उनले यस्तो अनुरोध गरेकी थिइन् ।

वर्तमान सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता चुनावी प्रतिष्पर्धाको तयारीमा देखिएका छन् ।

घिसिङ रास्वपाको उपसभापति हुन् भने बाँकी दुई जना पनि सोही पार्टीबाट चुनाव लड्ने तयारी गरिरहेका छन् ।

प्रधानमन्त्रीको अनुरोधपछि पनि राजीनामा नदिएका मन्त्री घिसिङले मंगलबार एउटा अभिव्यक्ति दिए– मैले आजसम्म कुनै पनि पार्टीको सदस्यता लिएको छैन ।”

उनले दिएको उक्त अभिव्यक्तिले नै अप्ठेरो पारेको उनीनिकट स्रोतहरु बताउँछन् ।

त्यसपछि रास्वपालगायतका दल र बाहिरबाट झनै धेरै प्रश्न उठिरहेको बताउँदै कुलमान निकट स्रोतले भन्यो– अब राजीनामा दिएर चुनावमा होमिने तयारी थाल्नुभएको छ ।”

कहिले राजीनामा दिनुहुन्छ भनी बाह्रखरीले गरेको प्रश्नमा उनले भने– सम्भवतः १–२ दिनभित्रमा दिनुहुन्छ होला ।”

आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकिएको छ । चुनावका लागि माघ ६ गते मनोनयन दर्ताको कार्यसूची छ ।

त्यसअघि नै राजीनामा दिएर मात्रै चुनावमा भाग लिने तयारी छ ।

प्रधानमन्त्रीले राजीनामा माग्दा पनि नदिने मुड बनाएका मन्त्री घिसिङले दिएको अभिव्यक्तिपछि निकै अप्ठेरो परेको र त्यसले आगामी चुनावमा असर पर्न सक्ने भन्दै राजीनामा दिन सुझाव नजिककाले दिएको स्रोत बताउँछ ।
उज्यालो नेपाल पार्टीका संस्थापकसमेत रहेका घिसिङले यसअघि पार्टी खोल्न, राजनीतिक गतिविधिमा सहभागी हुन नपाउने भनेर कानुनमा नलेखिएको भन्दै तर्क गर्दै आएका थिए ।

प्रधानमन्त्रीको अनुरोधअघि नै जेनजी मुभमेन्ट नेपालले नागरिक सरकारमा दलीय मन्त्री हुन नपाउने भन्दै मन्त्री घिसिङ र प्रधानमन्त्रीका सल्लाहकार गोविन्द नारायणलाई बर्खास्त गर्न माग गरेको थियो ।

खुलेआम राजनीतिक दलका गतिविधिमा संलग्न भएको भन्दै सरकारको दल निरपेक्ष चरित्रमाथि मुभमेन्टले प्रश्न उठाउँदै भनेको छ, “आफूलाई नागरिक र दलनिरपेक्ष सरकारका रूपमा प्रस्तुत गर्ने सरकारले आफ्नै पदाधिकारीलाई खुला रूपमा पार्टी गतिविधिमा संलग्न हुन दिएको तथ्यले यो सरकार वास्तवमा कसको हो भन्ने प्रश्न नेपाली जनतामाझ गहिरिँदै गएको छ ।”

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय