काठमाडौं । १८ औं ‘एनएसजेएफ–पल्सर स्पोर्टस् अवार्ड २०७७’ आगामी चैत ८ गते हुने भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आइतबार पत्रकार सम्मेलन गर्दै १८ औं संस्करणको स्पोर्टस अवार्ड चैत ८ गते गर्ने जनाएको हो । यसपटक नेपाली खेलकुद क्षेत्रमा इतिहास रचेका एक दशकका खेलाडीलाई सम्मानित गर्ने आयोजकको भनाई छ । यसपटक सर्वोत्कृष्ट दशक पुरुष खेलाडी, सर्वोत्कृष्ट दशक महिला खेलाडी, सर्वोत्कृष्ट दशक प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड तथा पिपल्स च्वाइस अवार्ड गरी आठ विधामा मनोनयन हुने एनएसजेएफले जनाएको छ ।
दशक अवार्ड भएका कारण सर्वोत्कृष्ट युवा खेलाडीको विधा भने यसपटक समावेश गरिएको छैन । दशक खेलाडी पुरुष, महिला तथा प्रशिक्षकको छनोट कार्य सुरु भइसकेको आयोजकले जनाएको छ । पारा एथलिट, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड विजेता कार्यक्रमकै दिन घोषणा गरिने आयोजकले जनाएको छ । पिपल्स च्वाइस अवार्डका लागि मनोनयन सार्वजनिक गरिनेछ ।
कम्पनीका कार्यकारी निर्देशक अभिमन्यु गोल्छा र मञ्च अध्यक्ष सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । दशक खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेताले भने जनही रु ५० हजारसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । उक्त अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकल रहनेछ ।