खानीखोला, काभ्रे । खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले निर्वाचित भएको एक पुरा हुँदै गर्दा आफूहरुले गरेको कामले खानीखोलाको विकास र समृद्धिको आधार निर्माणको चरणमा प्रवेश गरेका बताए । उनले भने, ‘खानीखोला गाउँपालिका सरकारको एक वर्षको कामले विकास र समृृद्धिको आधार निर्माणको चरणमा प्रवेश गरेको छ ।’
अध्यक्ष थिङले सय वर्षमा खानीखोलाले विकास निर्माण, सुशासन लगायतको क्षेत्रमा गुणत्मक रुपमा फड्को मारेको दाबी गरे । उनले एक वर्षको १४ बुँदे उपलब्धि सार्वजनिक गर्दै यस्तो दाबी गरेको हो ।


अध्यक्ष थिङले खानीखोलाको भौतिक पुर्वाधारसँगै विशेष गरी शिक्षा र कृषि क्षेत्रलाई समेत बाँकी कार्यकालभित्रमा नै आम नागरिकले महसुस गर्ने गरी काम गरेर देखाउने विश्वाससमेत व्यक्त गरे । एक वर्षमा सामाजिक न्याय, सुशासन र विकास थालनीका लागि थुप्रै काम प्रारम्भिक रुपमा अघि बढेको उनको भनाइ छ ।
उनले आफूले गाउँपालिकाको नेतृत्व गरेदेखि नै ‘हामी बनाउँछौ, हाम्रो खानीखोला’ नारासहित अगाडि बढ्ने संकल्प गर्दै आएको भन्दै त्यसअनुसार जनतामा आशा जगाउने काम हुँदै आएको उनको भनाइ छ ।
गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्बाले अहिले चमत्कार जस्तो नदेखिए पनि एक वर्षको कामले गुणात्मक सुधारका निम्ति, प्रगतिका लागि आधार तय भएको बताए । उनले खानीखोलालाई सकारात्मक दिशा दिन सकेकोमा आफुलाई गर्व महसुस गरेको बताए ।
उपाध्यक्ष जिम्बाले खानीखोलाको विकास परम्परागत ढंगको बनाएर तहाँका जनताको आर्थिक जीवनस्तर नबदालिने दाबी गर्दै नयाँ ढंगले अघि बढ्ने गरी छलफल भइसकेको बताए ।
कफिमा अनुदानदेखि आवसीय शिक्षणसम्म
खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङको अनुसार एक वर्षमा कृषकलाई कफीमा अनुदान वितरणदेखि गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागि मन्त्री परिषद् (क्यविनेट)बाट जग्गा स्वीकृत हुँदै असह्य बालबालिकाको शिक्षालाई व्यवस्थित बनाउन कक्षा १ देखि १० सम्म आवसिय शिक्षण आरम्भ गर्नेसम्म उपलब्धि सार्वजनिक गरेको छ ।
अध्यक्ष थिङले देशमै पहिलो पटक ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रम मार्फत् खानीखोलालाई कफी पकेट क्षेत्रसँगै कृषकको आर्थिक जीवनस्तर बृद्धि गर्ने उद्दश्यले कफीमा प्रति केजी ३५ रुपैँयाको दरले अनुदान वितरण, विकट खानीखोलालाई सदरमुकाम तथा संघीय राजधानीसँग जोड्ने सडक अन्तर्गत खानीखोला र दुर्लुङ खोलामा पक्की पुलको लागि वोलपत्र आव्हान, बालविवाह विरुद्धको जनचेतना जगाउन गाउँपालिकाभित्रका माध्यमिक विद्यालयमा सडक नाटक ‘जुनकिरी’ प्रर्दशन, ४ वर्षदेखि रोकिरहेको गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागि मन्त्री परिषद्को निर्णयबाट जग्गा प्राप्ती जस्तो कामको थालनी गर्नु गाउँपालिकाको प्रारम्भिक चरणको महत्वपूर्ण कदम भएको बताए ।
