काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले संसदमा प्रतिवेदन पेश गरेको छ।


शुक्रबार बसेको संसद्को दोस्रो बैठकको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले समितिका ज्येष्ठ सदस्य (सभापति) लक्ष्मणलाल कर्णलाई प्रतिवेदन पेश गर्न समय दिएका थिए। सभामुखबाट समय प्राप्त भएसँगै सभापति कर्णले प्रतिवेदन सभासमक्ष पेश गरेका हुन्।
प्रतिवेदनमा सभापति कर्णले बाहिर हल्ला फिजाइए जस्तो बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भएको कुरा पुष्टि नभएको कुरा बताएका छन्।
बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराई करका दर हेरफेर गरेको आरोप लागेपछि संसदले तत्कालीन अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको थियो।
समितिले थप गरेको समयसहित १७ औं दिनमा छानबिन गरी प्रतिवेदन तयार पारेको हो। कर्णले समितिको २३ वटा बैठक बसेको पनि जानकारी दिए।
गत असार २२ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठनको घोषणा गरेका थिए।
संसदीय छानबिन समिति गठन भएपछि शर्माले पदबाट राजीनामा दिएका थिए। समितिले पूर्वअर्थमन्त्री शर्मा, अर्थ मन्त्रालयका सचिव, बजेट निर्माणमा संलग्न उच्चपदस्थ कर्मचारीसँग बयान लिएको थियो।










