काठमाडौं । दिनहुँ कामको चटारोले घेरिएर एकछिन फुर्सद नहुने कुलमान घिसिङ शुक्रबार साँझदेखि मौन छन् । उनी रातो बस्त्र लगाएर ध्यानमा लिन भइरहेका छन् । शुक्रबार कार्यालयको काम सकेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसहित अन्य पदाधिकारीको टोली बालाजु माथि रहेको ओशो तपोवन पुगेको थियो ।

साँझ देखिनै उनीहरुले ध्यान सुरु गरेका थिए । उनीहरुको योग–ध्यान सम्बन्धी यो कार्यक्रम २६ घण्टाको रहेको ओशो तपोवनकी योग–ध्यान शिक्षक शोभिता सिंखडाले जानकारी दिइन् । राष्ट्रको लागि तपोवन कार्यक्रम अन्तर्गत छैटौँ समूहको रुपमा कुलमान घिसिङ सहित प्राधिकरणको टिम ओशो तपोवनमा ध्यान साधनामा सहभागी भएका हुन् ।

घिसिङले पूर्ण रुपमा तपोवनको नियमहरु पालना गर्दै तनमन लगाएर ध्यान गरिरहेको सिंखडाले बताइन् । घिसिङसहित प्राधिकरणका १५ जना पदाधिकारीहरूको योग–ध्यानको कक्षा लिइरहेकी छिन् शोभिता सिंखडाले । २४ घण्टाको योग–ध्यान कार्यक्रममा विभिन्न थेरापीहरु गराएको उनले बताइन् । शुक्रबार बेलुका उनीहरुले कुण्डलिनी ध्यान गरेका छन् । शनिबार बिहान एउटा ध्यान र योगा गरेका छन् । दिउँसो समयमा अर्को ध्यानमा बसेको र यो क्रम साँझ ५ बजेसम्म निरन्तर रहने सिंखडाले जानकारी दिइन् ।

यसअघि पनि घिसिङ ओशो तपोवन पुगेका थिए तर ध्यान गर्नका लागि भने पहिलो पटक पुगेको उनले बताइन् । उनले भनिन्–‘राष्ट्रका लागि तपोवन कार्यक्रम हामीले राष्ट्रका प्रबुद्ध व्यक्तिका लागि तय गरेका हौँ । राज्यका विभिन्न क्षेत्रका माथिल्लो तहमा रहेका व्यक्तिहरुलाई हामी योग ध्यान गराउँछौँ । यो कार्यक्रम एक महिनामा एक चोटी वा दुई चोटी गर्छौं । यो एउटा स्कूलको कक्षा जस्तै हो यसमा हामी विभिन्न प्रश्नोत्तर पनि गर्छौँ । यो ३ घण्टाको कक्षामा मनभित्रका कुराहरु लेख्न लगाउँछौँ । २६ घण्टाभित्र हामीले धेरै प्रकारका ध्यान विधिमा सामेल गरेर उहाँहरुलाई पठाउँछौँ । जसले उहाँको जीवनलाई अगाडि बढाउन सहायता पुग्न मद्दत मिल्नेछ ।’

मानिसहरु बाहिरी रुपमा परिवर्तन भइरहने भएपनि भित्री रुपमा उनीहरुलाई परिवर्तन गराउनका लागि सो ध्यान कार्यक्रमको कोर्ष अघि बढाइएको सिंखडाले बताइन् । ध्यानका लागि धेरै समय नभएका व्यक्तिहरुका लागि छोटो समयमा योग–ध्यानका विभिन्न कोर्ष राखेर कार्यक्रम बनाइएको उनको भनाई छ ।

यो कार्यक्रमको अवधारणा भवन भट्ट अर्थात स्वामी आनन्द देवले बनाएका हुन् भने यो कार्यक्रमको प्राचार्य स्वामी आनन्द अरुण रहेका छन् । कार्यक्रमको संयोजक र शिक्षक शोभिता सिंखडा रहेकी छिन् । शनिवार साँझ ध्यान सकेर कुलमान घिसिङ आइतबारदेखि नियमित काममा फर्कनेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय