काभ्रे । जिल्लाका स्थानीय तहमा ३१ करोड बढी बेरुजु देखिएका छन् । बुधबार महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५९ औँ वार्षिक प्रतिवेदनअनुसार काभ्रेका १३ स्थानीय तहको आर्थिक वर्ष २०७७/७८ मा ३१ करोड ४० लाख ७८ हजार बेरुजु देखिएका हुन् ।
महालेखापरीक्षाको प्रतिवेदनअनुसार काभ्रेको महाभारत गाउँपालिकाको सबैभन्दा धेरै र पनौती नगरपालिकाको कम बेरुजु देखिएको छ । महाभारत गाउँपालिकाको बेरुजु ३ करोड ९२ लाख अर्थात ४.६० प्रतिशत बेरुजु रहेको छ । प्रतिवेदनअनुसार महाभारत गाउँपालिकाले ८५ करोड २७ लाख ११ हजारको लेखापरीक्षण गरेका थिए ।


जिल्लामा सबैभन्दा कम बेरुजु देखिएको पनौतीको १ करोड ४५ लाख ९१ हजार अर्थात् जम्मा खर्चको ०.६८ प्रतिशत रकम बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । उक्त नगरपालिकाको २ अर्ब १५ करोड ८५ लाख ९१ हजारको लेखापरीक्षण भएको थियो ।
काभ्रेको पाँचखाल नगरपालिकाको १ करोड ५९ लाख ९३ हजार अर्थात् ०.९६ प्रतिशत, बनेपाको ३ करोड ५१ लाख ३० हजार अर्थात् १.५३ प्रतिशत, धुलिखेलको ३ करोड ३१ लाख ८७ हजार अर्थात् १.९३ प्रतिशत, नमोबुद्धको २ करोड ९३ लाख १७ हजार अर्थात् २.३१ प्रतिशत र मण्डनदेउपुर नगरपालिकाको ४ करोड ७८ लाख १९ हजार अर्थात् २.७१ प्रतिशत रकम बेरुजु देखिएको छ ।
त्यसैगरी राशी गाउँपालिकाको १ लाख २४ लाख ७३ हजार अर्थात् १.०२ प्रतिशत, चौरीदेउरालीको १ करोड ७८ लाख ७१ हजार अर्थात् १.०४ प्रतिशत, भुम्लुको १ करोड ७१ लाख १५ हजार अर्थात् १.४६ प्रतिशत र बेथानचोकको १ करोड ७२ लाख ७३ हजार अर्थात् १.८७ प्रतिशत रकम बेरुजु रहेको छ ।
खानीखोलाको १ करोड ४५ लाख ४० हजार अर्थात् १.९३ प्रतिशत र तेमाल गाउँपालिकाको २ करोड ५५ लाख ६९ हजार अर्थात् २.३९ प्रतिशत बेरुजु रहेको महालेखाले उल्लेख गरेको छ । काभ्रेमा ६ नगरपालिका र ७ वटा गाउँपालिका गरी १३ स्थानीय तह रहेका छन् ।
बेरुजु ५५ प्रतिशतले घट्यो
महालेखापरीक्षकको कार्यालयले तयार पारेको प्रतिवेदनअनुसार काभ्रेका स्थानीय तहहरूको बेरुजु घटेको देखिएको छ । महालेखाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अघिल्लो ५९ औँ वार्षिक प्रतिवेदनको तुलनमा यस ५८औँ वार्षिक प्रतिवेदनमा भने ५५ प्रतिशतले घटेको देखिएको हो ।
यसअघि महालेखापरिक्षकले सार्वजनिक गरेको प्रतिवेदनमा काभ्रेका स्थानीय तहको बेरुजु ५७ करोड १५ लाख ५० हजार उल्लेख गरिएको थियो । यस्तै अघिल्लो वार्षिक प्रतिवेदनको आधार यस पटक अधिकांश स्थानीय तहको बेरुजु घटेका छन् ।










