काभ्रे । जिल्लाको खानीखोला गाउँपालिकामा किसानलाई उन्नत जातका बोयर बोका वितरण गरेका छन् । गाउँपालिकाको पशुसेवा शाखाको आर्थिक वर्ष ०७८/७९ को वार्षिक कार्यक्रमअनुसार प्रजननका लागि वडा नम्बर ३ र ४ का बाख्रा पालक किसानलाई २२ वटा बोयर बोका वितरण गरिएका हुन् ।
गाउँपालिकाको पशु शाखाले उन्नत जातको बोकाबाट प्रजनन राम्रो हुने र स्थानीय किसानलाई आम्दानीका लागि सहज हुने भएकाले बोयर जातीको बोका वितरण कार्यक्रम ल्याइएको जनाइएको छ । गाउँपािलकाको पशु शाखाले वडा नं. ३ मा १२ वटा र वडा नं. ४ मा १० वटा गरी २२ वटा बोका वडा नं. ३ र ४ का विभिन्न अगुवा बाख्रा पालक तथा आमा समुहमा आबद्ध किसानहरुलाई उन्नत जातको बाख्रा उत्पादनमा जोड दिदै वितरण गरिएको हो ।


खानीखोला४ का वडा अध्यक्ष निशान मोक्तानले स्थानीय प्रजातिका बिरबोकाबाट प्रजनन राम्रो नहुने भएकाले उन्नत जातको बोका वितरण गरिएको बताए । त्यस्तै खानीखोला–३ को वडा अध्यक्ष सागर जिम्बाका अनुसार बाख्रापालन ब्यवसायलाई प्रवर्धन गर्ने उदेश्यले बोयर बोका वितरण गरेको हो ।
फुलडाँडा बाख्रा पालन समुहको आयोजनामा बोयर बोका गाउँपालिका र बाख्रा पालक समुह तथा आमा समुहले ५०/५० प्रतिशत आर्थिक व्यहोरी १५ लाख बराबरको बोका वितरण गरिएको हो । काभ्रेको विकट तथा पहाडी क्षेत्रमा बाख्रापालन ब्यवसाय धेरै नै रहेको भएपनि उन्नत जात र आवश्यक ज्ञानको अभावमा उल्लेख्य आम्दानी भईरहेको छैन ।
खानीखोला–४ मा ज्ञान ज्योति समुह (ट्याक नं. ४०००), फुलडाँडा बाख्रा पालन समुह (ट्याक नं. ३११३), प्रगतीशील आमा समुह (ट्याक नं. ३६०२०), गायाबारी आमा समुह (ट्याक नं. ४३७१७), बाँसघारी आमा समुह (ट्याक नं. ३२६८), सयपत्री आमा समुह (ट्याक नं. २९७९), हिरा आमा समुह (ट्याक नं. ३६०२), परिर्वतनशील समाज समुह (ट्याक नं. ३५१६), जगथली आमा समुह (ट्याक नं. ३२८४), सिरुटार आमा समुह (ट्याक नं. ७०५)लाई १/१ वटा बोयार बोका वितरण गरिएको छ ।











