काभ्रेपलाञ्चोक । महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा ‘संसार’ ‘४० मुनिका ४० प्रभावकारी व्यक्तित्व’का रूपमा सम्मानित भएका छन्।
अनलाइन खबरको आयोजनामा सम्पन्न कार्यक्रममा सामाजिक सञ्जालकर्ताहरूको सिफारिस तथा पूर्व न्यायाधीशहरूको स्वतन्त्र मूल्याङ्कनका आधारमा जिम्बालाई छनोट गरिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उनलाई सम्मान गरिएको थियो।


२६ वर्षको उमेरमा २०७४ सालमा महाभारत गाउँपालिकाको अध्यक्षमा निर्वाचित जिम्बा अहिले दोस्रो कार्यकालमा छन्। काभ्रेको विकट डाँडापारि क्षेत्रमा सडक, विद्युतीकरण, कृषि, स्वास्थ्य तथा सुशासनका क्षेत्रमा भएका कामका कारण उनी चर्चामा छन्।
उनको नेतृत्वमा पालिकाले सडक विस्तार, पूर्ण विद्युतीकरण, कफी खेती प्रवर्द्धन, घरदैलो स्वास्थ्य सेवा तथा गर्भवती–सुत्केरीको हेलिकोप्टर उद्धारजस्ता कार्यक्रम अघि बढाएको छ। महालेखा परीक्षकका पछिल्ला तीन वार्षिक प्रतिवेदनमा पालिकाले लगातार शून्य बेरुजु कायम गरेको बताइएको छ।
सम्मानपछि जिम्बाले प्राप्त सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि आगामी दिनमा समाज र राष्ट्रका लागि अझ जिम्मेवार भएर काम गर्ने प्रेरणा र जिम्मेवारीका रूपमा लिएको बताएका छन्।
‘सम्मानले खुशी मात्र होइन, अझ राम्रो गर्ने जिम्मेवारी पनि थपिदिन्छ,’ उनले भनेका छन्।