गाउपालिकाको उपलब्धिहरुमा वडा नंं. ३, ४ र ५ को वडा भवन सम्पन्न गरी सेवा सुचारुदेखि विगत ६ वर्षदेखि अवरुद्ध बागमती खोलास्थित् सिक्रे दोभान पक्की पुलको निर्माण कार्यलाई यसै सालबाट तीव्रतासँगै नागरिकको स्वास्थ्यलाई मध्यनजर गरी एम्वुलेन्स सेवा, सामुदायिक स्वास्थ्य चौकी भवनसँगै विद्यालय भवन निर्माण र असह्य बालबालिकाको शिक्षालाई व्यवस्थित बनाउन कक्षा १ देखि १० सम्म आवसिय शिक्षण आरम्भ उल्लेख गरिएको छ ।
खानीखोला गाउँपालिकामा स्थानीय पाठ्यक्रम अध्यापन आरम्भ साथै गाउँपालिकामा पहिलो पटक ११ वटा विद्यालयमा मातृभाषा (तामाङ) शिक्षण कार्यक्रम अन्तर्गत तामाङ भाषाको अध्यापन, सुकुम धाप्ले महाँकालको ट्र्याक खोल्नु र संस्थागत ढंगले खेलकुदको विकास गर्ने उद्देश्यले प्रत्येक वर्ष सञ्चालन हुनेगरी ‘खानीखोला कप खेलकुद प्रतियोगिता’ सञ्चालन गरिनुलाई पनि गाउँपालिकाले आफ्नो उपलब्धिको फेहरिष्तमा समेटेको छ ।
६० वर्ष पुगेका बृद्ध–बृद्धाको स्वास्थ्य परिक्षण
गाउँपालिकाले ‘एकीकृत घुम्ती स्वास्थ्य सेवा’ मार्फत् ६० वर्ष नाघेका बृद्ध÷बृद्धा तथा दीर्घ रोगीहरुको घर–घरमै पुगी मासिक रुपमा नियमित स्वास्थ्य परिक्षणलाई आफ्नो मुख्य उपलब्धिहरुमा समेटिएको छ ।
अध्यक्ष थिङका अनुसार वडामा रहेका स्वास्थ्य चौकी र समुदायिक स्वास्थ्य इकाईमा रहेको कर्मचरीलाई खटाएर ६० वर्ष नाघेका बृद्ध÷बृद्धा तथा दीर्घ रोगीहरुको अनिवार्य रुममा स्वास्थ्य जाँच गर्दै आएको र गम्भीर प्रकृतिका विरामीलाई गाउँपािलकाले आवश्यक सहयोग गर्दै आएको छ ।
त्यस्तैमा, ७६ वर्षीया कान्छाीमाया तामाङले नियमित स्वास्थ्य परिक्षण हुन थालेपछि उपचारको अभावकै कारण मारिन्छ होला भन्ने डर हटेको बताइन् । अहिले स्वास्थ्यका कर्मचारीहरु घरमै आएर स्वास्थ्य जाँच गर्ने भएकाले कष्टकर यात्रा गरेर स्वास्थ्य चौकी दाउनु नपर्ने उनको भनाई छ ।
उनले गाउँपालिकामा नयाँ नेतृत्व आएसँगै बृद्ध÷बृद्धा तथा दीर्घ रोगीहरु विशेष ‘एकीकृत घुम्ती स्वास्थ्य सेवा’ले आफुहरुलाई निकै सहज बनाएको भन्दै खुशी व्यक्त गरे । उनीले स्थानीय तह निर्वाचनको क्रममा गाउँपालिका अध्यक्ष थिङले बचन दिएको कुरा सम्झिदै भने, ‘चुनाव जितेपछि बृद्ध÷बृद्धा तथा दीर्घ रोगीहरुको हितमा काम गर्छु भनेको थियो पुरा गरे, यो हाम्रो लागि अत्यन्तै राम्रो र खुशीको कुरा हो ।’
यस्तै, गाउँपालिकाले देशमै पहिलो पटक तामाङ समुदायको इतिहास, उत्पति र ताम्बाको भुमिका विषयक ताम्बा÷डाम्फु प्रतियोगिता, मगर समुदायको वापा तालिम, आधारभूत मेलमिलापसँगै महिला सशक्तिकरण, रेविजको जोखिम कम गर्ने उद्देश्यले कुकुरको बन्ध्याकरण गराइएको विषयलाई पनि आफ्नो उपलब्धि मानेको छ ।
गाउँपालिकाले शिक्षा क्षेत्रको व्यवस्थापनका प्रभाव सकारात्मक देखिनुसँगै लगायतका सेवाहरू विगतमा भन्दा छिटो छरितो र सहज रुपमा प्रवाह गरिरहेको भन्दै आफ्ना उपलब्धिमा समेटेको छ ।
बालविवाह न्यूनीकरण, दलित, अपांगता भएका व्यक्ति, महिला, ज्येष्ठ नागरिक लगायत क्षेत्रमा पनि संवेदनशील भएर थप कार्यक्रम ल्याउने गाउँपालिकाले जनाइएको छ ।










